फुटबलर जन्माउँदैछन् गाउँ



जुम्लाका स्थानीय प्रतियोगितामा सबैभन्दा बढी रुचाइएका खेलाडी हुन्, सुनिल थापा मगर र रुविन भण्डारी । पछिल्लो पुस्ताका अविशेक खत्री, विशाल महत लगायतका खेलाडी निकै रुचाइएका छन् । उसो त, योद्ध शाही, धर्मेन्द्र कुँवर र सन्तोष खत्री राष्ट्रियस्तरमा खेलिरहेका जुम्लाका खेलाडी हुन् । पछिल्लो समय जुम्लामा फुटबलको लोभलाग्दो क्रेज बढ्दो अवस्थामा छ ।

शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

विश्वमा सबैभन्दा धेरै हेरिने खेल हो, फुटबल । विश्वमा युरोपमा सबैभन्दा धेरै फुटबल खेलिन्छ, हेरिन्छ । एसिया युरोपभन्दा फुटबलमा पछि नै छ। अहिले युरोप फुटबलमय छ । च्याम्पियन लिग, लालिगा जस्ता बहुचर्चित लिगहरू चलिरहेका छन् । यता, विश्वको समकालीन फुटबलका लेजेण्ड क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी जस्ता खेलाडी भने युरोप बाहिर जमिरहेका छन् । मेस्सी अमेरिकामा व्यावसायिक फुटबल खेलिरहेका छन् । रोनाल्डो साउदी अरबमा छन् ।

एसियाली मुलुक सारदी अरबमा रोनाल्डो अलवा करिम बेन्जेमा, साड्रियो माने र जाओ फिल्लिक्स जस्ता खेलाडी छन् । नेइमार जुनिएर भने ब्राजिलमा फुटबल खेल्छन् । विश्वभरको फुटबलको विकास युरोपभन्दा एसियालमा कम छ । एसियामा पनि दक्षिण एसियामा फुटबलको विकास हुने क्रममा छ । जसमा भारत बंगलादेश र नेपाल जस्ता देश फुटबलमा केही अघि छन् । पछिल्लो समय भारत र बंगलादेशको फुटबल विकास धेरै भएको छ । नेपाली फुटबलमा भने निकै धेरै समस्या छ ।

फुटबल विकासमा सरकारी उदासीनता, राजनीतिकरण र खेलाडी पलायनको समस्या भोगिरहेको छ नेपाली फुटबलले । क्रिकेटमा नेपालले जसरी एकपछि अर्को सफलता प्राप्त गरिरहेको छ, फुटबलमा भने अपेक्षाकृतरूपमा फुटबलको विकास गर्न सकेको छैन । समग्र फुटबल विकासमा राज्य नै नीतिगतरूपमा अघि बढ्नुपर्ने देखिन्छ । राष्ट्रियस्तरमा फुटबलप्रतिको क्रेज घटिरहेका बेलामा देशका कुनाकन्दरामा भने फुटबलप्रतिको मोह बढ्दो अवस्थामा छ ।

कर्णालीका विभिन्न जिल्लामा स्थानीयस्तरमा हुने गरेका प्रतियोगितामा नयाँ–नयाँ प्रतिभाहरू उत्पादन गर्न सहयोगी भूमिका खेलिरहेका छन् ।त्यसको पछिल्लो उदाहरणका रूपमा जुम्लालाई लिन सकिन्छ । जुम्लामा सिजनलरूपमा फुटबल प्रतियोगिता हुने गरेका छन् । ती प्रतियोगितामा टिमहरूको सहभागिता, खेलाडीहरूको प्रदर्शन र दर्शकहरूको सहभागिताले जुम्लामा फुटबलको क्रेजमा बढ्दो क्रममा रहेको देखाउँछ । यो वर्ष दसैँ तिहारको समयमा जुम्लामा आधा दर्जन फुटबल प्रतियोगिता सञ्चालन भए । ती प्रतियोगितामा फुटबलप्रतिको क्रेज कत्तिको छ भन्ने उदाहरण पेश गरेको छ ।

दसैँको अवसरमा जुम्लाको तातोपानी गाउँपालिका वडा नम्बर ४ मा जिल्लास्तरीय खुला पुरुष फुटबल प्रतियोगिता सञ्चालन भएको थियो । स्थानीय गिडी दश युवा क्लबले आयोजना गरेको प्रतियोगितामा ३३ टिमको सहभागिता थियो । प्रतियोगिता प्रस्तावित तातोपानी रंगशालामा सफलतापूर्वक सम्पन्न भयो । प्रतियोगितामा सामान्य विवादबाहेक सौहार्दपूर्ण वातावरणमा खेल सम्पन्न भएको हो । उक्त प्रतियोगिताले जिल्लामा छुट्टै छाप छोड्न सफल भएको छ ।

जिल्लामा हुने प्रतियोगितामा जहिल्यै बजारीया टोलीहरू हावी हुने गर्दथे । वडा नम्बर ४ को स्थानीय टिमले जुम्लामा स्टार खेलाडी सम्मिलित टोलीसँग फाइनलमा प्रतिस्पर्धा ग¥यो, जहाँ स्थानीय फुटबलमा नामै नसुनिएका खेलाडीहरू थिए । उनीहरूको खेल प्रदर्शनमा दर्शकहरूले खुलेरै प्रशंसा गरे । जहाँ फाइलन खेल हेर्न मात्रै अनुमानित दश हजार दर्शक उपस्थित भएका थिए । वडा नम्बर ४ का निवर्तमान वडाध्यक्ष धिरज जैसी भन्छन्, ‘गाउँमा फुटबलको लोभलाग्दो विकास भएको छ ।

फुटबल गाउँ छिरेको छ । गाउँले अब फुटबलर जन्माउँदैछन् ।’ उनले वडा नम्बर ४ मा सुविधासम्पन्न फुटबल रंगशाला निर्माणको योजना अघि सारेको बताए । स्थानीय सरकारले समेत जिल्लामै सुविधासम्पन्न फुटबल रंगशाला निर्माण गर्न ठोस कदम चाल्नुपर्ने बताएका छन् । अझ स्मरणीय के छ भने, जुम्लामै दुई जना फुटबल प्रेमीहरूको आयोजनामा २० वर्षमुनिकाहरूले मात्रै खेल्न पाउनेगरी ‘अन्डर २०’ कप फुटबल आयोजना भएको थियो । उक्त प्रतियोगितामा मात्रै १२ वटा टिमले सहभागिता जनाएका थिए ।

स्थानीय सरकारले समेत फुटबलको विकासमा क्रियाशीलता देखाउन नसकेको अवस्थामा त्यस्ता प्रतियोगिताले फुटबल विकासमा योगदान गरेको बताउँछन् तातोपानी–२ का स्थानीय सागर परियार । उनका अनुसार स्थानीय र वडा सरकारले फुटबल विकासमा ध्यान दिन सकेका छैनन् । तर केही व्यक्तिहरूले फुटबलको विकासमा योगदान गरिरहेका छन् । यस्ता प्रतियोगितालाई उदाहरणीयरूपमा लिनुपर्छ । उनले जुम्लामा पछिल्लो समयमा गाउँस्तरमा फुटबलको क्रेज बढेको बताए ।

स्थानीय सरकारले फुटबलमा लगानी गर्न सके भविष्यमा राम्रो प्रतिफल प्राप्त हुने उनको विश्वास रहेको छ । चन्दननाथ नगरपालिका वडा नम्बर ३ को आयोजनामा जिल्लास्तरीय खुला पुरुष फुटबल प्रतियोगिता सञ्चालन भएको थियो । वडा सरकारको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको अहिले प्रि क्वाटर फाइनल संस्करण सञ्चालन केही दिनअघिमात्रै सम्पन्न भएको थियो । प्रतियोगितामा जिल्लामा कूल ४४ वटा टिमको सहभागिता भए ।

जुम्लामा हालसम्म सञ्चालन भएका कुनैपनि प्रतियोगितामा सबैभन्दा धेरै टिमको सहभागिता जनाएको यो नै पहिलो फुटबल प्रतियोगिता हो । कुनै समयमा फुटबल प्रतियोगिता नै सञ्चालन गर्न नसकिने अवस्था रहेको जुम्लामा ४४ वटा टोलीको सहभागितालाई लिएर जुम्लामा बहस नै चलिरहेको छ । प्रतियोगिता आयोजक वडाका वडाध्यक्ष रतन खत्री नै प्रतियोगितामा यतिधेरै टिमको सहभागिताको कल्पना नै नगरेको बताउँछन् । फुटबलको विकास, आपसी एकता र भातृत्वका लागि प्रतियोगिता आयोजना गरिएको उनको भनाइ छ ।

उनका अनुसार स्थानीयस्तरमा लुकेर रहेका प्रतिभाहरूको खोजी गर्नको लागि वडाले प्रतियोगिताको आयोजना गरिएको हो । ‘प्रतियोगिता मनोरञ्जनका लागि मात्र नभएर फुटबलको विकास गर्नको लागि महत्वपूर्ण हुने विश्वास गरेका छौँ । प्रतियोगिता समाप्तिपछि समीक्षा हुनेछ । प्राप्त सुझावका आधारमा आगामी दिनमा अघि बढ्नेछौँ,’ उनले भने । सामान्यता जुम्लामा विगतका वर्षहरूमा फुटबल प्रतियोगिता हुँदा झगडा हुने गरेका थिए । पछिल्ला वर्षहरूमा भने झगडाकै कारण प्रतियोगिता रोक्नुपर्ने अवस्था सिर्जना हुन छोडेको छ ।

फुटबलप्रेमी महेश रावल जिल्लामा आयोजना हुने प्रतियोगिता विवादरहित हुनु फुटबल विकासको प्रारम्भिक चरण भएको बताउँछन् । उनका अनुसार पछिल्लो समय जुम्लामा राम्रा खेलाडी उत्पादन भएका छन् । फुटबलप्रतिको क्रेज बढेको ती प्रतियोगितामा उल्लेख्यरूपमा उपस्थित हुने दर्शकहरूको सङ्ख्या हेर्दा नै थाहा हुने उनले बताए । नयाँ र प्रतिभावान खेलाडीहरूले दर्शक तानेको उनको भनाइ छ । दर्शकको जोसले खेल झन रमाइलो हुने गरेको उनले बताएका छन् । जुम्लामा फुटबलको विकासका लागि स्तरीय रंगशाला आवश्यक रहेको र राज्यको लगानी आवश्यक रहेकोमा रावलले जोड दिए ।

जुम्लामा खेलाडी ः गाउँको माटोदेखि राष्ट्रिय टिमसम्म

जुम्लमा सञ्चालन हुने स्थानीय प्रतियोगितामा सबैभन्दा बढी रुचाइएका खेलाडी हुन्, सुनिल थापा मगर । जुम्लाको चन्दननाथ–५ का स्थानीय थापा जुम्लाका दर्शकमाझ लोकप्रिय छन् । तेज गतिमा दौडिन र विपक्षी खेलाडीलाई छलाउन सक्ने राम्रो सीप भएका उनी फरवार्ड पोजिसनमा खेल्छन् । कमजोर पारिवारिक पृष्ठभूमिबाट हुर्किएका सुनिल सानैदेखि फुटबलप्रेमी थिए । विद्यालय उमेरमै राम्रो खेलाडीको परिचय बनाएका उनले २०६८ सालमा धनगढीमा भएको छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा मध्यपश्चिमाञ्चल विकास क्षेत्रको फुटबल टिमबाट राष्ट्रिय खेल खेलेका थिए ।

राष्ट्रिय टिमसम्म पुग्ने सपना बोकेका उनले फुटबलकै लागि सरकारी जागिरसमेत त्यागेका छन् । कुनैबेला उनी फुटबलर बन्ने सपनासहित सशस्त्र प्रहरीमा जागिर थिए । त्यहाँबाट कुनैपनि सम्भावना नदेखेपछि उनी जागिर नै छोडेर हिँडे, आफ्नो सपना पूरा गर्न । उनले स्थानीय रारा फुटबल क्लबबाट १३ वर्षको उमेरमै फुटबल करियर सुरु गरेका थिए ।

३३ वर्षीय थापा अहिले भने स्थानीय प्रतियोगितामा व्यस्त छन् । थापाजस्तै जुम्लामा राम्रो क्रेज भएका खेलाडी हुन्, रुविन भण्डारी । उनीपनि जुम्लाका दर्शकबाट निकै लोकप्रिय छन् । शान्त स्वभाव, बल नियन्त्रण क्षमता र टिमलाई जिताउन गोल गर्न सक्ने क्षमताका कारण सबैको नजरमा पर्ने गर्छन् । पछिल्लो पुस्ताका अविशेक खत्री र विशाल महत जुम्लामा निकै रुचाइएका खेलाडी हुन् । जुम्लाका योद्ध शाहीले लामो समय त्रिभुवन आर्मी क्लबका साथै ‘ए’ डिभिजन लिग खेले ।

उनी अहिले सुर्खेतमा ऐडेकेमी सञ्चालन गरेर फुलबल खेलाडी उत्पादनमा सक्रिय छन् । यस्तै जुम्लाका धमेन्द्र कुँवर पनि जुम्लाको माटोबाट राष्ट्रिय प्रतियोगिता खेलिरहेका खेलाडी हुन् । उनले नेपालका चर्चित क्लबहरूको प्रतिनिधित्व गर्दै घरेलु प्रतियोगिता खेलिरहेका खेलाडी हुन् । नेपालको जर्सी लगाउँदै अन्डर २३ को राष्ट्रिय टिमबाट समेत खेलिसकेका छन् ।

यस्तै जुम्लाकै सन्तोष खत्री नेपालको पुरुष राष्ट्रिय फुटबल टिमको क्लोज क्याम्पमा बारम्बार स्थान बनाएका खेलाडी हुन् । उनी अहिले राष्ट्रिय टोलीमा स्थान बनाउन कसरत गरिरहेका छन् । नेपाली फुटबलको राम्रो मिडफिल्डरको रूपमा हेरिएका उनी अन्डर २३ को टिमका नियमित खेलाडी हुन् । उनी हाल भुटानको ‘ए’ डिभिजन क्लबमा समेत आबद्ध छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक १९ गते बुधबार