स्वस्थ जीवनको लागि स्वस्थ भोजनको आवश्यकता



अहिले हाम्रो भान्सामा विष पाकिरहेको हुन्छ । तर त्यतातिर हाम्रो ध्यान केन्द्रित छैन । हामीलाई पोषिलो होइन कि मिठो र स्वादिलो खाना चाहिन्छ । ट्वाक्क जिब्रोमा लाग्ने हुनुप¥यो । युवा पुस्ता चाउचाउ, चाउमिन, मम, पिज्जा, बर्गर, चटपटे, चाट, समोसा र विभिन्न प्रकारका मिठाइतिर आकर्षित छ । यी सबै खानेकुरा बाहिर होटेलमा गएर खानुको सट्टा घरमै बनाएर पनि खान सकिन्छ ।

चिन्तामणि घिमिरे

मानिसलाई बाँच्नको लागि खाना चाहिन्छ । बाँचेर मात्र पनि हुँदैन, स्वस्थ हुनुप¥यो । जीवन स्वस्थ राख्नका लागि स्वस्थ खाना चाहिन्छ । त्यति मात्रै कहाँ हो र हावापानी पनि स्वस्थ हुनुपर्छ । वातावरण पनि स्वस्थ हुनुपर्छ । यी सबै कुराको लागि ज्ञान चाहिन्छ । ज्ञानको लागि शिक्षा चाहिन्छ ।
सही शिक्षा र सही ज्ञानबिना मानिसले केही गर्न सक्दैन् । स्वस्थ हुनलाई कस्तो खाना खाने, के खाने कसरी खाने, कति खाने यी महत्त्वपूर्ण कुराहरू हुन् । वातावरण स्वस्थ राख्नको लागि के के गर्ने त्यता पनि ध्यान दिनुपर्छ । व्यक्ति स्वस्थ मात्र भएर हुँदैन, घर र घर वरिपरिको वातावरण पनि स्वस्थ हुनुपर्छ । दिनहुँ सरसफाइमा ध्यान दिनुपर्छ । ज्ञान किताब पढेर र शैक्षिक संस्थाबाट मात्र प्राप्त हुँदैन । किताबबाट प्राप्त हुने ज्ञान व्यवहारिक जीवनमा लागू भएन भने त्यसको कुनै अर्थ रहँदैन् । मानिसले जुन मात्रामा प्रकृतिसँगको संघर्षबाट प्राप्त गरेको ज्ञानले उसलाई आफ्नो जीवनयापन गर्न, अगाडी बढ्न र उसलाई हरेक क्रियाकलापमा सहजता ल्याउन सहयोग गरेको हुन्छ । मानिस प्रकृतिसँगको संघर्षको उपज हो र यो जीवहरूको विकासको पछिल्लो कडी हो । श्रम कै दौरानमा मानिस अहिलेको विकसित अवस्थामा आइपुगेको हो ।
मानिसले धर्तीमा पाइला टेकेपछि उसलाई सर्वप्रथम बाँच्नको लागि आहाराको आवश्यकता प¥यो । त्यो आहारा श्रम नगरिकन आफैँ मुखमा त्यत्तिकै आउने कुरा भएन । त्यसको लागि मानिसले रगत र पसिना बगाउनु पर्ने हुन्थ्यो । त्यही श्रम खर्चेर मानिसले बन्जर धर्तीलाई हराभरा बनायो ।

धर्तीमा थरीथरीका अन्न सब्जी र फलफूलहरू उत्पादन ग¥यो । उसले पसिना बगाएर उत्पादन गरेको अनाज, तरकारी र फलफूल जब बजारमा व्यापारीको हातमा पुग्छ, तब त्यो दैत्य व्यापारीले मिसावट गरेर नाफा कमाउने धन्दा गर्छ, जुन उपभोक्ताको स्वास्थ्यको लागि निकै हानिकारक मानिन्छ । तरकारी, अन्न र फलफूलहरू लामो समयसम्म टिकाउनको लागि घातक विषादीको प्रयोग गरिएको हुन्छ । उपभोक्ताको स्वास्थ्यलाई ख्याल गरेर सरकारीस्तरमा खाद्य सुरक्षासम्बन्धी ऐन, उपभोक्ता हकहितसम्बन्धी ऐनलगायत थुप्रै कानुनहरू बनेका हुन्छन् । तर ती व्यवहारमा लागू हुँदैनन् । बिचौलियाहरूले राज्यसत्ताको दोहन गरेर आफ्नो नाजायज फाइदा उठाइरहेका हुन्छन् । नेपालमा हरेक खाद्य वस्तुहरू चाहे आयात गरिएको होस् वा आन्तरिक उत्पादन होस् अत्यधिक मात्रामा विषादीको प्रयोग गरिएको पाइन्छ । उपभोक्ता आफैँले उत्पादन गरेमा ताजा खान पाउँछ । नत्र ऊ मिसावटको मारमा पर्छ । अहिले बजारमा पत्रु (जंक फुड) खानाको वर्चस्व हावी छ । हामी र नयाँ पुस्ता त्यही पत्रु खानाको शिकार भएको छ । अहिलेको यो नयाँ पुस्ता कलिलैमा विभिन्न रोगको शिकार पनि भएको छ । हामीकहाँ रैथाने ज्ञानको भण्डार छ र रैथाने खाना पनि तर त्यतातिर कसैको ध्यान जाँदैन । आधुनिकताको नाममा ज्यान नै जोखिम पार्न त हुँदैन नि ।

अहिले हाम्रो भान्सामा विष पाकिरहेको हुन्छ । तर त्यतातिर हाम्रो ध्यान केन्द्रित छैन । हामीलाई पोषिलो होइन कि मिठो र स्वादिलो खाना चाहिन्छ । ट्वाक्क जिब्रोमा लाग्ने हुनुप¥यो । युवा पुस्ता चाउचाउ, चाउमिन, मम, पिज्जा, बर्गर, चटपटे, चाट, समोसा र विभिन्न प्रकारका मिठाइतिर आकर्षित छ । यी सबै खानेकुरा बाहिर होटेलमा गएर खानुको सट्टा घरमै बनाएर पनि खान सकिन्छ । हाम्रो गाउँघरमा रैथाने अन्नबाली र सागसब्जीहरू अहिले पनि पाइन्छ । मकै, कोदो, फापर, जौ, जुनेलो, भटमास, लट्टे, गहुँ, गहत, सिमी र सागसब्जीमा स्थानीय रायोको साग, सिममा पाइने सिमे साग, निउरो, सिस्नोलगायत थुप्रै खाद्यान्न बाली तथा तरकारीहरू पाइन्छन् । यी खाद्यान्न तथा तरकारीहरू अत्यन्तै पोषिलो र स्वादिष्ट हुन्छन् । यी खानाहरूले बालबालिकाको वृद्धि विकासमा ठूलो सहयोग गर्छन् भने युवा र प्रौढका लागि पनि त्यत्तिकै लाभदायी मानिन्छन् । आजकल सहर बजारका साना ठूला सबै होटेलहरूमा कोदोको ढिँडो र फापरको रोटी पाक्न थालेको छ । भातभन्दा कोदो र फापरको खाना अत्यन्त महँगोमा बिक्छ । तर हाम्रो गाउँघरमा बजारको कुहिएको चामलको भात पाक्छ । नजिकको तिर्थ हेला भने झैँ औषधिय गुणहरू भएको हाम्रो आफ्नै मौलिक पोषिलो खानालाई हेला गरेर बजारिया कृत्रिम रमझमतिर आकर्षित हुनुपर्ने कुनै आवश्यकता छैन ।

स्वस्थ भोजनको अभावमा मानिस रोगी बन्दछ । साना बाबुनानीहरू कलिलो उमेरमै विभिन्न रोगको शिकार भएको पाइन्छ । सानो उमेरमै चस्माको प्रयोग गर्नु, मधुमेह रोग र थाइरोइड रोगको शिकार बन्नु निश्चयरूपमा खानपिन र जीवनशैलीमा देखापरेको असन्तुलन नै हो । श्रम–संस्कृतिको पालना गर्ने हो भने र सन्तुलित आहार उपभोग गर्ने हो भने मानिस निरोगी बन्छ । शारीरिक श्रमलाई दैनिक व्यवहारमा लागू गर्नुपर्छ। कमसेकम आफूले खाने तरकारी आफ्नै करेसाबारीमा उत्पादन गर्न त सकिन्छ नि । हामीभन्दा अघिल्लो पुस्ता अर्थात् हाम्रा बा आमाको पुस्ताले यस्तो बजारिया पत्रु खानाको सामना गर्नुपरेन । रुघाखोकी लाग्दा तुल्सी राखेर पकाएको पानी पिउँदा रुघाखोकी मात्र होइन कि ज्वरोसमेत ठिक हुन्थ्यो । यति मात्र होइन टोप्रे भन्ने एउटा झार अथवा वनस्पति हुन्छ त्यसले खोकी लागेको बेला छनक्कै पाथ्र्यो । सर्दी लागेको बेला टिमुर राखेर पकाएको झोल पिउँदा सर्दी भाग्थ्यो । भटमासलाई गरिबहरूको मासु पनि भन्दछन् । मासुमा भन्दा बढी प्रोटिन भटमासमा पाइन्छ । भटमास मासुभन्दा सस्तो पनि पर्दछ । गाउँघरमा खाजाको रूपमा भटमास र मकै भुटेर खाने चलन अझै पनि छ । जुन अति पोषिलो मानिन्छ । कोदो र फापरलाई उत्कृष्ट पौष्टिक तत्व भएको अन्नको रूपमा बुझिन्छ । त्यस्तै आलस र तिलमा पनि उत्कृष्ट पौष्टिक तत्व पाइन्छ । हामीकहाँ पाइने दालचिनी चिया र मसलाको रूपमा प्रयोग गर्दा प्रेसर र सुगरलाई नियन्त्रण गर्ने गरेको पनि पाइन्छ । सिस्नोको तरकारी वा खाना जे बनाएर खाएपनि शारीरिक तन्दुरुस्तीको लागि अब्बल नै ठहरिन्छ ।

हामीलाई थाहा नभएको र हाम्रो जानकारीभन्दा बाहिर रहेका थुप्रै खाद्यान्न तथा अन्नबाली र सागसब्जी तथा वनस्पतिहरू छन् जो हाम्रो शरीरका लागि बहुउपयोगी ठहरिन्छन् । त्यातातिर हाम्रो ज्ञानको पहुँच छैन । हामीसँग जेजति उपलब्ध छ त्यसैलाई उपयोग र उपभोग गरेर स्वस्थ र सन्तुलित जीवनयापन गर्न सकिन्छ । राज्यले गर्देला कि भनेर आस नगरौँ, राज्य आमजनताको लागि होइन, यो दलाल र फटाहाका लागि हो ।
राज्यसत्तामा बिचौलियाहरूको राइँदाइँ चलेको छ । उनीहरूलाई जनतासँग कुनै मतलब हुँदैन । जनता शिक्षित र सचेत भएमा मात्र आफ्नो अधिकारलाई सही ढंगले प्रयोग गर्न सक्छन् नत्र कुहिरोको काग झैँ हराउने कुरा हुन्छ । सचेत मानिसले मात्र आफ्नो जीवनलाई कसरी स्वस्थ राख्ने भन्ने कुरामा निकै ख्याल गरेका हुन्छन् । तसर्थ अर्गानिक खानामा जोड दिउँ, बजारिया पत्रु खानाबाट सतर्क रहौँ । सचेत बनौँ र स्वस्थ रहौँ।

  • No tags available
प्रकाशित मिति : २०८२ मंसिर ७ गते आइतबार