काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)मा यही माघ २२ र २३ गते तेस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता सञ्चालन हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा काठमाडौँ विश्वविद्यालय, नेपाल इन्टरनेसनल इभेन्ट्स म्यानेजमेन्ट प्रालि र त्रिभुवन विश्वविद्यालयको सहआयोजनामा तेस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको उद्घाटन माघ २२ गते काठमाडौँ विश्वविद्यालय धुलिखेलमा हुनेछ ।

उक्त प्रतियोगितामा नेपालका आठ विश्वविद्यालयको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा सुदूरपश्चिम, मध्यपश्चिम, पूर्वाञ्चल, गण्डकी, पोखरा विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयको सहभागिता रहने छ ।
केयूको विद्यार्थी कल्याण निर्देशनालयका कायममुकायम निर्देशक डा गोकुल केसीका अनुसार प्रतियोगितामा पाँच विधाका खेल समावेश गरिएको छ । भलिबल, टेबलटेनिस, ब्याडमिन्टन, बास्केटबल र एथ्लेटिक्समा २७९ खेलाडीले प्रतिस्पर्धा गर्ने उनले जानकारी दिए । भलिबलमा पुरुष नौ, टेबलटेनिस सिङ्गल÷डबलमा महिला र पुरुष दुई÷दुई, ब्याडमिन्टन सिङ्गल÷डबल मा महिला र पुरुष दुई÷दुई, बास्केटबल महिला र पुरुषमा चार÷चार तथा एथ्लेटिक्समा महिला र पुरुष तीन÷तीन जना सहभागी हुनेछन् ।
यसैगरी एउटा विश्वविद्यालयबाट खेलाडी ३१, प्रशिक्षक पाँच र व्यवस्थापक एक गरी ३७ जनाको सहभागिता रहने केसीले जानकारी दिए । प्रतियोगितामा खेलाडी २७९, प्रशिक्षक ४५ र व्यवस्थापक जनाको सहभागिता रहने उनले बताए । उनका अनुसार प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । सबै खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई धुलिखेलमा बसोबासको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । केयूले शैक्षिक क्षेत्रमा गरिरहेको नवीनतम कार्यको अवलोकन गराउने उद्देश्यले यहाँ कार्यक्रम आयोजना गरिएको केयू प्रशासनले जनाएको छ । प्रतियोगितामा रु १८ लाख खर्च हुने अनुमान गरिएको छ । प्रत्येक खेलमा प्रतिखेलाडी विजेताले रु तीन हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा विभिन्न क्षेत्रका ५०० भन्दा बढीको सहभागिता रहने आयोजकको भनाइ छ ।







प्रतिक्रिया दिनुहोस्