धनगढी ।
सुदूरपश्चिमका विभिन्न जिल्लामा भइरहेको एमालेको ११औँ अधिवेशनमा प्रतिनिधि छनौटका क्रममा विवाददेखि जनप्रतिनिधिहरू पराजयसम्मका घटना देखिएका छन् । शनिबारदेखि सुरु भएको प्रतिनिधि छनौटका क्रममा बझाङमा असन्तुष्टि पोख्दै तीन सूची सार्वजनिक भएको छ भने बैतडीमा सहमतिका नाममा गाउँपालिका अध्यक्षले नै एमाले परित्याग गरेको घटना सार्वजनिक भएको हो ।
बझाङमा ११ जना प्रतिनिधि छनौट गरिएको भन्दै छुट्टाछुट्टै सूची सार्वजनिक गरिएको छ । निर्वाचन कमिटीले दुई तथा जिल्लामा रहेका केन्द्रीय सदस्यले एउटा सूची सार्वजनिक गरेका छन् । तीनवटै सूची १३ गतेको मिति राखेर आइतबार मात्रै सार्वजनिक गरिएको हो । निर्वाचन कमिटीका संयोजक राजेन्द्रप्रसाद जोशीद्वारा सार्वजनिक पहिलो सूचीमा खुला प्रतिनिधिमा दिलबहादुर भण्डारी, एलबी रावल, लालबहादुर खड्का, दमनबहादुर भण्डारी र जनकराज जोशीको नाम छ ।
यस्तै, महिलाबाट डोलमा तामाङ, जानकी बोहरा र भागरथी सिंह, युवाबाट पंकज भण्डारी तथा दलित क्लस्टरबाट आनन्दलाल विक र शंकर रसाइलीको नाम छ । यस्तै जिल्लामा रहेका तीनजना केन्द्रीय सदस्य भैरबहादुर सिंह, अफिलाल ओखेडा र आशा बिकले पनि अर्को सूची सार्वजनिक गरेका छन् । जसमा खुलातर्फ पदमबहादुर धामी, प्रकाश रोकाया, गोकुलबहादुर सिंह, राकेशबहादुर सिंह र पुरनबहादुर धामीको नाम छ ।
यस्तै भागिरथी सिंह, देवकी जोशी र निशा धामीलाई महिला, गणेशराज जोशीलाई युवा तथा दिनेश नेपाली र कृष्णबहादुर सार्कीलाई दलित क्लस्टरबाट छनौट गरेर सिफारिस गरिएको उल्लेख छ । निर्वाचन कमिटीकै संयोजक जोशीद्वारा हस्ताक्षरित अर्को सूचीमा तीनजना केन्द्रीय सदस्यले सार्वजनिक गरेको सूचीकै नाम उल्लेख छ ।
संयोजक जोशीले सार्वजनिक गरेको दुवै सूचीमा नाम उनकै भए पनि हस्ताक्षर फरक छ । यसबारे निर्वाचन कमिटीका संयोजक जोशीलाई सम्पर्क गर्दा उनको मोबाइल स्वीच अफ गरिएको छ । एमाले बझाङका नेताहरूका अनुसार नेताहरू ऐन महर र भैरबहादुर सिंहको शक्ति संघर्षले प्रतिनिधि छनौटमा पनि विवाद देखिएको हो । दुवै नेता केन्द्रमा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका हुन् ।
बैतडीमा पालिका अध्यक्षले छोडे एमाले
एमालेको ११औँ महाधिवेशनका लागि बैतडीमा सर्वसम्मत भनिएको प्रतिनिधि छनौट विवादित भएको छ । प्रतिनिधि छनौट गर्दा सर्वसम्मतको नाममा गुटगत चलखेल गरेको आरोप लगाउँदै गाउँपालिका अध्यक्षले नै एमाले परित्याग गरेको घोषणा गरेका छन् । जिल्लाको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
उनी पार्टीको प्रदेश सल्लाहकार समिति सदस्य हुन् । ‘आजदेखि नेकपा एमाले बैतडी पार्टीको जिम्मा लिलाधर भट्टलाई तथा गाउँपालिका पार्टीको जिम्मा बिना भट्ट र रामसिंह पुजारालाई हस्तान्तरण गर्दै म आफू नेकपा एमाले पार्टी परित्याग गरेको घोषणा गर्दछु,’ चन्दले भनेका छन्। लिलाधर एमालेका केन्द्रीय सदस्य हुन् भने बिना एमालेबाटै विजयी गाउँपालिका उपाध्यक्ष तथा पुजारा वडाध्यक्ष हुन् ।
पार्टी परित्याग गरेको घोषणा गरेका चन्द एमालेबाट पञ्चेश्वरको अध्यक्षमा २०७४ र २०७९ सालको निर्वाचनमा विजयी भएका थिए । उनले लिलाधर र पूर्वमन्त्री दामोदर भण्डारीले आफूलाई प्रतिनिधि नै बन्नबाट रोक लगाइएको आरोप लगाएका छन् । उनले आफूले प्रतिनिधिका लागि उम्मेदवारी दिए पनि सहमतिका नाममा आफ्नो नाम हटाइएको पनि बताएका छन् ।
‘यो पार्टीभित्रको चरम गुटबन्दी, चाकरी र झोले प्रथाले बेलाबेलामा उकुसमुकुस हुन्थ्यो,’ चन्दले भनेका छन्, ‘पार्टीभित्रको निरङकुशताकाविरुद्ध बेलाबेला लडिरहेँ । तर, सकेन ।’ एमाले बैतडीले विवाद जारी रहे पनि १५ जना सर्वसम्मत प्रतिनिधि छनौट गरिएको भन्दै शनिबार नै सूची सार्वजनिक गरेको थियो ।
धनगढीकी उपमेयर पराजित
धनगढी उपमहानगरपालिका उपमेयर कन्दकलाकुमारी राना महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छन् । नेकपा एमालेको एघारौँ महाधिवेशन प्रतिनिधि उनी कैलाली क्षेत्र नम्बर ५ बाट पराजित भएकी हुन् । उनी महिला क्लस्टरबाट उम्मेदवार थिइन् । अम्बिका विष्ट ५९१ मतसहित र रुकमणी देवकोटा ५७१ मतसहित महाधिवेशन प्रतिनिधि निर्वाचित हुँदा उपमेयर रानाले सबैभन्दा कम मत पाइन् ।
उनले ३८३ र अर्की उम्मेदवार उम्मेदवार जानकी चौधरीले ४४५ मत मात्र पाए । कैलाली क्षेत्र नम्बर ५ बाट खुलातर्फ धर्मराज पाठक, नेपालु चौधरी, विष्णुकुमार चन्द र यज्ञराज ढुंगाना महाधिवेशन प्रतिनिधि चयन भएका छन् । युवातर्फबाट तिर्थराज भट्टराई चयन भएका छन् ।
सुदूरपश्चिमका १५ क्षेत्रमा प्रतिनिधि चयन
नेकपा एमालेको ११औँ महाधिवेशनको लागि सुदूरपश्चिम प्रदेशका १५ निर्वाचन क्षेत्रमा प्रतिनिधि चयन भएका छन् । प्रदेशका ९ जिल्लामा रहेका १६ निर्वाचन क्षेत्रमध्ये डोटीबाहेकका १५ निर्वाचन क्षेत्रमा प्रतिनिधि चयन भइसकेको एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले जनाएको छ । डोटीमा सर्वसम्मत चयन गर्न नेताहरू छलफलमा रहेका छन् ।
बझाङबाहेक एमालेले प्रदेशका १४ मध्ये ९ क्षेत्रमा सर्वसम्मत र पाँचमा भने निर्वाचन प्रक्रियामार्फत प्रतिनिधि चयन गरेको छ । कैलाली क्षेत्र नम्बर १, ४ र ५ तथा कञ्चनपुर क्षेत्र नम्बर १ र ३ मा मतदान प्रक्रियामार्फत प्रतिनिधि चयन भएका छन् । यी क्षेत्रमा नेताहरूले छुट्टाछुट्टै समूह बनाएर प्रतिस्पर्धा गरेका थिए । कैलालीमा दलित कलस्टरतर्फका तीनजना प्रतिनिधि सर्वसम्मत चयन गर्न छलफल भइरहेको नेताहरू बताउँछन् ।









प्रतिक्रिया दिनुहोस्