काठमाडौँ ।
बालबालिकाको हकहित र संरक्षणका क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएकी सोनी भट्टराई गोरखा–१ बाट चुनाव लड्ने भएकी छिन् । पछिल्लो समय सामाजिक अभियन्ता मात्र होइन, युवा नेतृत्व र राजनीतिक सहभागिताको सशक्त अनुहारका रूपमा स्थापित हुँदै आएकी भट्टराई आगामी फागुन २१ मा हुने प्रनिनिधिसभा सदस्यका लागि चुनाव लड्ने भएकी हुन् ।
गोरखा नारेश्वर घर भएकी भट्टराईलाई काठमाडौँ महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाह (बालेन) निकट व्यक्तिका रूपमा पनि चिनिन्छ । पार्टीभित्रको स्रोतका अनुसार उनलाई गोरखा–१ बाट उम्मेदवार बनाउने निर्णयमा बालेनको सिफारिस रहेको बताइन्छ । राजनीतिशास्त्र विषयमा अध्ययन गरेकी भट्टराई हाल नमुना युवा संसद् अभ्यास कार्यक्रमकी केन्द्रीय प्रशिक्षकका रूपमा पनि क्रियाशील छिन् ।
काठमाडौँ महानगरपालिका बालअधिकार समितिकी विज्ञ सदस्यका रहेर काम गरिसकेकी भट्टराई बालबालिकाको हकहित र संरक्षणका क्षेत्रमा लामो समयदेखि कार्यरत छिन् । उनले बालअधिकार उल्लंघनका घटनामा हस्तक्षेप गर्दै संस्थागत सुधारका लागि आवाज उठाउँदै आएकी छन् ।
भट्टराई नेतृत्वको टिमले नेकपा एमालेका लुम्बिनी प्रदेश सांसद रेखा शर्माको घरबाट नाबालिकाको उद्धार गरेको घटना त्यतिखेर चर्चाको विषय बनेको थियो । यसले बालअधिकार संरक्षणमा स्थानीय तहको जिम्मेवारी र सक्रियताको महत्वलाई समेत उजागर गरेको थियो । भट्टराई बालअधिकारका लागि राष्ट्रिय अभियानसँग आबद्ध रहँदै नीति निर्माण तहमा बालमैत्री दृष्टिकोण स्थापित गर्न निरन्तर पहल गरिरहेकी छिन् । उनका गतिविधिले बालअधिकार र युवाको सहभागितालाई एउटै धारमा जोडेको देखिन्छ ।









प्रतिक्रिया दिनुहोस्