प्रधानमन्त्री कार्कीसँग सम्बन्ध सुधार्दै ओली



बिहीबार बिहान ११ साढे बजेदेखि दुई जनाबीच तीन घण्टाभन्दा लामो संवाद भएको थियो । दुई जनाबीच बिहान ११ बजेदेखि साढे २ बजेसम्म एक्ला एक्लै कुराकानी भएको हो । दुई जनाबीचको यो वार्ताले फागुन २१ को निर्वाचन हुने नहुने भनेर देखिएको संशय र आशंकालाई कम गर्न मद्दत गरेको छ ।

काठमाडौँ ।

प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच तीन घण्टा लामो भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्की पति दुर्गा सुवेदीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन बिहीबार बिहान ११ बजे गुन्डुबाट बालुवाटार पुगेका एमाले अध्यक्ष ओलीले लामो संवाद गरेका हुन्। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको बलमा सत्ताच्युत भएका ओली र भदौ २७ गते सत्तामा आएकी कार्कीबीच लामो समय संवादहीन अवस्था थियो ।

तर प्रधानमन्त्री भएको दुई महिनापछि दलहरूसँग संवाद थालेकी कार्कीले एमाले अध्यक्ष ओलीसँग यसरी प्रत्यक्ष वार्ता गरेको यो तेस्रो पटक हो। यसअघि शीतल निवास र बालुवाटारमा ओलीसहितका शीर्ष नेतासँग कार्कीले संवाद गरिसकेकी छन् । तर ओलीसँग प्रधानमन्त्रीले एक्ला एक्लै संवाद गरेको भने यो पहिलो पटक हो । बिहीबार बिहान ११ साढे बजेदेखि दुई जनाबीच तीन घण्टाभन्दा लामो संवाद भएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए ।

दुई जनाबीच बिहान ११ बजेदेखि साढे २ बजेसम्म एक्ला एक्लै कुराकानी भएको थियो । दुई जनाबीचको यो वार्ताले फागुन २१ को निर्वाचन हुने नहुने भनेर देखिएको संशय र आशंकालाई कम गर्न मद्दत गरेको प्रधानमन्त्रीका प्रेस संयोजक रावलले बताए । ‘उहाँहरूबीच तीन घण्टाभन्दा बढी समय एक्ला एक्लै वार्ता भएको हो’, उनले भने, ‘फागुन २१ को निर्वाचनमै केन्द्रित भएर संवाद भएको । यसले दुई पक्षबीच विश्वासको वातावरण बनाउन मद्दत गरेको छ ।’ प्रेस संयोजक रावलका अनुसार ओलीले संवादका क्रममा एमालेले निर्वाचनमा कुनै बाधा नगर्ने वचन प्रधानमन्त्रीलाई दिएका छन् ।

‘उहाँ (ओली)ले एमालेबाट निर्वाचनमा कुनै बाधा हुँदैन । ध्वंस पनि गर्दैन भनेर सरकारलाई विश्वास दिलाउनु भएको छ’, रावलले भने, ‘प्रधानमन्त्रीसँगको संवादमा ओलीले एमाले निर्वाचनमा सहभागी भएर स्वस्थ प्रतिस्पर्धा गर्न तयार रहेको प्रतिबद्धता पनि जनाउनु भएको छ ।’
उक्त भेटका क्रममा ओलीले प्रधानमन्त्री पति दुर्गा सुवेदीको स्वास्थ्यबारे पनि चासो व्यक्त गरेका थिए ।

एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीसँगको संवादमा निर्वाचनको तयारी र सुरक्षा व्यवस्थाबारे पनि चासो राखेका थिए । उता प्रधानमन्त्री कार्कीले सबै व्यवस्था सरकारले मिलाएको बताउँदै ढुक्क भएर निर्वाचनमा होमिन आग्रह गरेकी थिइन् । उनले एमालेले आफूलाई निर्वाचनमा होम्ने निर्णय गरेकोमा ओलीलाई धन्यवाद पनि दिएकी छन् ।

त्यस्तै ११औँ महाधिवेशन गरेर राजनीतिक गतिविधिलाई अगाडि बढाएकोमा पनि उनले ओलीप्रति खुसी प्रकट गरेकी थिइन् । कुराकानीको क्रममा एमाले अध्यक्ष ओलीले एमाले तोकिएकै समयमा निर्वाचन हुनुपर्ने पक्षमा रहेको र त्यसका लागि तयार रहेको बताएका थिए । उनले सरकारले शान्ति सुरक्षा कायम गरेर निष्पक्ष निर्वाचन हुने वातावरण बनाएमा एमाले नभाग्ने पनि विश्वास प्रधानमन्त्रीलाई दिलाएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २५ गते शुक्रबार