आज कारागारबाट रिहा हुँदै रवि



बुटवल ।

तुलसीपुर उच्च अदालत, बुटवल इजलासले बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश गरे पनि उनी आजमात्रै थुनामुक्त हुने भएका छन् । तुलसीपुर उच्च अदालत, बुटवल इजलासका अनुसार रविको बिहीबार आदेशसहितको सक्कल मिसिल रुपन्देही जिल्ला अदालत पुग्नेछ । त्यसपछि जिल्ला अदालतले रविलाई बिगो बराबरको रकम २ करोड ८४ लाख ७४ हजार रूपैयाँ वा बैंक ग्यारेन्टी बुझाउन पत्र पठाउनेछ ।

ल्ला अदालत, रुपन्देहीले बिहीबार नै लामिछानेलाई उपस्थित गराउन नख्खु कारागारलाई पत्राचार गरिसकेको छ । उक्त पत्र रविले बुझेपछि रिहाइको प्रक्रिया सुरु हुन्छ । लामिछानेले यो प्रक्रिया छिटो गर्न चाहेमा उच्च अदालतको आदेश लिएर जिल्ला अदालत रुपन्देहीमा आफैँ उपस्थित हुन सक्नेछन् । रवि आज शुक्रबार काठमाडौँबाट आएर रुपन्देही जिल्ला अदालतमा आफैँ उपस्थित हुने तयारी गरेका छन् ।

उनी जहाजमार्फत भैरहवा आउनेछन् । बिहीबारदेखि नै प्रक्रिया सुरु गरिएको र अदालतले गरेको आदेशअनुसार सबै प्रक्रिया शुक्रबार पूरा गर्ने रविका स्वकीयसचिव अविनाश आचार्यले जानकारी दिए । ‘जिल्ला अदालत र सुरक्षा निकायसँग समन्वय गरेर शुक्रबार नै हामीले सभापतिज्यूलाई अदालतमा उपस्थित गराउनेछौँ,’ उनले बिहीबार भने, ‘त्यसपछि उहाँ शुक्रबार नै रिहाइ हुनुहुनेछ ।’

रवि कानुनबमोजिम ठहर हुन आएमा थप रकम बुझाउन मन्जुर छु भन्ने मन्जुरिनामा जिल्ला अदालतमा दिनुपर्नेछ । उच्च अदालतको बिहीबारको पाँचवटा सर्तमध्ये एउटा सर्त थप रकम बुझाउन मन्जुर छु भनी जिल्ला अदालतमा स्वीकार गर्नुपर्ने रहेको थियो । सोही कारण उनी रुपन्देही जिल्ला अदालतमा उपस्थित हुनुपर्नेछ । यसका लागि अदालतले सुरक्षासँग समन्वय गर्नेछ । यी सबै प्रक्रिया पूरा भएपछि सम्भवतः रवि आज शुक्रबार थुनामुक्त हुने बताइएको छ ।

तुलसीपुर उच्च अदालत, बुटवल इजलासका न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले बिहीबार उनलाई थुनामुक्त गर्न आदेश दिएको थियो । अदालतको आदेशअनुसार रविले यसअघि बुझाएको १ करोड धरौटी उच्च अदालतले स्वीकार गरेको छ । त्यो बाहेकको २ करोड ७४ लाख ८४ हजारको बैंक ग्यारेन्टी पनि स्वीकार गरेको छ ।

त्यसपछि सिर्जना हुने दायित्व पनि रवि तिर्न तयार हुनुपर्ने सर्त र रवि लामिछाने विदेश यात्रा गर्नु पर्ने भएमा त्यसको पूर्वजानकारी अदालतलाई दिनुपर्ने पनि अदालतले आदेश गरेको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए । तुलसीपुर उच्च अदालत बुटवल इजलासकै २०८१ चैत २२ को आदेशले रवि लामिछाने पक्राउ परेका थिए ।

काठमाडौँबाट पक्राउ परेका उनलाई सुरुमा जिल्ला कारागार भैरहवामा राखिएको थियो । अहिले लामिछाने अहिले ललितपुरको नख्खु कारागारमा छन् । भैरहवा कारागारमै थुनामा रहेका छविलाल जोशीको पनि शुक्रबारबाटै पुनः रितपूर्वकको निवेदनको प्रक्रिया सुरु हुने भएको छ । जोशीका छोरा रोचक जोशीले आज शुक्रबार नै पुनः निवेदन र बिगोबमोजिमको बैंक ग्यारेन्टी बुझाउने उनले जानकारी दिए ।

उच्च अदालतका पाँच शर्त

१. जिल्ला अदालतबाट २०८१ माघ १३ मा सुरु थुनछेक बहसका क्रममा माग गरेको धरौटी रकम स्वीकार गर्ने ।
२. रवि लामिछानेले पेस गरेको बैंक जमानत २ करोड ७४ लाख ८४ हजार बिगोको हकमा सुरक्षित गर्ने ।
३. व्यक्तिगत वा संस्थागत रूपमा विदेश यात्रा गर्नुपरेमा अदालतलाई पूर्वजानकारी दिने ।
४. अदालतबाट फैसला हुँदा ठहरेबमोजिम हुने नै हुँदा साथै फैसलाले बिगोको हकमा थप दायित्व सिर्जनामा गरेमा तिर्न÷बुझाउन मन्जुर भए सो को कागज गरी प्रतिवादी रवि लामिछानेलाई मुद्दाको रोहबाट थुनामुक्त गर्नु ।
५. सुुरु जिल्ला अदालतको २०८२ साउन २६ को आदेश बदर गर्ने ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस ४ गते शुक्रबार