
नेपालगन्ज ।
बाँकेको नेपालगन्जमा स्थानीय उत्पादनको प्रवद्र्धन, घरेलु तथा साना उद्योगको बजार विस्तार र पर्यटन विकासलाई लक्ष्य गर्दै आठौँ प्रादेशिक घरेलु, कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सव–२०८२ आयोजना हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा बाँकेको आयोजनामा हुने महोत्सव नेपालगन्ज उपमहानगरपालिका–१८ स्थित सडक डिभिजन कार्यालय परिसरमा सञ्चालन हुने छ ।
‘मेहनत, श्रम, उत्पादन र वस्तु ः मेरै नेपालको’ भन्ने मूल नारासहित आयोजना हुने महोत्सव यहीँ पुस ३० गतेदेखि माघ १० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । महोत्सवबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा लघु, घरेलु तथा साना उद्योगबाट उत्पादित स्वदेशी वस्तुहरूको प्रदर्शनी, कृषि, वन पैदावार, हस्तकला, उर्जा, वायोग्याँस लगायतका दुई सयदेखि २५० वटा स्टलहरू रहने जानकारी दिइएको थियो । यसैगरी, स्थानीय पर्यटकीय गन्तव्यको जानकारीमूलक प्रस्तुति, महिला उद्यमीद्वारा उत्पादित हस्तकलाका सामग्री, नवीनतम सूचना प्रविधिका सामग्रीहरू प्रदर्शनीमा राखिने महोत्सवका संयोजक समरबहादुर खत्रीले बताए ।
मेलामा बैंक तथा वित्तीय संस्था र सेवा प्रदायक संस्थाहरूका सेवा–सुविधाबारे जानकारी, औद्योगिक तथा व्यापारिक प्रतिष्ठानका उत्पादनहरू, बाल उद्यान, फुड कोर्ट, थारू समुदायका तथा अन्य मौलिक परिकार, साँस्कृतिक तथा मनोरन्जनात्मक कार्यक्रम, स्थानीय तथा राष्ट्रिय कलाकारहरूको साँस्कृतिक प्रस्तुति पनि आकर्षणका रूपमा रहने खत्रीले बताए ।
एक लाख ५० हजारदेखि दुई लाख दर्शकहरूले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवले आन्तरिक पर्यटन प्रवद्र्धन, स्थानीय कला–संस्कृतिको पहिचान र स्वदेशी उत्पादनको बजार विस्तारमा महत्वपूर्ण योगदान दिने दाबी आयोजकले गरेको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजना तथा महिला उद्यमी समितिको सहआयोजनामा हुने महोत्सवमा नेपालगन्ज उपमहानगरपालिका, महासंघका विभिन्न पालिका समिति, सरकारी तथा गैरसरकारी निकायहरूको सहयोग रहेको जानकारी दिइएको छ । आयोजकले महोत्सवलाई सफल बनाउन आम नागरिकलाई सहभागिताका लागि आग्रह गरेको छ ।
कोहलपुर महोत्सवको समय पाँचदिन थप
पुस ९ गतेदेखि सञ्चालित कोहलपुर महोत्सवको समय पाँच दिन थप गरिएको छ । कोहलपुर उद्योग वाणिज्य संघको आयोजना भइरहेको महोत्सव अब पुस २३ गतेसम्म सञ्चालन हुने संघका अध्यक्ष प्रदीप भट्टराईले जानकारी दिए ।
कोहलपुर नगरपालिकाको अनुमतिमा महोत्सवको समय पाँच दिन थप गरिएको हो । आयोजकले थप सात दिनका लागि अनुमती माग गरेपनि नगरपालिकाले पाँच दिनको मात्रै अनुमति दिएको थियो । कोहलपुर नगरप्रमुख पूर्णप्रसाद आचार्यले समेत महोत्सवको समयावधि थप गर्नको लागि अनुमति दिएको जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्