नेपालमा खाद्यान्न र भोकमरीको हिसाबले माथि उल्लेख गरेका मुलुकहरूजस्तो कहालीलाग्दो अवस्थामा त छैन तथापि यहाँ पनि खाद्य असुरक्षा र कुपोषणको समस्या भने चर्को छ । विश्व भोकमरी सुचकाङ्कमा नेपाल सन् २०२२ को प्रतिवेदनमा ८१औँ स्थानमा थियो भने सन् २०२३ को प्रतिवेदनमा सुधार भएर ६९औँ स्थानमा र सन् २०२४ मा ६८औँ स्थानमा रहेको देखिन्छ । भोकमरीको हिसाबले नेपाल सन् २०२० देखि यता मध्यमस्तरमा देखिन्छ ।
जीतबहादुर शाह
विश्वमा हरेक वर्ष अक्टोबर १६ तारिखका दिन विश्व खाद्य दिवस मनाइन्छ जुन दिवस आज परेको छ । यो दिवस संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको स्थापना भएको दिन (सन् १९४५ अक्टोवर १६ तारिख)को सम्झनामा मनाउने गरिन्छ । यस दिवसलाई औपचारिकरूपमा सन् १९७९ मा संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको महासम्मेलनमा खाद्य दिवस मनाउनका लागि प्रस्ताव गरिएको थियो र मनाउने कार्य सन् १९८१ देखि आरम्भ गरिएको थियो । नेपालले सन् १९५१ मा विश्व कृषि तथा खाद्य संगठनको सदस्यता प्राप्त ग¥यो र सन् १९८१ (विसं २०३८) देखि मनाउन थालिएको हो । यो दिवसको मुख्य उद्देश्य भनेको विश्वभरि रहेका भोकमरी र कुपोषणबाट पीडित मानिसहरूका लागि सचेतना र कारबाहीका लागि प्रेरित गर्नु, सबै मानिसका लागि स्वस्थ आहारको आवश्यकता र खाद्य सुरक्षालाई सुनिश्चित गर्ने महत्त्वलाई उजागर गर्नु, खाद्य पदार्थको उत्पादन, आपूर्ति श्रृङ्खला र कृषिमा लगानी बढाउन राष्ट्रिय, द्विपक्षीय र गैरसरकारी प्रयासहरूलाई प्रोत्साहित गर्नु र भोजन पाउनु हरेक व्यक्तिको आधारभूत अधिकार हो भन्ने सन्देश दिनु रहेको छ ।
विश्वले आज ४५औँ विश्व स्वास्थ्य दिवस मनाउँदै गर्दा विश्वमा भोकमरी र कुपोषणका कारणले हुने रोगहरूबाट मर्नेहरूको सङ्ख्या बर्सेनि नब्बे लाखको हाराहारीमा रहेको छ जुन सङ्ख्या एड्स, मलेरिया र क्षयरोगबाट मर्नेहरूको सङ्ख्या भन्दा बढि हो । त्यसैगरी भोकमरी अर्थात कुपोषणका कारणले मर्ने ५ वर्षमुनिका बालबालिकाहरूको सङ्ख्या वार्षिक बीस लाख (कूल बालमृत्युदरको पचास प्रतिसत) रहेको देखिन्छ ।त्यसैगरी संयुक्त राष्ट्र संघको २०२४ को तथ्यांकअनुसार विश्वभर २ अरब ३३ करोड मानिसहरू खाद्य असुरक्षाका सिकार भएको देखिन्छ अर्थात् उनीहरूले नियमितरूपमा पर्याप्त खाना पाउनका लागि संघर्ष गरिरहनु परेको छ । विश्वका करिव ८.२ प्रतिशत अर्थात् ६७.३ करोड जनसङ्ख्या दीर्घकालीन भोकमरीको चपेटामा परेको अवस्था छ भने ग्लोबल रिपोर्ट अन फुड क्राइसिस २०२५ का अनुसार विश्वका करिब ५३ मुलुकका करिब २९ करोड ५० लाख भन्दा बढी जनसङ्ख्या चरम खाद्य असुरक्षाको अवस्थाबाट गुज्रिरहेका छन् भने विश्वका करिब ६ देखि ५९ महिनाका ३ करोड ७७ लाख बालबालिका गम्भीर कुपोषणको अवस्थाबाट गुज्रिरहेका छन् ।
चरम खाद्य संकट र भोकमरीले मर्नेहरूको सङ्ख्या प्रायः द्वन्द्वग्रस्त क्षेत्रहरूमा बढिरहेका छन् । सन् २०२४ को तथ्यांकअनुसार सबैभन्दा खराब अवस्था भएका त्यस्ता हटस्पट मुलुकहरूमा सुडान, गाजा पट्टी, दक्षिण सुडान, यमन, हैटी, माली, नाइजेरिया, कङ्गो, अफगानस्तान आदि रहेका छन् । सन् १९९३ मा गृहयुद्धका कारण गम्भीर अनिकाल परेको दक्षिण सुडानको अयोद गाउँ नजिकैको एउटा घटना हो, जहाँ भोकमरीले थला परेको एउटा बालक (जसलाई सुरुमा बालिका अनुमान गरिएको थियो) संयुक्त राष्ट्र संघको भोजन केन्द्रतिर घस्रिरहेको र उक्त बालक मरेपछि खाने आशामा नजिकै एउटा गिद्ध पर्खिरहेको फोटो दक्षिण अफ्रिकी फोटो पत्रकार केभिन कार्टरले लिएका थिए र उक्त फोटो विश्वभरि भाइरल भएको थियो । यही फोटोको कारणले केभिन कार्टरले पत्रकारिताका लागि विश्व प्रसिद्ध पुरस्कार पुलित्जर पुरस्कारसमेत प्राप्त गरेका थिए । तर पछि धेरै मानिसहरूबाट त्यो बच्चाको फोटो मात्र खिच्नुभन्दा उसलाई बोकेर खाद्य केन्द्रसम्म पु¥याएर ज्यान जोगाएको भए महानता हुन्थ्यो कि भनेर आलोचना भएपछि उक्त पत्रकार आफैँले पनि आत्मग्लानीका कारण आत्महत्या गर्छन् । उक्त फोटो अहिले पनि ‘दि भल्चर एण्ड दि लिटिल गर्ल’ नामबाट खोजी गर्ने हो भने गुगलमा भेटिन्छ । युद्धग्रस्त क्षेत्रहरूमा भोकमरिको अवस्था अहिले पनि त्यत्तिबेलाको भन्दा कम छैन ।
नेपालमा खाद्यान्न र भोकमरीको हिसाबले माथि उल्लेख गरेका मुलुकहरूजस्तो कहालीलाग्दो अवस्थामा त छैन तथापि यहाँ पनि खाद्य असुरक्षा र कुपोषणको समस्या भने चर्को छ । विश्व भोकमरी सुचकाङ्कमा नेपाल सन् २०२२ को प्रतिवेदनमा ८१औँ स्थानमा थियो भने सन् २०२३ को प्रतिवेदनमा सुधार भएर ६९औँ स्थानमा र सन् २०२४ मा ६८औँ स्थानमा रहेको देखिन्छ । भोकमरीको हिसाबले नेपाल सन् २०२० देखि यता मध्यमस्तरमा देखिन्छ । सन् २०१९ मा नेपाल ७३औँ (१२७ मुलकुहरूमध्ये) स्थानमा भए पनि स्कोरको हिसाबले गम्भीर अवस्थामा थियो ।
त्यसपूर्व पनि नेपाल ¥याङ्किङको हिसाबले माथि देखिए पनि स्कोरको हिसाबले सधैँ गम्भीर अवस्थामै थियो । अहिलेको अवस्थामा नेपाल दक्षिण एसियामा भारत, पाकिस्तान, बङ्गलादेश र अफ्गानस्तानभन्दा अगाडि छ भने श्रीलङ्काभन्दा पछाडि छ । विशेषगरी नेपालका कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका दुर्गम जिल्लाहरू र मधेश प्रदेशका ग्रामीण क्षेत्रमा खाद्य असुरक्षाका कारणले बालबालिकामा पुड्कोपन, ख्याउटेपन र कमतौलको समस्याका साथै गर्भवती महिलाहरूमा रक्तअल्पताको समस्या अधिक देखिन्छ ।
नेपालमा खान नपाएर मानव स्वास्थ्यमा जति समस्या छ त्योभन्दा पनि खान नजानेर वा अखाद्य वस्तु खाएर बढी समस्या बल्झिएको अवस्था छ । दुर्गम क्षेत्रका कतिपय मानिसहरू जतिबेला जे उत्पादन हुन्छ त्यही खाने गर्दछन् । मिलाएर खाने परिपाटी र प्रवृत्ति कम छ । यो त्यत्ति समस्याको रूपमा नदेखिए पनि अहिले आएर खाद्य पदार्थको नाममा अखाद्य वस्तु खाएर बिरामी र कुपोषित हुनेहरूको सङ्ख्या ह्वात्तै बढेको अवस्था छ । अहिले उमेर नपुग्दै मानिसहरूमा मधुमेह, रक्तचाप, क्यान्सर र मुटुसम्बन्धी रोगले मानिसहरू पीडित भइरहेका छन् । यसको एउटै कारण भने अखाद्य वस्तुको सेवन हो । अहिलेका प्रचलित शब्दमा जङ्क फुड पनि भनिन्छ र अर्को भनेको खाद्य वस्तुमा मिसावटको समस्या हो । यस्तो मिसावट विशेषगरी तेल, दूध, घिउ, मसला (बेसार, खुर्सानी), चामल र दालजस्ता दैनिक उपभोग्य वस्तुमा गरिएको देखिन्छ भने तरकारी र फलफूलहरूमा अत्यधिक मात्रामा विषादीको प्रयोग गरिन्छ । यसका साथै मिठाइ, चटपटे, पानीपुरी, चाउचाउ र पेय पदार्थहरूमा स्वादिलो र लामो समयसम्म टिकाउनका लागि विभिन्न रसायन, अखाद्य वस्तु र रसायनहरूको प्रयोग गर्ने प्रचलन बढेर गएको छ ।
मानिस क्रमशः नजानिँदो तरिकाले अलि बढी अमानवीय र अलि बढी लोभीपापी हुँदै गइरहेको छ । एउटा कार्यक्रममा नेपाल सरकारका पूर्वसचिव, संविधानविद् एवम् प्रशासनविद् काशीनाथ दाहालले भनेको कुरा याद छ ः ‘एकपटक एकजना आमाले आफ्नी छोरीलाई गाली गर्दै कुटिरहेकी थिइन् । छोरीले गाली र कुटाइ खानुको कारण थियो, उनले काउलीको फूल बिक्री गरेर बाँकी रहेको पात घरमा पालेर राखेका खसीबोकालाई खान दिइन् । यसको भित्री रहस्य विषादी हालेको काउलीको पात खाएर खसीबोका मर्न सक्छन् भन्ने थियो जब कि विषादी हालेको काउलीको फूल खाएर जोसुकै मरेपनि बजारमा पुगिसक्यो, त्यसको मतलब भएन ।’ आफूले पाप गरेपछि आफूलाई पनि त्यसकै फल प्राप्त हुने हो । घरमा फलेको विषादी हालेको काउली त नखाइएला तर बजारबाट अन्य फलफूल र तरकारी त ल्याएर खानै पर्छ । त्यसरी आफूले बजारबाट किनेर ल्याउने तरकारी र फलफूलमा अरुले पनि त्यसरी नै रसायन र विषादी मिसाएको कुरा सतप्रतिशतभन्दा पनि बढी सत्य छ । त्यसैले विषादी हालेको तरकारीको पात बस्तुभाउलाई खान दिन पनि डराउने मानिस आफू भने बजारबाट किनेर खाइरहेको छ ।
मुलुकमा केन्द्रदेखि वडासम्म तीनचार थरि सरकारहरू छन् तर खाद्य वस्तुमा अखाद्यवस्तु, विषादी र रसायनको मिसावटलाई नियन्त्रण गर्ने मामलामा चारवटै सरकार छुट्टी लिएर बिदामा बसेको झै आभास हुन्छ ।
अड्कोपड्को तेलको धुप भनेझै वर्षमा एकाधचोटी एकाध स्थानमा अनुगमन गरिन्छ, बस् त्यत्ति भएपछि वर्षभरिको कर्तव्य पूरा भएको यकिन गरिन्छ । विद्यालय र अस्पतालको नजिक जङ्क फुड बिक्री वितरणका लागि कानुनबाट बर्जित गरिएको छ तर विद्यालय र अस्पताल परिसरभित्रै त्यस्ता जङ्क फुडजन्य वस्तुहरूको खुलेआम बिक्री वितरण र सेवन हुन्छ । सीमापारिबाट विषादी र रसायन प्रयोग गरिएका तेल र तरकारीका गाडीहरू आक्कलझुक्कल चेक गर्ने क्रममा मिसावट भेटिन्छ, नागरिक समाजबाट फिर्ता गर्न खबरदारी पनि गरिन्छ तर एकाध गाडी रोकिए पनि अरु रोकिँदैनन् । सरकार त त्यस्तै छ, हामी पनि त्योभन्दा कम छैनौँ, हामी तरकारी किन्न गयौँ भने अलि अलि किरा लागेका र घाउचोट लागेका र देख्दा पनि त्यत्ति राम्रो नदेखिनेतिर फर्केर पनि हेर्दैनौँ । एकदमै हरिया, चिल्ला र देख्दा पनि सफा र कतै दाग नलागेका फलफूल र तरकारी रोजीरोजी ल्याउछौँ, जब कि त्यस्तै फलफूल र तरकारीमा विषादी र रसायन मिसाइएको कुरामा कुनै सन्देह छैन । खाने कुरा खान नजानेर पनि हामी कुपोषित र रोगी हुँदा रहेछौँ । अर्थात् खाना खाँदा हामी विवेकपूर्ण किसिमले सोचविचार नगरेर सिधैँ जिब्रोको दास हुँदा रहेछौँ। अनि हामी शरीरका लागि नखानु पर्ने चिजहरू धेरै खाने रहेछौँ भने खानु पर्ने चिजहरू मिठो नभएको कारणले नखाँदा रहेछौँ ।
पोषणविद्हरूका अनुसार हामीले खानामा आलोपालो मिलाएर छ वटा स्वादहरू– नुनिलो, अमिलो, पिरो, गुलियो, टर्रो, तितो चिजहरू हाम्रो खानामा हुनुपर्दछ भन्छन् । हामी भने आफूलाई मन पर्ने स्वादबाहेक अरु त खाँदैखाँदैनौँ । पोषणविद्हरूले नै भन्दछन् कि हामीले खाने खानेकुराहरूको मात्रा र विधि औषधि खाएजस्तै गरी थोरै र विधि मिलाएर खानु पर्ने हुन्छ अन्यथा हामीले अहिले खाना हसुरेजस्तै जीवनको उत्तरार्धतिर पनि त्यही परिमाणमा औषधि हसुरेर बाँच्नुपर्ने हुन्छ । कुरा ठिकै हो, तथापि मानिस नसालु स्वभावको हुँदोरहेछ । कसैमा खानुको नसा, कसैमा पिउनुको नसा, कसैमा प्रेमको नसा, कसैमा कमाउनुको नसा त कसैमा गुमाउनुको नसा । खानु र पिउनुको नसामा फसेकाहरू कुनै कुराले खराब गर्छ भन्ने थाहा पाएर पनि त्योबिना बाँच्न नसक्ने जस्ता हुँदारहेछन् । वास्तविकता त त्योबिना बाँच्न नसक्ने होइन कि त्यो खाएपछि छिटै मरिन्छ भन्ने हो ।
खानपानका सवालमा त मानिसले पशुबाट समेत धेरै कुरा सिक्नु पर्ने हुन्छ । चराचुरुङ्गीहरूले मन परेको कुरा खाना पाइयो भनेर जे कुरा पनि र जति पनि खाने गर्दैनन् । भोक लाग्यो भनेर न त बाघले घाँस खान्छ, न त हरिणले मासु । हामी भने जे पनि खाइदिने गर्छौँ । मानिस जैविक हिसाबले शाकाहारी प्राणी भए पनि जिब्रोकै दास भएर मांसहारी बनेको छ । पोषणविद्हरूले खाने कुरामा पनि केही शर्तहरू अघि सारेका छन् ः सुत्नुभन्दा कम्तीमा तीन घण्टाअघि खाना खानु, पानी बिहान उठ्नेबित्तिकै सकेजति पिउनु र खाना खानु अघि र पछि कम्तीमा आधा घण्टाको फरक पारेर मात्र पानी पिउनु तर खानासँग पानी नपिउनु, दही बेलुकाको भोजनमा नखानु, उमेर ढल्किँदै गएपछि कार्बोहाइड्रेट र प्रोटिनजन्य खानाहरूको मात्रा घटाउनु र भिटामीन र खनिजजन्य खानाहरूको मात्रा बढाउनु, मिसाएर पकाउने र मिसाएर खाने कुराहरूमा पनि होसियारी अपनाउनु (जुनमा जुन मिसाएर पनि खाने गर्दा अमृत पनि विष हुने सम्भावना बढ्छ) आदि ।
तथापि हामी जानेबुझेका र खाना पुगेकाहरूले पनि यस्ता सामान्य कुराहरूमा पनि ख्याल गर्दैनौँ । कहिलेकाहीँ हाम्रा चिकित्सकहरू नै यस्ता भेटिन्छन् कि दिउँसो क्लिनिकमा यो खानुहुँदैन भनेका चिकित्सकले बेलुका भेटिए भने आज खाइहाल्नुस् भोलिदेखि नखानु होला भनेर अनुमति दिने होइन कि अनुरोध गर्दछन् । जस्तो खाना खान्छौँ, शरीर त्यस्तै बन्छ । हामीले खाने गरेका खानेकुरा नै हाम्रा लागि अमृत पनि हुन् र विष पनि । कतिपय खानेकुराहरू एउटाका निम्ति अमृत र अर्काको निम्ति विष पनि हुने गर्दछन् । यस्ता कुराहरू व्यक्ति आफँैले पनि आफूले आर्जन गरेको अनुभव र भोगाइबाट सिकेर तदनुसारको खानेकुरा मात्रा र कार्यतालिका तय गरी प्रयोग गर्नुपर्ने हुन्छ ।
जिब्रोलाई होइन कि विवेकलाई साक्षी राखेर खाने बानीको विकास गर्नुपर्छ । नागरिक स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखी सरकारले पनि जनचेतनालाई अभियानका रूपमा र खाद्य सुरक्षालाई प्रतिबद्धताका रूपमा कार्यान्वयन गर्नुुपर्दछ । खाद्य सुरक्षाका मामलामा आफूले कसैको निम्ति कुभलो सोँच्दा त्यो कुभलो बेलुका आफ्नै भान्सामा परिकार भएर आउने कुरामा पनि सधैँ होसियार हुनुपर्छ । यस्तै यस्तै विषयमा मानिसले विवेक प्रयोग गरेर खाना खाने दिन र खाना पुग्ने दिन सबैको निम्ति उपलब्ध होस्, ‘स्वच्छ खाना र सुखद भविष्यका लागि हातेमालो’ नाराका साथ मनाउन थालिएको ४५औँ विश्व खाद्य दिवसको हार्दिक शुभकामना । बाँकी, जो हजुरहरूको मर्जी ।









प्रतिक्रिया दिनुहोस्