काठमाडौँ ।
नेपाली काँग्रेसमा विशेष कि नियमित महाधिवेशन भन्ने विवाद चरम उत्कर्षमा पुगेको छ । चरम गुटगत राजनीतिक जीवित रहेको काँग्रेसमा अहिले दुईवटा महाधिवेशन मिति घोषणा भएको अवस्था छ । पार्टीको संस्थापन र विशेष महाधिवेशन पक्षधरले छुट्टाछुट्टै मिति घोषणा गरेका छन् । नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महधिवेशन पक्षधरले आगामी पुस २७ र २८ गते विशेष महाधिवेशन आह्वान गरेका छन् ।
पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि १५औँ महाधिवेशन आगामी वर्ष २०८३ जेठ २८ देखि ३१ सम्म गर्ने प्रस्ताव गरेका छन् । महाधिवेशनका दुईवटा मिति घोषणा भएपछि काँग्रेसमा अहिले निकै जटिल अवस्थाको सिर्जना भएको छ । आगामी फागुन २१ गते तोकिएको निर्वाचनमा नयाँ नेतृत्वसहित भाग लिनुपर्ने अडान विशेष महाधिवेशन पक्षधरहरूको छ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई पार्टीले अपनत्व लिएर अघि बढ्नुपर्ने उनीको माग छ ।
विशेष महाधिवेशनको नेतृत्वको गरिरहेका महामन्त्री गगन थापाले नीति र नेता र नेतृत्व परिवर्तन विशेष महाधिवेशनको मुख्य उद्देश्य रहेको बताउँदै आएका छन् । सभापति शेरबहादुर देउवा पक्ष भने नियमित महाधिवेनको पक्षमा छ । पार्टीमा इतर गुटको नेतृत्व गरिरहेका नेता डा. शेखर कोइराला पनि नियमित महाधिवेशनकै पक्षमा देखिएका छन् ।
नेपाली काँग्रेसको १४औँ महाधिवेशन २०७८ मंसिरमा सम्पन्न भएको थियो। काँग्रेसको विधानअनुसार हरेक चार वर्षमा पार्टी महाधिवेशन हुनुपर्ने हो । नियमित समयमा महाधिवेशन भए ०८२ मंसिरमा १५औँ महाधिवेशन सम्पन्न भइसक्नुपर्ने थियो । काँग्रेस विधानअनुसार विशेष अवस्थामा थप एक वर्ष समय थप गर्न मिल्छ । संस्थापन पक्षले यही विधानमा टेकेर तत्काल विशेष महाधिवेशन हुन नसक्ने दाबी गर्दै आएको छ ।
तर विशेष अधिवेशन पक्षधर देशको परिवर्तित राजनीतिअनुसार वर्तमान नेतृत्वबाट नेपाली काँग्रेसमा रुपान्तरण असम्भव भएको भन्दै महाधिवेशनमार्फत नेतृत्व परिवर्तनलाई मुख्य मुद्दा बनाएको छ । गत असोज २९ गते कार्यवाहक सभापति खड्कालाई ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर बुझाएर विशेष महाधिवेशन माग गरेका थिए । विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरे ३ महिनाभित्र आह्वान गर्नुपर्छ ।
कार्यसम्पादन बैठकमा भएन सहमति
पार्टीको विवाद उत्कर्षमा पुगेपछि बिहीबार आह्वान गरिएको नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिहरूलाई हस्ताक्षर फिर्ता लिन अनुरोध गर्ने निर्णय गरेको छ । बैठकले विशेष महाधिवेशन आह्वान नभएको भन्दै मुख्यमन्त्री कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिलाई पार्टीले अपनत्व लिने निर्णय पनि गरेको हो ।
बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी विधानअनुसार नियमित महाधिवेशनको कार्यसूचि घोषणा भएपछि विशेष महाधिवेशन आवश्यक नरहेको दोहो¥याएका थिए । बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै नेपाली काँग्रेसका नेता एनपी साउदले केन्द्रीय कार्यसम्पादन समितिले विशेष महाधिवेशन भनेर आह्वान गरिएको भेलामा उपस्थित नहुन अनुरोध गर्ने निर्णय गरिएको बताए । उनका अनुसार विशेष महाधिवेशन बोलाउने नेपाली काँग्रेसको विधानमा कतै पनि उल्लेख गरिएको छैन ।
यस्तै सो बैठकले विशेष महाधिवेशन रोक्न केन्द्रीय कार्यसम्पादन समितिले अपिल गर्ने निर्णयसमेत गरेको छ । उनले भने, ‘१५औँ महाधिवेशनको तिथिमिति सर्वसम्मतले तोकिएको छ । त्यसको प्रक्रियासमेत प्रारम्भ भइसकेको छ । अहिलेको अवस्थामा विशेष महाधिवेशन वैधानिक र आवश्यक छैन ।’ यसैगरी उनले कुनै पनि पदाधिकारीले विशेष महाधिवेशन बोलाउने अधिकार विधानमा नरहेको स्पष्ट पारे ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महामन्त्री गगन थापाले विशेष महाधिवेशनको आह्वान फिर्ता नहुने बताएका छन् । विशेष महाधिवेशनको लागि ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षर र उनीहरूको माग कुनै पनि हालतमा फिर्ता नहुने बताएका हुन् । यस्तै उनले संस्थापनक पक्षले विशेष महाधिवेशनको अपव्यख्या गरिरहेको बताए । उनले पार्टीका सबै साथीहरू विशेष महाधिवेशनमा आउने बताए । महामन्त्री थापाले भने, ‘सबै साथीहरू आउनुहुन्छ भन्ने विश्वास छ । पार्टी सभापतिलाई पनि यो कुरा पु¥याइदिनुहोला भनेर कार्यवाहक सभापतिलाई भनेको छु । यो विधानसम्मत हो । उहाँ पनि सहभागी हुनुपर्छ ।’









प्रतिक्रिया दिनुहोस्