ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता एवम् प्रतिनिधिसभा केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक देवराज चालिसेले देशलाई राजनीतिक चलखेलको प्रयोगशाला बनाउन नहुने बताएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को सन्दर्भमा जानकारी दिन कांग्रेसले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले नयाँ खोज्ने नाममा देशलाई प्रयोशाला बनाउन नहुने धारणा राखे । ‘देशको विकास, नागरिक अधिकारको रक्षा र स्वतन्त्रताका लागि भरोसायोग्य नेतृत्व आवश्यक छ ।

अहिलेको अवस्थामा त झनै सचेत भएर निर्णय गर्नुपर्नेछ । नागरिक मत नै परिवर्तनको आधार हो, त्यो जिम्मेवार प्रतिनिधिलाई मत दिएर प्रयोग गर्न आवश्यक छ । मतदान गर्ने कुरा तरकारी किन्दा छनोट गरेजस्तो विषय हैन, ज्यादै ध्यान दिएर आफ्नो र देशको भविष्य बनाउने भरोसायोग्य नेता चयन गर्नुपर्ने छ । यसपटक त्यसमा सबै सचेत बनौँ”, प्रवक्ता चालिसेले भने । आफ्नो पार्टीले जनअपेक्षाअनुसार घोषणापत्र तयार गरिरहेको जानकारी दिँदै त्यसमा सबैले अपनत्व महसुस हुने गरी दृष्टिकोण अगाडि सारिने बताए ।







प्रतिक्रिया दिनुहोस्