प्रेममा खटपट आएपछि प्रेमिकाको हत्या



नेपालगन्ज ।

बाँकेको डुडुवा गाउँपालिकामा माघ १ गते बेवारिसे अवस्थामा भेटिएको शव एक युवतीको रहेको र उनको हत्या भएको पाइएको बाँके प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले हत्यामा संलग्न उनकै प्रेमीलाई पक्राउ गरेको छ । हत्या आरोपमा पक्राउ परेका व्यक्तिले हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक पातलीले जानकारी दिए ।

डुडुवा–३, बनकट्टीस्थित एक प्रयोगमा नरहेको इनारमा फेला परेको उक्त शव सडी गली अवस्थामा रहेको प्रहरीले बताएको छ । अनुसन्धान गर्दा उक्त शव स्थानीय २१ वर्षीया युवती बसन्ती गोडियाको रहेको खुल्न आएको डीएसपी पातलीले बताए । मृतकले लगाएको कपडा र गहनाका आधारमा उक्त शवको पहिचान परिवारले गरेको थियो ।

अनुसन्धानका क्रममा शव एक महिना अघिको हुनसक्ने देखिएको भन्दै बाँके प्रहरीले पोष्टमार्टम रिपोर्टमा टाउको र घाँटीको विभिन्न भागमा चोट रहेको देखिएपछि उक्त घटना हत्याको हुनसक्नेतर्फ प्रहरीले अनुसन्धान गरेको थियो । बसन्ती पुस १ गतेदेखि परिवारबाट सम्पर्कविच्छेदको अवस्थामा रहेको र उनी भारतको नानपारास्थित मामाघरमा गएको बताइएकोमा मामाघरमा बुझ्दा उनी त्यहाँ नगएको पाइएको थियो ।

तत्पश्चात प्रहरीले थप अनुसन्धान गर्दा उनको स्थानीय २५ वर्षीय एक युवक राकेश बर्मासँग प्रेम सम्बन्ध रहेको खुल्न आएको र ती युवकले प्रेम सम्बन्धमा खटपट आएपछि योजनाबद्धरूपमा हत्या गरेको खुल्न आएको बाँके प्रहरीले जानकारी दिएको छ ।

बाँके प्रहरीका सूचना अधिकारी डीएसपी पातलीका अनुसार प्रहरीले शवको पोस्टमार्टम, फरेन्सिक परीक्षण, मोबाइल डाटा, सीसीटीभी, गाउँघरतिरका सूचना संकलन तथा क्राइम सिन रिकन्स्ट्रक्सनबाट पनि घटना राकेशले नै गरेको पुष्टि हुने देखिएको छ । पक्राउ परेका बर्मालाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ९२ को ज्यान सम्बन्धी कसूरअन्तर्गत माघ ११ गते पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १४ गते बुधबार