बझाङ ।
सन् २०२५ को ११ महिनामा बझाङको चैनपुरस्थित विमानस्थलले १२७ जना यात्रुलाई सेवा दिएको छ । नेपाल नागरिक उड्डयन प्रधाधिकरणको तथ्यांकअनुसार सबैभन्दा कम यात्रुलाई सेवा दिने विमानस्थलहरूको दोस्रो स्थानमा सो विमानस्थल परेको छ । सन् २०२५ को जनवरीदेखि नोभेम्बरसम्म इलामको सुकिलुम्बा विमानस्थलमा ८३ जना यात्रुले मात्रै सेवा लिएका छन् ।
प्राधिकरणका अनुसार यात्रु पाइए पनि वायुसेवा कम्पनीसँग पर्याप्त साना जहाज नहुँदा अहिले पहाडी भेगका विमानस्थलमा नियमित उडान हुन सकेको छैन । जसले गर्दा पहाडी भेगका केही विमानस्थलहरूले आफ्नो खर्च जति पनि राजस्व असुल गर्न सकेका छैनन् । प्राधिकरणले अछामको साँफेबगर विमानस्थलमा ३०५ र बाजुराको कोल्टी विमानस्थलले ९ हजार ९४० जना यात्रुलाई सेवा दिएको जनाएको छ ।
धनगढी विमानस्थलले भने दुई लाख ६९ हजार ७३६ यात्रुलाई सेवा दिएको छ । तथ्यांकअनुसार ताप्लेजुङ विमानस्थलमा ४०५ यात्रुले सेवा लिएका छन् भने खोटाङको मनमाया राई खानीडाँडा विमानस्थलमा ४९९ जना यात्रुले सेवा लिएको प्राधिकरणले जनाएको छ । ओखलढुंगाको रुम्जाटारमा ५ सय ८ र गुल्मीस्थित रेसुङ्गा विमानस्थलमा ६ सय ५६ यात्रुले सेवा लिएको प्राधिकरणले जनाएको छ ।
आन्तरिकतर्फ सबैभन्दा धेरै यात्रुले सेवा लिएको विमानस्थल पोखरा हो । यस विमानस्थलबाट ७ लाख ९८ हजार ७९१ यात्रुले सेवा लिएकोमा अधिकांश आन्तरिक यात्रु हुन् । लुक्लामा १ लाख ३० हजार ५४६ यात्रुले सेवा लिएका छन् । रारामा १० हजार ३११ यात्रुले सेवा लिएको तथ्यांक छ। रामेछापबाट ३३ हजार ५४९ यात्रुले सेवा लिएका छन् ।









प्रतिक्रिया दिनुहोस्