तिलोत्तमामा नेपाल विश्वविद्यालय खोल्न छलफल



श्यामलाल पोखरेल । बुटवल ।

रुपन्देहीको तिलोत्तमामा नेपाल विश्वविद्यालय स्थापना गर्ने गरी योजना बनाइएको छ । नेपाल विश्वविद्यालय खोल्नका लागि शंकरनगर सामुदायिक वन र करहिया सामुदायिक वन क्षेत्रको जग्गा रोजिएको छ । विश्वविद्यालयले तिलोत्तमा नगरपालिका वडा नम्बर १ मा पर्ने शंकरनगर सामुदायिक वन र वडा नम्बर ८ पर्ने करहिया सामुदायिक वन क्षेत्रको जग्गा माग गरेपछि अहिले यसबारे छलफल तथा बहस सुरु भएको छ ।

विश्वविद्यालय खोल्नका लागि डा. अर्जुन कार्की, डा. सुर्यराज आचार्य, कानुनविद् डा. विपिन अधिकारीको टिमले जग्गा माग गरेको हो । यसअघि दुवै सामुदायिक वनले बुटवल मेडिकल कलेज निर्माणका लागि सोही ठाउँको २ सय विघा जमिन दिने सहमति गरेर सरकारलाई सिफारिस गरेका थिए । तर, मन्त्रिपरिषद्को बैठकले बुटवल मेडिकल कलेजका लागि ५० विघा मात्रै जग्गा दिने निर्णय गरेको थियो ।

दुवै सामुदायिक वनले मेडिकल कलेजका सहमति गरेको २ सय विघा मध्येको १ सय ५० विघा जग्गा विश्वविद्यालयका लागि नेपाल विश्वविद्यालयले सामुदायिक वन र तिलोत्तमा नगरपालिकासँग माग गरेको हो । नगर क्षेत्रमा विश्वविद्यालय सञ्चालनका लागि तिलोत्तमा नगरपालिकामा जग्गा माग भएकाले उपभोक्तासँग सहमति जुटाउन साधारणसभा बोलाउन अनुरोध गर्दै तिलोत्तमा नगरपालिकाले दुवै सामुदायिक वनलाई २०८२ साल पुस २२ गते पत्र लेखेको छ ।

साधारणसभाबाट विश्वविद्यालयका लागि जग्गा उपलब्ध गराउने सहमति भएमा सोही बमोजिमको निर्णय लिखित रूपमा पठाउन भनी तिलोत्तमा नगरपालिकाले सामुदायिक वनलाई अनुरोध गरेपछि यो विषयमा बहस तथा छलफल सुरु थालिएको हो । नेपाल विश्वविद्यालयका लागि जग्गा दिनेकी नदिने भन्ने विषयमा सामुदायिक वन, तिलोत्तमा नगरपालिका र सरोकारवालाबीच छलफल गरिएको छ ।

शंकरनगर सामुदायिक वनमा सबै सरोकारवाला निकायसँग भएको छलफलमा बहुआयमिक विश्वविद्यालय खोल्नका लागि जग्गा उपलब्ध गराउने गरी सहमति दिन दुवै सामुदायिक वनलाई सरोकारवालाहरूले आग्रह गरेका छन् । विज्ञहरूको टोलिले बहुआयमिक विश्वविद्यालयका लागि हाम्रो ठाउँको जग्गा माग गरेकाले साधारणसभा वा विशेष साधारणसभा बोलाई जग्गा दिने सहमती जुटाउन सरोकारवाला निकायमा प्रमुख तथा अगुवाहरूले सामुदायिक वनलाई सुझाव दिएका छन् ।

लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरीले राम्रो उद्देश्यले विश्वविद्यालय खोल्न लागिएको बताउँदै कसैको नीजि लाभका लागि नभएकाले सबैको सहमतिमा जग्गा दिनुपर्ने बताए । स्थानीयस्तरमा हामीले मात्रै जग्गा दिएर नहुने भएकाले जग्गा दिने सहमति गरेर नेपाल सरकारलाई सिफारिस दिनुपर्नेमा जोड दिए । अन्तर्राष्ट्रिय तहमा बिक्री हुने खालको दक्ष जनशक्ति उत्पादनका लागि बहुआयमिक खालको विश्वविद्यालय आवश्यक परेकाले यो अवसर गुमाउन नहुने एमालेका नेतासमेत रहेका पूर्वमुख्यमन्त्री गिरीको भनाइ छ ।

तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले गैर नाफामुखी विश्वविद्यालयका लागि जग्गा मागिएकाले यसमा सहमति जुटाउनु पर्ने बताए । उनले संसारका प्रोफेसरहरूले लगानी गरेर खोल्न लागेकाले विश्वविद्यालयका लागि जग्गा दिन सिफारिस दिन सकिने बताउँदै यो विषयमा सकारात्मक रूपले सोच्न सबै पक्षलाई आग्रह गरे । हामी पोजेटिभ भए सरकारले सही निर्णय गर्ने नगरप्रमुख खाँणको भनाइ छ ।

उक्त छलफल कार्यक्रममा सहभागी पूर्व जिल्ला शिक्षा अधिकारी, टेकबहादुर थापा, शंकरनगर सामुदायिक वनका पूर्व अध्यक्ष राम गिरी, कानुन व्यवसायी खुमाकान्त पौडेल खेमप्रसाद गौतम, कमला ज्ञवाली, कालिका अधिकारी, नेपाल पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार खिमानन्द भट्राई, शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रका अध्यक्ष खिमलाल पाण्डे लगायतका वन उपभोक्ता समूहका अगुवाले नेपाल विश्वविद्यालय खोल्नका लागि जग्गा दिन सहमति जनाएका छन् ।

उनीहरूले मौकामा आएको अवसरलाई गुमाउन नहुने बताउँदै उनीहरूले हतारमा गल्ती गरेर फुर्सदमा पछुताउने काम गर्न नहुने बताएका थिए । शंकरनगर सामुदायिक वनका अध्यक्ष रविन्द्र बस्नेत र करहिया सामुदायिक वनका अध्यक्ष हरिलाल पाण्डेले नेपाल विश्वविद्यालय खोल्नका लागि जग्गा दिने विषयमा सहमती जुटाउनका लागि विशेष सधारणसभा बोलाउने बताए ।

स्थानीय सरकार र सामुदायिक वनले नेपाल विश्वविद्यालय खोल्नका लागि जग्गा दिने सहमतीसहित निर्णय गरेपछि सरकारलाई सिफारिस गरिनेछ । मन्त्रिपरिषद्ले निर्णय गरेपछि मात्रै नेपाल विश्वविद्यालयले जग्गा पाउनेछ ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १६ गते शुक्रबार