नेपालगन्ज ।
बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले क्यान्सर सम्बन्धि चिकित्सक सम्मेलन आयोजना गर्ने भएको छ । क्यान्सर अस्पतालले मस्कुलोस्केलेटल अंकोलोजी सोसाइटी अफ नेपाल (मोसन) नेपाल र नेपाल अर्थोपेडिक एशोसियसन (नोए) वेष्टर्न च्याप्टरको सहकार्यमा यही मंसिर २६ र २७ गते उक्त सम्मेलन गर्न लागेको हो । सम्मेलनमा हड्डी, मांसपेशी तथा छाला सम्बन्धि क्यान्सरका विशेषज्ञ चिकित्सकहरू सहभागी हुने आयोजक समितिका अध्यक्ष एमएसके अंकोसर्जन डा. गोपाल पौडेलले जानकारी दिए ।
खजुरामा उद्घाटन गरी नेपालगन्जमा कार्यपत्र प्रस्तुत कार्यक्रम गर्ने कार्यक्रम तय गरिएको पौडेलले बताएका छन् । पौडेलले बाँके र आसपासका जिल्लाका सर्जन, प्याथोलोजिष्ट, अर्थोपेडिक्स, रेडियोलोजिष्ट, मेडिकल अंकोलोजिष्ट तथा रेडियसन अंकोलोजिष्टलाई अस्पतालको सेवाका बारेमा जानकारी दिने र हड्डी, मांसपेशी र छालासम्बन्धि क्यान्सरको नयाँ प्रविधि र अभ्यासका बारेमा छलफल र अनुभव साटासाट गर्ने उद्देश्य राखिएको जानकारी दिए ।
डा. पौडेलका अनुसार सम्मेलनमा नेपालगन्ज, दाङ, सुर्खेत, कोहलपुर, भरतपुर, विराटनगर र काठमाडौँमा कार्यरत क्यान्सर सम्बन्धि चिकित्सकको सहभागिता रहनेछ । सम्मेलनमा दुई सय जनाको सहभागिता रहने र सात देखि आठ लाख हाराहारीमा खर्च हुने अनुमान रहेको जानकारी दिइएको छ । सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका क्लिनिकल अंकोलोजिष्ट एवं आयोजक समितिका सचिव डा. मुकेश यादवले पश्चिम नेपालमै पहिलो पटक हुन थालेको यो सम्मेलनले अस्पतालको प्रचार प्रसार र सेवाकाबारेमा जानकारी दिने तथा चिकित्सकले खजुरामा बिरामी रिफर गर्ने आशा गरिएको बताएका छन् ।
क्यान्सर अस्पताल खजुरामा क्यान्सर सम्बन्धी प्रभावकारी उपचार हुनेगरेपनि अस्पतालको सेवाका बारेमा प्रभावकारी सूचना संप्रेशण हुन नसक्दा स्थानीय अस्पतालहरूले क्यान्सरको उपचारका लागि भरतपुर, भक्तपुर, लखनउ वा नयाँ दिल्ली जाने सल्लाह दिने गरेका छन् ।
खजुरा क्यान्सर अस्पतालमा अर्थो, फोक्सो, स्तन, घाँटी, पाठेघर, मांसपेशी, बाल क्यान्सरलगायतका क्यान्सरको शल्यक्रियासहित सबै क्यान्सर विरुद्ध केमो र रेडियो थेरापी हुने गरेको छ ।









प्रतिक्रिया दिनुहोस्