‘फागुन २१ को मितिबाट दायाँबायाँ नहोस्’



काठमाडौँ ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको फागुन २१ गतेको निर्वाचनको मितिमा दाँयाबाँया नहुने गरी सम्पूर्ण ध्यान चुनावमा केन्द्रित गर्न सरकारलाई सुझाव दिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०८१–०८२ को वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले यस्तो सुझाव दिएको प्रेस सल्लाहकार किरण पोखरेलले बताए ।

राष्ट्रपति पौडेलले सो चुनावलाई प्रभावित नहुने गरी काम गर्न पनि सरकारलाई सुझाव दिएका थिए । सो अवसरमा अघिपछि भन्दा अत्यन्त तदारुकताका साथ सुरक्षा व्यवस्थामा ध्यान दिन नेपाली सेनासहितका सुरक्षा निकायलाई राष्ट्रपति पौडेलले निर्देशनसमेत दिए । सो अवसरमा राष्ट्रपति पौडेल समक्ष प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०८१–०८२ को वार्षिक प्रतिवेदन पेश गरेकी थिइन् ।

राष्ट्रपति पौडेलले वर्तमान अवस्थामा थपिएका तथा भविष्यमा आइपर्ने सुरक्षा चुनौतीहरूसमेत आंकलन गरी राष्ट्रिय सुरक्षा परिषद्ले आगामी दिनमा आफ्नो जिम्मेवारी अझ प्रभावकारी रूपमा निर्वाह गर्ने विश्वास व्यक्त गरेका थिए । यस्तै आगामी फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले जनसङ्ख्याका आधारमा समानुपातिकतर्फको प्रतिशत निर्धारणको प्रक्रिया अगाडि बढाइसकेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रको व्यवस्थाबमोजिम दलित, आदिवासी, जनजाति, खस आर्य, मधेसी, थारू, मुस्लिम समूहका लागि प्रतिशत निर्धारण गर्न लागिएको आयोगले जनाएको छ ।

यस्तै, समानुपातिक प्रणालीतर्फ कूल एक सय राजनीतिक दलले भाग लिने भएका छन् । निर्वाचन आयोगले शुक्रबार ती राजनीतिक दल दर्ता भएको र निर्वाचन चिह्नसमेत उपलब्ध गराइसकेको छ । यही मंसिर २१, २२ र २३ गते तीन दिनको समयभित्र समानुपातिकतर्फको निर्वाचनमा भाग लिनका लागि आवेदन दिएका राजनीतिक दलमध्ये अन्तिम रूपमा एक सय दल कायम भएका छन् ।

सो निर्वाचन प्रणालीतर्फ एक सय दलले आवेदन दिएको भए पनि दुई वा दुईभन्दा बढी दलले एकल निर्वाचन चिह्नमा भाग लिनेगरी आवेदन दिएकाले कूल ९३ वटा निर्वाचन चिह्न कायम गरिएको छ । यस्तै, प्रत्यक्षतर्फ एक सय १४ राजनीतिक दल सहभागी हुँदैछन् । आयोगले निर्वाचन आचारसंहिताको मस्यौदा तयार पारेर आवश्यक सुझाव संकलन गरिरहेको छ ।

निर्वाचनका लागि नै सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालनको स्वीकृति दिइसकेका छन् । शान्ति सुरक्षा कायम गर्दै स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन गृह मन्त्रालयले आवश्यक तयारी गरिसकेको गृहमन्त्री ओमप्रकाश अर्यालले स्पष्ट पारेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ मंसिर २९ गते सोमबार