प्रतिनिधिसभा सदस्य निर्वाचनः निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन उद्योगीको माग



काठमाडौँ। निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता, २०८२ लाई कडाइका साथ पालना गराउन उद्योग, व्यवसायलगायत निजी क्षेत्रसँग सम्बन्धित प्रतिनिधिमूलक संस्थाका प्रतिनिधिले माग गरेका छन् ।
निर्वाचन आयोगले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी आज यहाँ आयोजना गरेको निजी क्षेत्रका छाता संस्थाहरूसँगको अन्तक्र्रियामा सहभागी वक्ताहरूले निर्वाचन आचारसंहिता पालना भएमात्र स्वच्छ, निष्पक्ष र स्वतन्त्र रूपामा निर्वाचन हुने भएकाले त्यसतर्फ ध्यानाकर्षण गराएका हुन् ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले निर्वाचन आचारसंहिताको पूर्णपालना गराउन अनुगमनमा कडाइ गर्नुपर्ने र आचारसंहिता उल्लङ्घन भएको पाइएमा तत्काल कारबाहीको व्यवस्था गर्नुपर्ने सुझाव दिए ।नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले निजी क्षेत्रमा लगानीमैत्री वातावरण बनाउन नीतिगत स्पष्टता र राजनीतिक स्थायित्व आवश्यक भएको बताए ।  निर्वाचन सम्पन्न गराएर स्थिर सरकार बनाउन आवश्यक रहेको उहाँको धारणा थियो । निर्वाचनमा उम्मेदवारहरूले खर्च विवरण लिँदा पारदर्शी रूपमा बैंकबाटै कारोबार गर्ने व्यवस्था राम्रो भएकाले त्यसलाई पूर्ण रूपमा कार्यान्वयन गराउन पनि उनको माग थियो ।
नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले निर्वाचन आचारसंहिता कडाइका साथ लागू गर्नुपर्नेमा जोड दिँदै मतदाता शिक्षामा आयोगले अझ ध्यान दिनुपर्ने सुझाव दिए । त्यसका लागि आयोगलाई आवश्यक सहयोग गर्न आफूहरू पनि तयार रहेको उनले बताए । बदलिँदो परिस्थितिमा निर्वाचन हुन्छ हुँदैन भन्ने अन्योलबीच निर्वाचन हुन्छ भन्ने वातावरण आयोगले बनाएकोमा उहाँले खुसी व्यक्त गरे । होटल संघ नेपालका अध्यक्ष विनायक शाहले निर्वाचनको समयमा हवाई तथा स्थलमार्गबाट नेपाल भित्रने पर्यटकलाई होटल तथा गन्तव्यसम्म पुग्नका लागि सहज वातावरण बनाउने गरी सहयोग गर्न आयोगलाई आग्रह गरे ।
रेष्टुराँ तथा बार एसोसिएसन अफ नेपाल (रेबान) का अध्यक्ष सङ्घर्ष विष्टले निर्वाचन आचारसंहिता र मतदाता शिक्षाका विषयमा आयोगलाई आवश्यक सहयोग गर्न आफ्नो संस्था तयार रहेको बताए । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सेढाइले निर्वाचनको समयमा नेपाल आउने पर्यटकलाई व्यवस्थापन गर्न निर्वाचन आयोगले सहजीकरण गर्नुपर्ने बताए । निर्वाचनसम्बन्धी सकारात्मक सूचना विश्व बजारमा पु¥याउन पर्यटन व्यवस्थापन आवश्यक भएको उनले सुनाए । साल्ट ट्रेडिङका महाप्रबन्धक उर्मिला श्रेष्ठले निर्वाचन प्रचारप्रसारमा राष्ट्रिय झण्डा प्रयोग भएको र समुदायलाई असर हुनेगरी ध्वनि प्रदूषण भएको विषयप्रति आयोगको ध्यानाकर्षण गराए ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १३ गते मंगलबार