शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।
कोहलपुर नगरपालिकाका गौरवका आयोजनामध्येको एक हो, लामो दुरीको बसपार्क । पूर्व–पश्चिम राजमार्ग र नेपालगञ्ज–सुर्खेत जोड्ने रत्न राजमार्गको मिलनबिन्दु कोहलपुर चौराह नजिकै पाँच बिघा १६ कठ्ठा जमिनमा अत्याधुनिक बसपार्क अवस्थित छ । नेपालकै अत्याधुनिक दाबी गरिएको यो बसपार्क ३० करोड ६२ लाख सात हजार सात सयको लागतमा निर्माण गरिएको हो ।
बसपार्क व्यवस्थापनका लागि वार्षिक ७१ लाख ७७ हजार सात सय ७७ नगरपालिकालाई तिर्ने गरी बागेश्वरी यातायात व्यवसायी प्रालिले जिम्मा लिएको छ । सो बसपार्क निर्माणका लागि नगर विकास कोषबाट १८ करोड ३७ लाख २४ हजार छ सय २१ ऋण लिइएको छ भने नगरपालिकाले मात्रै १२ करोड २४ लाख ८३ हजार ८० लगानी गरेको छ । २०८० असार २४ गते तत्कालीन लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले लामो दुरीको उद्घाटन गरेका थिए ।
त्यसअघि तत्कालीन नगर प्रमुख लुटबहादुर रावतद्धारा २०७९ जेष्ठ ३ गते लामोदुरीको बसपार्कस्थित टर्मिनल भवन (सपिङ कम्प्लेक्स ) उद्घाटन गरिएको थियो । टर्मिनल भवन बसपार्क सञ्चालन भएको दुई वर्ष बितिसक्दासमेत प्रयोगविहीन छ । चार तले टर्मिनल भवन औपचारिक रूपमा सञ्चालनमा नआउँदै जीर्ण बन्दै गएको छ । भवनका विभिन्न भाग चर्किएका छन् । सबैभन्दा तल्लो तहमा रहेको यात्रु विश्राम कक्ष फोहोरले दुगन्र्धित बन्दै गएको छ । उक्त तलाको भूई तलामा चुरोट र मेघा श्री पोकामात्रै भेटिन्छन् ।
टर्मिलन भवनभित्र एउटा सपिङ मल रहेको छ । भूई तलाका साथै प्रतिक्षालय रहेको छ । भवन चार तले रहेको छ । टर्मिनल भवनसँगै जोडिएका दर्जन बढी संरचना छन् । जो अहिलेपनि प्रयोग विहीन अवस्थामा रहेका छन् । त्यहाँभित्र रहेका सुरक्षाकर्मी भवन,मेडिकल सप,स्तनपान कक्ष अहिलेपनि प्रयोगविहीन छन् । भवनसँगै जोडिएका दसवटा कोठामा बीसवटा टिकट काउन्टर, दुई वटा चार्जिङ स्टेसन, सार्वजनिक शौचालय भने सञ्चालनमा रहेका छन् ।
यसैगरी, व्यापारिक प्रयोजनका लागि निर्माण गरिएका अधिकांश सटरसमेत बन्द अवस्थामा रहेका छन् । बसपार्क सञ्चालन भएपछि कोहलपुर नगरपालिकाले लामोदुरीको बसपार्क भित्र रहेका भौतिक संरचना सदरहरू भाडामा दिनको लागि २०८० साउन ७ गते सूचना जारी गरेको थियो। सोही वर्षको २०८० पुस १३ गते नगरपालिकाले कोहलपुर नगर बसपार्कस्थित सार्वजनिक शौचालय सञ्चालन तथा व्यवस्थापनका लागि दरभाउ पत्र आह्वान गरेको थियो ।
बसपार्कभित्र उत्तरतर्फ स्टोरसहितका २९ वटा ठूला सटर र दक्षिणतर्फ स्टोरबिनाका ३० वटा सटर छन् । कूल ५९ मध्ये आधा भन्दा बढी सटर बन्द छन् । बसपार्क सञ्चालनको जिम्मा बागेश्वरी यातायात प्रा.लि.ले लिएको छ । प्रालिका अध्यक्ष मनप्रसाद आचार्य टर्मिनल भवन ‘सेतो हात्ती’ जस्तै भएको टिप्पण्ी गर्छन् । उनका अनुसार प्रालिले बसपार्क व्यवस्थापनको जिम्मा लिएको हो । टर्मिनल भवन सञ्चालनको लागि बारम्बार प्रयास गर्दासमेत नगरपालिकाले सञ्चालन गर्न सकेको छैन ।
कोहलपुर नगरपालिकाका पूर्वाधार विकास शाखाका प्रमुख बालकृष्ण महतारा क्षेत्री कोहलपुर नगरपालिकाले स्थापना कालदेखि नै विभिन्न समयमा ठेक्का आह्वान गर्दै आएको बताउँछन् । उनका अनुसार अहिलेसम्म आधा दर्जन भन्दा बढी पटक ठेक्का आह्वान गरिएको छ । तर, अहिलेसम्म कुनै पनि व्यक्ति, संघ संस्था र यातायात प्रालिले व्यवसायिक प्रयोजनका लागि आवेदन नै नदिएको उनको भनाइ छ ।
चालू आर्थिक वर्ष सुुरु भएपछि मात्रै कोहलपुर नगरपालिकाले टर्मिनल भवन सञ्चालन र व्यवस्थापनको लागि ठेक्का आह्वान गरेको देखिन्छ । चालू आवमा पछिल्लो पटक २०८२ साउन २१ गते पनि सूचना प्रकाशित गरिएको थियो । सूचनामा कोहलपुर नगरपालिकाको लामो दुरीको बसपार्क भित्र रहेको टर्मिनल भवन (सपिङ कम्प्लेक्स) कोहलपुर नगरपालिकाको सौह्रो नगर सभाको निर्णय अनुसार आर्थिक वर्ष २०८२–०८३ देखि १५ वर्षको लागि सञ्चालन गर्ने कार्यका लागि सूचना आह्वान गरिएको उल्लेख छ ।
सूचनामा भनिएको छ, ‘टर्मिलन भवनभित्र एउटा सपिङ मल रहेको छ । भूई तलाका साथै प्रतिक्षालय रहेको छ । भवन तीन तले रहेको छ ।’ सूचनामा प्रतिवर्ष न्युनतम मूल्य (भ्याटसहित) ८७ लाख ३३ हजार रूपैयाँ तोकिएको छ । यसैगरी, २०८२ असोज ३१ गतु लामो दुरीको बसपार्क भित्र रहेको चार तले टर्मिनल भवन (भुईतला)सहित बहालमा दिने सूचना जारी गरेको छ । नगरपालिकाका वरिष्ठ इन्जिनियर महतारा भन्छन्,‘हामीले सूचना जारी गरिरहेका छौँ । अहिलेसम्म कोहीपनि आएका छैनन् । यस विषयमा नगरपालिकाले विकल्प खोज्नुपर्ने देखिएको छ।’
नगरपालिकालाई ‘गलपासो’बनिरहेको टर्मिनल भवन
अत्याधुनिक सुविधासहितको लामोदुरीको बसपार्क २०७४ सालमा निर्वाचित जनप्रतिनिधिको पालामा निर्माण सुरु गरिएको थियो । पश्चिम नेपालकै सबैभन्दा ठूलो र अत्याधुनिक सुविधासहितको दावी गरिएको बसापर्क अझै पूर्ण रूपमा सञ्चालन हुन सकिरहेको छैन । बसपार्क निर्माण भएर सञ्चालन भएको दुई वर्ष बितिसक्दा अहिले सञ्चालन हुने टुंगो छैन ।
बसपार्क निर्माणमा ११ करोड लगानी गरेको नगरपालिकाका जनप्रतिनिधि र सञ्चालन व्यवस्थापन जिम्मा लिएकै प्रालि टर्मिनल भवनका विषयमा सोध्दा दिक्दारी पोख्छन् । उनीहरूको प्रतिप्रश्न छ,‘विविध कारणले अहिले नै यो संरचना कोहलपुरमा आवश्यक थिएन ।’ यतिसम्मकी कोहलपुर नगरपालिकाका अहिलेका जनप्रतिनिधिहरूले त सार्वजनिक रुपमै कोहलपुरको आवश्यकता भन्दा १०–१५ वर्ष अघि नै संरचना निर्माण भएको अभिव्यक्ति दिइसकेका छन् ।
बागेश्वरी यातायात व्यवस्था प्रालिका अध्यक्ष आचार्य त कोहलपुरको वस्तुगत आवश्यकता नै मूल्यांकन नगरीकन संचरना निर्माण गरिदाँ अहिले सञ्चालनमै ल्याउन समस्या भइरहेको बताउँछन् । ‘यहाँ जनघतन्व कम । पूर्ण सहरीकरण भइसकेको छैन । सहायक राजमार्ग विस्तार हुँदा समस्या भएको छ । अहिले झन टाइम कार्डले समस्या गरिरहेको छ । अब निर्माण भइसक्यो । विकल्पहरू दिनुपर्छ ।’ उनले भने । कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुवेदी टर्मिनल भवन सञ्चालनको विकल्प नभएको बताउँछिन् ।
उनका अनुसार लामो समयसम्म टर्मिनल भवन सञ्चालनमा नआउँदा नगरपालिकालाई घाटा हुन्छ । ‘सुरक्षाका दृष्टिले कुनै कार्यालय राख्न मिल्दैन । व्यापारिक प्रयोजनका लागि निर्माण गरिएको हो । नगरपालिकाको समेत लगानी छ । त्यसलाई उपभोगमा ल्याउने विकल्प खोज्नैपर्छ,’ उपप्रमुख सुवेदीले भनिन् । राजस्व उपशाखा प्रमुख प्रशासकीय अधिकृत सुशीला थापा बसपार्कका सटरहरू भाडामा नजाने समस्या रहेको बताउँछिन् । उनका अनुसार जतिपटक सूचना आह्वान गरेपनि भाडामा बिक्दैनन् । त्यसले गर्दा नगरपालिकालाई घाटा भइररहेको उनको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्