बाँसगढी ।
बर्दियाको बाँसगढी नगरपालिकामा चौथो बाँसगढी नगरपालिका वडास्तरीय महिला तथा पुरुष खेलकुद प्रतियोगिता सुरु भएको छ । नगर खेलकुद विकास समिति बाँसगढीको आयोजनामा प्रतियोगिता सुरु भएको हो । बाँसगढी नगरपालिका वडा नम्बर ४ स्थित मगरपुर कवर्डहलमा सुरु भएको प्रतियोगिताको नगरप्रमुख खड्क बहादुर खड्काले उद्घाटन गरे ।
उनले पानसमा बत्ती बाल्दै प्रतियोगिताको भव्य समारोहकाबीच उद्घाटन गरेका थिए । उद्घाटन समारोहका प्रमुख अतिथिसमेत रहेका नगरप्रमुख खड्काले खेलकुदको विकासका लागि यस्ता प्रतियोगिता आवश्यक रहेको बताए । उनकाअनुसार बाँसगढी नगरपालिकाले खेलकुद क्षेत्रको विकासलाई प्राथमिकता दिएको छ । सोही अनुसार हरेक वर्ष वडा कप र मेयर कप सञ्चालन हुँदै आएको उनको भनाइ छ ।
सो अवसरमा बोल्दै नगरप्रमुख खड्काले वडा नम्बर ४ स्थित खेलकुद मैदानलाई पालिकास्तरीय रंगशालाको रूपमा विकास गरिने बताएका थिए । यस्तै उनले पालिकास्तरका विपन्न तथा क्षमतावान खेलाडीहरूलाई नगरपालिकाले कक्षा १२ सम्म निःशूल्क पढाउनेसमेत बताए । ‘हामीले खेलकुदलाई प्राथमिकतामा राखेका छौँ । ग्रासरुट प्रतियोगितालाई जोड दिइएको छ ।
सबै खालका खेलकुदका माध्यमबाट बाँसगढीलाई चिनाउन आवश्यक छ । खेलकुदको नगर निर्माणका लागि सबैले हातेमालो गरौँ,’ उनले भने। चौथो बाँसगढी नगरपालिका वडास्तरीय महिला तथा पुरुष खेलकुद प्रतियोगिताको पहिलो दिन दुई खेल भएका थिए । शुक्रबार आयोजित पुरुष फुटबल प्रतियोगितामा वडा नम्बर २ र वडा नम्बर ६ बीच सम्पन्न भएको थियो । पहिलो खेलमा १ गोल अन्तरले वडा नम्बर ६ विजयी भएको छ । यस्तै पुरुष भलिबल खेलमा वडा नम्बर ६ लाई पराजित गर्दै वडा नम्बर ५ विजयी भएको छ ।
मंसिर ८ गतेसम्म सञ्चालून हुने प्रतियोगितामा आजदेखि सम्पूर्ण खेल हुनेछन् । प्रतियोगितामा नगरपालिकाका ९ वडा र साविक ३ गाविसका गरी महिला÷पुरुष फुटबल, भलिबल र कबड्डीका ३६ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा साढे तीन सय बढी खेलाडीले सहभागिता जनाएका छन् । चौथो बाँसगढी नगरपालिका वडास्तरीय महिला तथा पुरुष खेलकुद प्रतियोगिता मंसिर ८ गतेसम्म सञ्चालन हुनेछ ।









प्रतिक्रिया दिनुहोस्