हाब्रे संरक्षणका विषयवस्तु पाठ्यक्रममा समावेश गर्न माग



रामप्रकाश विक । जुम्ला ।

जिल्लाका सरोकारवाला निकायले लोपोन्मुख हाब्रे संरक्षणका विषयवस्तु पाठ्यक्रममा समावेश गर्नुपर्ने निष्कर्ष निकालेका छन् । पछिल्लो समय विश्वकै दुर्लभ र लोपोन्मुख वन्यजन्तु रेड पाण्डा (हाब्रे)को संरक्षणमा चुनौती थपिँदै गएको छ । उक्त समस्यालाई सम्बोधन गर्न जिल्लाका सरोकारवालाले संरक्षणका विषयवस्तु पाठ्यक्रममा समावेश गर्नुपर्ने सुझाव दिएका हुन् । हाब्रे संरक्षणका लागि स्थानीय सरकारले निर्माण गर्ने पाठ्यक्रममा नै सचेतनाका विषयवस्तुहरू समावेश गर्नुपर्ने निष्कर्ष निकालिएको हो ।

रेड पाण्डा नेटवर्क र हातेमालो नेपाल जुम्लाले आयोजना गरेको परियोजनाअन्र्तगत जिल्ला सल्लाहकार बैठकका सहभागीले हाब्रे संरक्षणबारे सुझाव दिएका हुन् । हातेमालो नेपालका कार्यकारी निर्देशक टेक रावतका अनुसार हाल जिल्लाका दुई विद्यालयमा रेड पाण्डाका विषयमा अतिरिक्त कक्षाका रूपमा पढाइ भइरहेको छ । यसलाई थप विस्तार र संस्थागत गर्नुपर्ने आवश्यकता महसुस गरिएको उनले बताए ।

रातो हाब्रेको बासस्थान नेपालका २३ हिमाली तथा पहाडी जिल्लाहरूमा ताप्लेजुङदेखि जाजरकोटसम्म रहेको छ । हाब्रे समुद्री सतहबाट दुई हजार २०० देखि चार हजार ८०० मिटरसम्मको उचाइमा अवस्थित मिश्रित जंगलमा फैलिएर बस्ने गरेको छ । संरक्षणकर्मीहरूका अनुसार हाब्रेको संरक्षण वर्षपिच्छे चुनौती थपिँदै गएका छन् । जसमा वन जंगल फडानी, डढेलो र जलवायु परिवर्तनको प्रतिकूल प्रभाव र मुख्य आहारा मालिङ्गो तथा निगालो मासिँदै जानु रहेको छ ।

यस्तै चोरी शिकारी, अव्यवस्थित चरिचरन र शिकारी कुकुरको शिकारले पनि हाब्रेको संख्या घट्दो छ । दुर्गम क्षेत्रमा यातायात, मानव बस्ती र चरिचरण क्षेत्रको विस्तार तथा संरक्षणका लागि सरकारको लगानी कम हुनु चुनौतीको रुपमा देखिएको छ भने संरक्षणका लागि समुदायमा पनि चेतनाको अभाव रहेको छ । हाल नेपालमा ५०० भन्दा बढी रेड पाण्डा रहेको अनुमान छ । जबकि भारत, भुटान, म्यान्मार र चीनसमेत गरी विश्वभर एक हजारको हाराहारीमा यो प्रजाति रहेको छ ।

परियोजना सल्लाहकार बैठकले शैक्षिक सचेतनामार्फत चेतना अभिवृद्धि गर्नु नै दीर्घकालीन संरक्षणको उपाय रहेको निष्कर्ष निकालेको हो ।
जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले रेड पाण्डा संरक्षणलाई स्थानीय सरकारको नीति तथा कार्ययोजनासँग जोडेर दीर्घकालीन कार्यक्रमका रूपमा लागू गर्न अपरिहार्य रहेको औँल्याए । पाठ्यक्रममा रेड पाण्डा संरक्षणको विषय समावेश गर्नाले नयाँ पुस्तामा सानैदेखि वन्यजन्तुमैत्री बानी र सचेतनाको विकास हुने उल्लेख छ ।

प्रहरी नायव उपरिक्षक रविनबाबु रेग्मीले रेड पाण्डाको मासु वा रौँको व्यापारिक माग नभएपनि अवैध चोरी निकासी हुने गरेको छ । यसको चोरी शिकार गर्नु आवश्यक छैन भन्ने सन्देश प्रवाह गर्न जोड दिइएको छ । हातेमालो नेपाल जुम्ला र रेड पाण्डा नेटवर्कको प्राविधिक सहयोगमा समुदायमा आधारित संरक्षण परियोजनाले वन क्षेत्रमा हुने अवैध गतिविधि रोकथाम र संरक्षणमैत्री बानी विकास भएको दाबी गरिएको छ । तर यो कार्यक्रमलाई थप प्रभावकारी बनाउन सबै निकायबीच समन्वयमा जोड दिनुपर्ने बताइएको छ ।

स्थानीय तहले विकासका गतिविधि र हाब्रेको बासस्थानबीच सन्तुलन कायम गर्न नीतिगत रूपमा सहजीकरण गर्नेपर्ने आवश्यकता छ ।
सामुदायिक वन उपभोक्ता महासंघ जुम्लाका अध्यक्ष गोकर्ण चौलागाईंले हाब्रे संरक्षणमा स्थानीय सरकार, समुदाय, गैरसरकारी संस्था र सरोकारवाला निकायबीचको समन्वयलाई थप बलियो बनाएर अघि बढ्नुपर्ने बताए । चोरी शिकारी नियन्त्रणका लागि स्थानीय तह, उपभोक्ता समूह र वनकर्मीबीच नियमित संवाद र संयुक्त वनगस्तीलाई निरन्तरता दिनुपर्ने उनको भनाइ छ । स्थानीय पाठ्यक्रममा हाब्रे संरक्षणका विषयवस्तुहरू समावेश गर्न उनको सुझाव छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ मंसिर २४ गते बुधबार