थारूवान अभियन्ता र नाउपाका नेता रास्वपामा समाहित



नेपालगन्ज, थारूवान अभियन्ता र नागरिक उन्मुक्ति पार्टीका नेता कार्यकर्ताहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा समाहित भएका छन् । सोमबार काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा नौबुँदे सहमतिमा हस्ताक्षर गर्दै उनीहरू रास्वपामा प्रवेश गरेका हुन् । सहमतिपत्रमा रास्वपाका तर्फबाट उपसभापति डोलप्रसाद अर्याल र नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डित, थरुहट÷थारूवान अभियन्ताद्वय लक्ष्मण थारू र सुरेन्द्र चौधरीले हस्ताक्षर गरेका थिए ।
उक्त सहमतिपत्रमा सामाजिक न्यायसहितको प्रतिस्पर्धात्मक उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र असल शासन कायम गरी आम नागरिकका आकांक्षा सम्बोधन गर्न सबै सुसंस्कृत एवं परिवर्तनकामी शक्तिहरू मिलेर नयाँ राजनीतिक शक्तिलाई स्थापित गर्न अपरिहार्य रहेको उल्लेख छ ।
सहमतिपत्रमा ऐतिहासिक विरासतका रूपमा विद्यमान लैङ्गिक, जातीय, वर्गीय, क्षेत्रीय लगायत सबै प्रकारका संरचनागत विभेदहरू विरुद्ध निर्णायक सम्बोधन गर्न अवसरहरूको न्यायिक वितरण, पहुँच र उपभोगमा जोड दिँदै, नेपालको संविधानले परिकल्पना गरेको संघीय लोकतान्त्रिक गणतन्त्र र समानुपातिक समावेशी सिद्दान्तप्रति प्रतिबद्ध रहने उल्लेख छ ।
उक्त सहमतिपत्रमा थारू बहुल क्षेत्रलाई ‘थारू संरक्षित विशेष क्षेत्र’ घोषणा गर्न कानुनी र संवैधानिक प्रक्रिया प्रारम्भ गर्ने पनि उल्लेख छ । सहमतिपत्रको चौथो बुँदामा भनिएको छ, ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गर्दै थारूहरूको धार्मिक–सांस्कृतिक प्रणालीको संरक्षण र प्रवद्र्धन गर्न संविधानको धारा ५६ (५)को मर्मअनुरुप थारू बहुल क्षेत्रलाई ‘थारू संरक्षित विशेष क्षेत्र’ घोषणा गर्न कानुनी र संवैधानिक प्रक्रिया प्रारम्भ गर्ने ।’
टीकापुर घटनालाई राजनीतिक आन्दोलनका रूपमा स्विकार्दै राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा संघीय सरकार निर्माण भएपछि शान्ति सुरक्षा सुधारसँग सम्बन्धित सबै उच्चस्तरीय आयोगका सिफारिसहरूको उचित कार्यान्वयन गर्ने पनि सहमतिपत्रमा उल्लेख छ ।
यसैगरी निजामती, न्यायिक प्रहरीलगायत सबै सरकारी सेवामा आरक्षित वर्गका लागि तोकिएका अनुपातमा थारूहरूको आरक्षण व्यवस्था अभ्यासमा पूर्णतः लागू गर्ने पनि भनिएको छ । बाँके जिल्लाको नागरिक उन्मुक्ति पार्टीको जिल्ला समितिले नै निर्णय गरेर सबै पार्टीपंक्ति नै रास्वपामा समाहित भएको कार्यक्रममा जानकारी दिइएको थियो । बाँकेका दुई सयभन्दा बढी नेता कार्यकर्ताहरू समाहित भएका जानकारी दिइएको छ । यसैगरी डा. नितेशकुमार कनोडिया पनि रास्वपामा प्रवेश गरेको पनि उक्त कार्यक्रममा जानकारी दिइएको थियो ।
बर्दियाबाट नागरिक उन्मुक्तिका महासचिव ठाकुरसिंह थारूलगायत केन्द्रीयस्तरका नेता र कायकर्ताहरू रास्वपामा समाहित भएका छन् भने कैलालीबाट थारूहट अभियन्ता लक्ष्मण थारू, इन्दु चौधरी नागरिक उन्मुक्तिको संस्थापक नेतामध्ये एक वरिष्ठ उपाध्यक्ष पण्डित पनि रास्वपामा समाहित भएका छन् ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २२ गते मंगलबार