६ महिनामा ५ खर्ब ८१ अर्ब राजस्व संकलन



काठमाडौँ ।

चालु आर्थिक वर्ष (२०८२/८३) को पहिलो ६ महिनामा सरकारले ५ खर्ब ८१ अर्ब ४१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। राजस्व व्यवस्थापन सूचना प्रणालीको तथ्यांक अनुसार पुस ३० गतेसम्म सो बराबर राजस्व संकलन भएको हो । यो सङ्कलन सरकारको अर्धवार्षिक लक्ष्यको तुलनामा ८१.७५ प्रतिशत हो ।

सरकारले पुस मसान्तसम्म ७ खर्ब ११ अर्ब २१ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो । यो अवधिमा संकलित राजस्व रकम लक्ष्यको तुलनामा करिब १ खर्ब ३० अर्ब रुपैयाँ कम भएको अर्थ मन्त्रालयले जनाएको छ ।  चालु आर्थिक वर्षका लागि कुल १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य सरकारको छ। हालसम्म संकलित राजस्व वार्षिक लक्ष्यको करिब ३९ प्रतिशत हो ।आयकरको दोस्रो किस्ता बुझाउने समय भएकोले पुस महिनालाई राजस्व सङ्कलनका दृष्टिकोणले निकै महत्त्वपूर्ण मानिन्छ, त्यसैले अरू महिनाको तुलनामा त्रैमासको अन्तिम महिनामा बढी राजश्व उठ्छ ।

पुस महिनाको अवधिमा  मात्रै सरकारले १ खर्ब ७१ अर्ब ६३ करोड रुपैयाँ सङ्कलन गरेको छ । यो महिनामा १ खर्ब ९० अर्ब ७७ करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखिएको थियो । लक्ष्यको तुलनामा राजस्व संकलन ८९.९६ प्रतिशत हो । बुधबार अर्थात् पुस ३० गते मात्रै सरकारी खातामा २० अर्ब २६ करोड रुपैयाँ राजस्व दाखिला भएको देखिन्छ । गत वर्ष पुस मसान्तसम्म सरकारले ५ खर्ब ६७ अर्ब ४० करोड रुपैयाँ मात्र राजस्व सङ्कलन गरेको थियो । गत वर्षको वार्षिक लक्ष्य १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ रहेकोमा पुससम्मको लक्ष्य ६ खर्ब ७२ अर्ब ८१ करोड रुपैयाँ तोकिएको थियो ।

गत वर्ष पुस महिनामा १ खर्ब ६१ अर्ब ६२ करोड रुपैयाँ राजस्व उठेको थियो । यससँग तुलना गर्दा गत वर्षको पुस महिनाको तुलनामा यस वर्षको पुस महिनामा राजस्व सङ्कलन १० अर्ब रुपैयाँले बढेको देखिन्छ भने ६ महिनाको समग्र सङ्कलनमा पनि १४ अर्ब रुपैयाँभन्दा बढीको सुधार देखिएको छ। अब सरकारले वार्षिक लक्ष्य पूरा गर्न आगामी ६ महिनामा करिब ९ खर्ब रुपैयाँ सङ्कलन गर्नुपर्ने अवस्था छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १ गते बिहीबार