धनगढी ।
टाउकोमा ढाका टोपी, शरीरमा आ–आफ्नो पहिचान झल्किने पोसाक र हातमा नेपालको झण्डा । धनगढीका सडकहरूमा बिहीबार यस्तै दृश्यले सजिएका थिए । अवसर थियो ‘ढाका टोपी दिवस’को । जसमा सुदूर नेपाल संस्कृति समाजले धनगढी ट्राफिक चौराहदेखि धनगढी उपमहानगरपालिकासम्म प्रभातफेरीको आयोजना गरेको थियो ।
प्रभातफेरीमा सहभागीहरू साँस्कृतिक पहिचान र परम्पराको संरक्षणको सन्देश लिएर हिँडिरहेका थिए । विभिन्न उमेरका मानिसहरू, विद्यार्थी, विभिन्न संघसंस्था र समाजका आम सर्वसाधारणले ढाका टोपी लगाएका थिए । सडकमा नेपालको झण्डा, रंगीन झन्डा र साँस्कृतिक झलकले वातावरण झिलिमिली बनाएको थियो । समाजका महासचिव झुम अधिकारीले भने, ‘टोपी दिवसको मूल उद्देश्य हाम्रो संस्कृति, परम्परा र पहिचानलाई जोगाउनु हो ।
यस दिन हामीले मात्र पभातफेरी आयोजना गरेका छैनौँ, सार्वजनिक पदमा आसिन व्यक्तिहरूलाई ढाका टोपी लगाएर सम्मान पनि गरेका छौँ।’ कार्यक्रमअन्तर्गत प्रदेश प्रमुख नजिर मियाँ, धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालका साथै धनगढीका १९ वटै वडाका वडाअध्यक्षहरूलाई ढाका टोपी लगाएर सम्मान गरिएको थियो । अधिकारीका अनुसार यस प्रकारका कार्यक्रमहरूले समुदायमा परम्पराप्रति गर्व र चेतना जगाउँछन् ।
कार्यक्रममा सहभागी श्री छठ पूजा समितिका सचिव सरोजकुमार यादवले ढाका टोपीको ऐतिहासिक र साँस्कृतिक महत्वबारे जानकारी दिएका थिए । उनले भने, ‘नेपालमा अनेक भेषभूषा, संस्कृति र परम्परा छन् । तर ढाका टोपीले नेपाललाई विश्वमा चिनाउने काम गरेको छ । यो हाम्रो राष्ट्रिय पहिचान हो, जसलाई हामीले जोगाउनैपर्छ ।’
नेपालमा विगतमा सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरूले अनिवार्य रूपमा ढाका टोपी लगाउने चलन थियो । तर पछिल्ला वर्षहरूमा शिक्षक, कर्मचारी र सर्वसाधारणले यो परम्परा पालना गर्न छाडेका छन् । यस कारण विभिन्न संघसंस्थाहरूले ढाका टोपी दिवस मनाएर परम्परा जोगाउने अभियान सुरु गरेका छन् । ढाका टोपी दिवसको ऐतिहासिक पृष्ठभूमि पनि रोचक छ । ढाका टोपी विशेषगरी नेपालको पहिचानसहितको पोसाकको रूपमा लिइन्छ ।
ढाका टोपी नेपाली पुरुषहरूको राष्ट्रिय पहिचान मात्र नभई सामाजिक र साँस्कृतिक सम्मानको पनि प्रतीक हो । टोपी दिवसको अवसरमा धनगढीमा आयोजित प्रभातफेरीले समुदायमा साझा संस्कृतिको महत्वलाई उजागर गरेको छ । सहभागीहरूले न केवल टोपी लगाएका थिए उनीहरूले साँस्कृतिक गीत, नाच र झन्डासहितको झल्को प्रस्तुत गरेर कार्यक्रमलाई उत्सवको रूपमा रूपान्तरण गरेका थिए ।
समाजका महासचिव झुम अधिकारीले भने, ‘हामी चाहन्छौँ, केवल एक दिनको कार्यक्रम नभएर हाम्रो संस्कृति र परम्परा दैनिक जीवनमा पनि जिवन्त रहोस् । ढाका टोपी मात्र पोसाक होइन, यो हाम्रो पहिचान हो ।’ विशेष रूपमा यस वर्षको टोपी दिवसले युवापुस्ता माझ परम्परा र साँस्कृतिक चेतना जगाउने प्रयासमा जोड दिएको छ । आयोजकहरूले भने, ‘आजको युवा वर्गले हाम्रो साँस्कृतिक सम्पदाको महत्व बुझ्नुपर्छ । ढाका टोपी लगाएर मात्र होइन, यसको महत्व बुझेर संरक्षण गर्नुपर्छ ।’









प्रतिक्रिया दिनुहोस्