ओलीको अविजित तेस्रो इनिङ



एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको अन्तिम मतपरिणाम अनुसार अध्यक्षमा केपी शर्मा ओली समूहबाट बनेका उम्मेदवारहरूकै वर्चश्व देखिएको छ ।

काठमाडौँ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगातार तेस्रो पटक पार्टी नेतृत्वमा पुगेका छन् । ११औँ महाधिवेशनबाट ओली तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । यसअघि ९औँ र १०औँ महाधिवेशनबाट पनि ओली नै अध्यक्षमा निर्वाचित भएका थिए । बिहीबार घोषणा भएको अन्तिम मतपरिणाम अनुसार प्रतिस्पर्धी ईश्वर पोखरेललाई दोब्बर मतले पछि पार्दै ओली तेस्रो कार्यकालका लागि एमालेको अध्यक्षमा विजयी भएका हुन् । ओलीले १६६३ मत प्राप्त गर्दा पोखरेलले ५६४ मत प्राप्त गरेका छन् । दुईजनाबीचको फरक १०९९ मत रहेको छ ।

२०७१ मा भएको एमालेको ९औँ महाधिवेशन २०७१ बाट पहिलो पटक नेतृत्व सम्हालेपछि ओलीको पार्टीभित्रको यात्रा निकै रोचक र उतारचढावपूर्ण देखिन्छ । पार्टी सञ्चालनका सन्दर्भमा उनका यी पक्ष उत्तिकै रोचक र स्मरणीय पनि छन् । त्यतिबेला माधवकुमार नेपाललाई झिनो मतान्तरले पराजित गर्दै अध्यक्ष बनेका ओलीले सुरुका दिनमा पार्टीभित्रै अल्पमतको सामना गरेका थिए । स्थायी कमिटी र पोलिटब्युरोमा नेपाल पक्षको वर्चस्व हुँदाहुँदै पनि उनले आफ्नो निर्णय क्षमतामा ह्रास आउन दिएनन् ।

एमालेको परम्परागत कमिटी प्रणाली र लामो बहसको प्रक्रियालाई छोट्याउँदै ओलीले पार्टीलाई ‘डेलिभरी’ र ‘एक्सन’ ओरिएन्टेड बनाउन जोड दिए । यसले पार्टीभित्र एकथरिलाई असन्तुष्ट बनाए पनि कार्यकर्तामा भने नयाँ उत्साह भरिदियो । चितवनमा भएको १०औँ महाधिवेशनबाट ओली दोस्रो पटक पार्टी अध्यक्ष भए । त्यो बेला पनि विधानलाई आफू अनुकूल परिवर्तन गर्न उनी सफल भएका थिए । विजयको त्यो फर्मुला यो पटक पनि प्रयोग गरे । उनी सफल भए । सोबेला उनले अध्यक्षमा भीम रावललाई पराजित गरेका थिए ।

एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको अन्तिम मतपरिणाम अनुसार अध्यक्षमा केपी शर्मा ओली समूहबाट बनेका उम्मेदवारहरूकै वर्चश्व देखिएको छ । दुई समूह छुट्टाछुट्टै प्यानल बनाएर उत्रिएकोमा अधिकांश ओली प्यानलकै उम्मेदवार विजयी भएका छन् । नेतृत्व परिवर्तनको नारासहित प्रतिस्पर्धामा उत्रिएको पोखरेल समूह नतिजाका हिसाबले निकै कमजोर सावित भएको छ । ३०१ सदस्यीय केन्द्रीय कमिटीमा सो समूहबाट एक दर्जनभन्दा कम नेताहरू मात्र अटाउन सफल भएका छन् ।

सार्वजनिक अन्तिम मतपरिणामअनुसार, पोखरेल समूहबाट पदाधिकारीमा केवल दुई जना उम्मेदवारले जित हासिल गरेका छन् । १९ सदस्यीय पदाधिकारीका लागि निर्वाचन भएकोमा पोखरेल प्यानलबाट उपमहासचिवमा योगेश भट्टराई र उपाध्यक्षमा गोकर्ण विष्ट मात्रै विजयी भएका छन्। सचिवमा सबै ओलीकै प्यानलका उम्मेदवारहरू निर्वाचित भएका छन् ।

केन्द्रीय निर्वाचन आयोगले दिएको अन्तिम मतपरिणाम अनुसार उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा, पृथ्वीसुब्बा गुरुङ, रघुजी पन्त, गोकर्ण विष्ट, महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा रघुवीर महासेठ, लेखराज भट्ट, योगेश भट्टराई, सचिवमा छविलाल विश्वकर्मा, भानुभक्त ढकाल, पद्मा अर्याल, खगराज अधिकारी, यामलाल कँडेल, राजन भट्टराई, शेरधन राई, हिक्मत कार्की र महेश बस्नेत विजयी भएका छन् ।

एमालेको विधानअनुसार पदाधिकारीका उम्मेदवारहरू स्वतः खुल्ला केन्द्रीय सदस्यको उम्मेदवार मानिन्छन् । पदाधिकारीमा निर्वाचित हुँदा केन्द्रीय सदस्यको मत गणना हुँदैन, तर पराजित भएमा उनीहरूले पाएको मत केन्द्रीय सदस्यका लागि गणना हुन्छ । पोखरेल समूहबाट पदाधिकारीमा प्रतिस्पर्धा गरेका १९ जनामध्ये विष्ट र भट्टराईले पदाधिकारी जिते भने ९ जना नेताहरू पदाधिकारीमा हारे पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

अध्यक्षमा पराजित ईश्वर पोखरेल १०८८ मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भए । त्यस्तै, उपाध्यक्षमा पराजित बिन्दा पाण्डे (११२१ मत) पनि केन्द्रीय सदस्य बनिन् । उपमहासचिवमा पराजित आनन्द पोखरेल (९९७ मत) र सचिवमा पराजितहरू क्रमशः अग्नि खरेल (११३५), कर्ण थापा (१०२६), कृष्णगोपाल श्रेष्ठ (९९४), गोकुल बाँस्कोटा (११९५), ठाकुर गैरे (१२८४) र रचना खड्का (११२४) केन्द्रीय सदस्यमा विजयी भएका छन्।

पोखरेल समूहलाई सबैभन्दा ठुलो धक्का महासचिव पदमा लागेको छ । महासचिवमा शंकर पोखरेलसँग पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित भए । महासचिवमा ९९९ मत ल्याएका पाण्डेले केन्द्रीय सदस्यका लागि गणना हुँदा ९६१ मत मात्र प्राप्त गरे, जुन जितका लागि आवश्यक ९९४ मतभन्दा कम थियो । सुरेन्द्र पाण्डेसहित पदाधिकारीमा उम्मेदवारी दिएका अन्य ६ जना नेताहरू पनि केन्द्रीय समितिबाट बाहिरिएका छन् ।

उपाध्यक्षका उम्मेदवारहरू अरुण नेपाल, टंक कार्की र परशुमेघी गुरुङ, उपमहासचिवका उम्मेदवार बैजनाथ चौधरी तथा सचिवका उम्मेदवारहरू पुरुषोत्तम पौडेल, विनोद ढकाल र इन्द्रलाल सापकोटा पदाधिकारी र केन्द्रीय सदस्य दुवै पदमा पराजित भए । केन्द्रीय समितिको भूगोलतर्फको प्रतिस्पर्धामा पोखरेल समूहका कुनै पनि उम्मेदवार विजयी हुन सकेनन् । खुलातर्फ भने ओली पक्षको सूचीमा समेत नाम रहेका कारण पोखरेल समूहका कतिपय उम्मेदवारहरूले मत पाएको देखिन्छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस ४ गते शुक्रबार