सांसदहरूको प्रश्नको सामना गर्दै प्रधानमन्त्री



शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

आवाज बोल्ने बालेन र आदेश दिने बालेन्द्रको परिचय बनाउँदै देशको प्रमुख कार्यकारी पदमा पुगेका पात्र हुन्,– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) । पूर्व ‘भूमिगत ¥यापर’, स्ट्रक्चरल इन्जिनियर र काठमाडौँ महानगरका नगरप्रमुख हुँदै २०८२ भदौ २३ र २४ को जेनजी विद्रोहको बलमा जनताबाट प्रत्यक्ष रूपमा अनुमोदित भएर सत्तामा पुगेका हुन् उनी । उनी २०८२ फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा झापा–५ बाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई ४९ हजारभन्दा बढी मतान्तरले हराउँदै विजयी भएका थिए ।

निर्वाचनपश्चात् प्रतिनिधिसभाको सबैभन्दा ठूलो र एकल बहुमतप्राप्त दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको नेताको हैसियतमा २०८२ चैत १३ गते प्रधानमन्त्री नियुक्त भए । नेपालको संविधान २०७२ जारी भएपछि नेपालको संविधानको धारा ७६ को १ बमोजिम नियुक्त हुने उनी पहिलो प्रधानमन्त्री हुन् । मधेशी समुदायका व्यक्ति नेपालको प्रधानमन्त्री बन्ने इतिहास रचेका बालेनले सत्ता सम्हालेको आज ठिक चार महिना २७ दिन पुग्दैछ ।

प्रधानमन्त्री बनेपछि सातौँपटक प्रतिनिधिसभामा उपस्थित हुँदै उनी ११ सांसदका प्रश्नको सामना गर्दैछन् । २०८२ फागुन २१ को चुनावपछि बालेनको नेतृत्वमा सरकार बनेपछि चैत १९ बाट सुरु भएको संसद्को पहिलो अधिवेशन चैत २७ गतेसम्म नौ दिन मात्रै चलेको थियो । पहिलो अधिवेशनमा २०८२ चैत १९, २२ र २७ गतेको बैठकमा उपस्थित भएका छन् उनी । २०८३ वैशाख २८ देखि असार १८ गतेसम्म २६ दिन चलेको दोस्रो (बजेट) अधिवेशनको क्रममा संसद्मा ३० वटा बैठक बसेका थिए ।

सो दिन संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३–०८४ को नीति तथा कार्यक्रमका बीच नीति तथा कार्यक्रम पूरै नसुनी संसद्बाट बाहिरिए । त्यसपछि जेठ २ र १७ को बैठकमा मात्रै उपस्थित भएको रेकर्ड छ । जेठ १७ को संसद् बैठकमा नेपाल भारत सीमासम्बन्धी गैरजिम्मेवार कुटनीतिक अभिव्यक्ति दिएको २ महिना २३ दिनपछि बल्ल संसद्मा उपस्थित हुन लागेका हुन् ।

प्रधानमन्त्री बालेनलाई संसद्मा बोलाउन नेपालको संसदीय इतिहासमा पहिलोपटक सभामुख डोलप्रसाद अर्यालले २०८३ भदौ १ गतेको प्रतिनिधिसभामार्फत रुलिङ मात्रै गरेनन् भदौ १० गते अर्थात् आजका लागि प्रधानमन्त्रीसँग प्रश्नोत्तरको समयसीमा नै तोके । शाह प्रधानमन्त्री बनेपछि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुन लागेको यो पहिलोपटक हो । प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमसम्बन्धी व्यवस्था छ । नियमावलीको व्यवस्थाअनुसार प्रधानमन्त्री वा उनको कार्यक्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्न सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको एक दिन बैठकको पहिलो एक घण्टा निर्धारण गर्ने व्यवस्था छ ।

६ दलका ११ सांसदले सोध्दैछन् प्रश्न 

बुधबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहलाई ६ वटा राजनीतिक दलका ११ सांसद प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुनेछन् । प्रश्न सोध्नेमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी र पाँचवटा प्रतिपक्ष दलका सांसद छन् । बालेनलाई ११ जनामध्ये ४ जना महिला र ७ जना पुरुष सांसदले प्रश्न सोध्ने छन् । तीमध्ये प्रश्न सोध्नेमा ३ जना समानुतिक र ८ जना सांसद प्रत्यक्ष निर्वाचित हुन् । संसद् सचिवालयका अनुसार सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू समीक्षा बास्कोटा, कृष्णहरि बुढाथोकी र अमरेशकुमार सिंहले प्रश्न सोध्दैछन् ।

बास्कोटा समानुपातिक र बुढाथोकी र सिंह प्रत्यक्ष निर्वाचित सांसद हुन् । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसकी प्रमुख सचेतक बासना थापा र सांसद गीता गुरूङले प्रश्न सोध्ने भएका छन् । थापा प्रत्यक्ष निर्वाचित र गुरुङ समानुपातिक सांसद हुन् । नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महर र सांसद गणेश सिंह ठगुन्नाले प्रश्न सोध्ने गरी नाम टिपाएका छन् । उनीहरू दुवैजना प्रत्यक्ष निर्वाचित सांसद हुन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुन र प्रमेशकुमार हमालले प्रश्न सोध्नेछन् । पुन प्रत्यक्ष निर्वाचित र हमाल समानुपातिक सांसद हुन् ।

श्रम संस्कृति पार्टी संसदीय दल नेता हर्कराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले प्रश्न सोध्नेछन् । राई प्रत्यक्ष निर्वाचित र ओली समानुपातिक सांसद हुन् । ११ जना सांसदले यसअघि नै सोध्न चाहेको प्रश्न संसद् सचिवालयमा दर्ता गरिसकेका छन् । प्रधानमन्त्रीलाई प्रश्न सोध्नको लागि भदौ १ गतेको प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्याल (डीपी)ले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका लागि समय तोकेका थिए ।

प्रधनमन्त्रीलाई प्रश्न सोध्न चाहने सांसदहरूलाई भदौ ५ गतेभित्र प्रश्न दर्ता गर्न समय दिइएको थियो । प्रधानमन्त्रीलाई १५ जनासम्मले प्रश्न सोध्न सक्ने व्यवस्था भएपनि ११ जना सांसदले प्रश्न दर्ता गरेका हुन् । प्रश्नोत्तर कार्यक्रमका लागि प्रतिनिधिसभा नियमावलीको दफा ५९ मा यस्ता प्रश्नमा सर्त लागू हुने व्यवस्था छ । जसअनुसार प्राप्त प्रश्न स्वीकारयोग्य छ वा छैन भन्ने कुराको निर्णय सभामुखले गर्नेछन् ।

प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी अन्य कार्यविधि सभामुखबाट निर्धारण भएबमोजिम हुनेछ । दफा ६० अनुसार यस परिच्छेदअन्तर्गत दिइएको जवाफको सम्बन्धमा सभामा कुनै छलफल नहुने व्यवस्था रहेको छ । संसद् सचिवालयका अनुसार सांसदहरूले प्रधानमन्त्रीलाई राष्ट्रियताको सन्दर्भ, सीमानासम्बन्धी विषय, सरकारको कामकारबाही र त्यसका शैलीमा प्रश्न गर्नेछन् ।

‘कालो चस्मा’मै उपस्थित हुनेछन् प्रधानमन्त्री 

प्रधानमन्त्री भएपछि पहिलोपटक सांसदहरूको प्रश्नको सामना गर्न प्रतिनिधिसभामा उपस्थित हुँदा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) कालो चस्मा लगाएरै उपस्थित हुनेछन् । बुधबारको प्रतिनिधिसभाको बैठकमा उपस्थित हुँदा सांसदहरूसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा उनी कालो चस्मा लगाएरै संसद्मा जाने भएका हुन् । २०८३ साउन २१ गतेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख अर्यालले सांसदहरूले कालो चस्मा लगाउने गरेको विषयमा बारम्बार प्रश्न उठ्ने गरेकोले अबदेखि लगाउन नपाइने बताएका थिए ।

संसद्मा कालो चस्मा प्रयोग गर्न नमिल्ने र प्रयोग गर्नैपरेमा मेडिकल रिपोर्ट संसद् सचिवलायमा बुझाउनुपर्ने निर्णय गरिएको थियो । सोहीअनुसार प्रधानमन्त्री शाहले प्रतिनिधिसभाको बैठकको अघिल्लो दिन नै रिपोर्ट सचिवालयमा दिएका हुन् । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार कालो चस्मा प्रयोग गर्न आवश्यक रहेको विषयमा प्रधानमन्त्री शाहले अस्पतालको रिपोर्ट पहिले नै पठाएका छन् । प्रधानमन्त्रीले नेपाली सेनाको छाउनीस्थित सैनिक अस्पतालमा २२ साउनमा आँखा परीक्षण गराएका थिए । उनको आँखा लेफ्टिनेट कर्णेल डा. सचित ढकालले परीक्षण गरेका थिए । रिपोर्टमा उज्यालोमा हेर्न असहज भएकोले कालो चस्मा लगाउनुपर्ने उल्लेख छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ भदौ १० गते बुधबार