आजीवन समाजसेवामा समर्पित फ्लोरेन्स नाइटिङ्गेल



चिन्तामणि घिमिरे

जीवनलाई सधैँको लागि समाजसेवा वा जनसेवामा अर्पित गर्ने मानिसहरू संसारमा धेरै कम हुन्छन् । आजको दुनियाँमा निस्वार्थ भावले मानवसेवालाई आफ्नो कर्म बनाउने मान्छे सायद औँलामा गन्ने नै हुन्छन् । समाजसेवामा लागेकाहरू पनि नाफा घाटाको हिसाब लगाइरहेका हुन्छन् । कैयौँले त मानवसेवालाई कभर बनाएर लुटको धन्दा चलाइरहेका हुन्छन् । तर फ्लोरेन्स नाइटिङ्गेल जस्तो जीवनभर अविवाहित रहेर जनसेवामा समर्पित व्यक्ति भेट्टाउन सायदै मुस्किल पर्ला । उनलाई आधुनिक नर्सिङ पद्धतिको जन्मदाता भनेर पनि चिनिन्छ । फ्लोरेन्स नाइटिङ्गेल सेवाकी मूर्ति, त्यागकी प्रतिमूर्ति, करुणा र ममताकी खानी थिइन् ।

अहिलेका अस्पतालहरू सफासुग्घर छन्, सबै सामाग्रीहरूको उपलब्धता रहेको देखिन्छ । सुन्दर र सुरम्य नर्सहरू सफा र सुकिला पहिरनमा रोगीहरूको सेवामा तल्लीन रहन्छन् । उनीहरू सधैँ हसिला, रसिला र फुर्तिला देखिन्छन् । उनीहरूको बोली मिठो छ, व्यवहार राम्रो छ, चालचलन झन् राम्रो छ । उनीहरूको प्रशन्न मुहार देखेर रोगीहरूले आफूलाई धेरै आराम भएको महसुस गर्दछन् । तर उहिलेको जमानामा अस्पतालहरू त्यस्ता थिएनन्, ती फोहोरमैला र दुषित थिए । सर्वत्र दुर्गन्ध र दुर्दशा थियो । नर्सहरू थिए तर ती व्यवहारिक थिएनन् । उनीहरूको बोली रुखो हुन्थ्यो, अनि व्यवहार अभद्र । समाजमा नर्सहरूको राम्रो छवि थिएन । नर्सको नाम नै बदनाम थियो । मानिसहरूले नर्सिङ पेसालाई सम्मानजनक दृष्टिले हेर्दैनथे । यसैकारण फ्लोरेन्स नाइटिङ्गेलका मातापिताले उनलाई नर्सिङ पेसा रोज्ने सम्बन्धमा अप्ठ्यारो मानेका थिए ।

पिता विलियम एडवर्ड नाइटिङ्गेल र माता फेनी स्मीथ दम्पतीको कोखबाट १२ मे सन् १८२० मा फ्लोरेन्स नाइटिङ्गेलको जन्म भएको थियो । उनको जन्म इटालीको फ्लोरेन्स सहरमा एउटा सम्पन्न परिवारमा भएको थियोे । उनको नाम उनका मातापिताले उनको जन्मस्थानको नामबाट फ्लोरेन्स राखे । उनी निकै सुन्दर थिइन् । उनले आफ्ना पिताबाट धेरै भाषा सिकिन् । उनले इतिहास र दर्शन पनि अध्ययन गरिन् तर सानैदेखि उनको हृदयमा करुणाको लहर उर्लेको थियो । पीडितप्रति उनको हृदयमा असीम करुणा थियोे । उनी दश वर्षको हुँदा एउटा घटना घट्न पुग्यो। एकदिन बदमास केटाहरूले एउटा कुकुरलाई ढुङ्गाले हानेर घाइते बनाएको देखेर उनको हृदयमा करुणा जाग्यो र उनले त्यो कुकुरलाई घरमा लगेर तातो पानीले घाउ सफा गरेर मल्हम पट्टि लगाइदिइन् । फ्लोरेन्स नाइटिङ्गेलको जीवनका दुई पाना थिए– एकातिर उनी धनाढ्य परिवार कि छोरी, उच्च समाजका सबै आनन्दहरू उपभोग गरिसकेकी थिइन् । अर्कोतिर गाउँका रुग्ण र दीनहीन मानिसहरूसित उनको हेलमेल थियो, जसले उनलाई असाध्यै माया गर्थे । उनले नर्स भएर रोगी र दीनहीनहरूको सेवा गर्ने संकल्प गरिन् ।

एकदिन उनले आफ्नो योजनाबारे आफ्ना मातापितालाई सुनाइन् । उनको कुरा सुनेर उनीहरू झसङ्ग भए । मानौँ उनलाई भयानक रोग लागेको छ । एक शिक्षित नारी त्यो बेला नर्स बन्ने कुरा सोच्न नसकिने कुरा थियोे । त्यो बेला नर्सिङ पेसालाई तल्लोस्तरको पेसा मानिन्थ्यो । उनले आफ्ना मातापिताको अगाडि यो कुरा भनिन् कि ‘रोगीको सेवा गर्नुजस्तो पवित्र पेसा अर्को छैन ।’ यसैबेला उनले प्रसिद्ध समाजसेविका एलिजावेथ फ्राइलाई भेटिन् । फ्राइ महिला कैदीहरूको सेवामा लागेकी थिइन् । फ्लोरेन्सको नर्स हुने विचार सुनेर बुढी भइसकेकी एलिजावेथ फ्राइले उनलाई आशीर्वाद दिइन् । १८४४ बाट उनले नर्सको तालिम लिन थालिन् । त्यसैक्रममा उनले जर्मनी, फ्रान्स, इटाली र ब्रिटेनका विभिन्न अस्पतालमा निरीक्षण गर्ने मौका पाइन् । त्यहाँ नर्सको सेवाभाव देखेर उनी प्रभावित भइन् । तर उनी त्यसबेला अस्पतालमा देखिएको दुर्गति एवं नाजुक अवस्था देखेर दिक्क भइन् । उनले आफू नर्स बनेर अस्पतालको स्थिति सुधार्ने योजना बनाइन् र त्यो दिशामा अगाडि बढिन् । उनी एक असल नर्स बन्न सफल भइन् ।

सन् १८५४ मा क्रिमियामा युद्ध छेडियो जसमा बेलायत, फ्रान्स, टर्की एकातिर र अर्कोतिर रूस थिए । घाइते सिपाहीहरूको अवस्था अति दयनीय छ भन्ने कुरा अखबारहरूमा छापिन थाले । त्यही बेला फ्लोरेन्स नाइटिङ्गेलका एकजना साथी सिड्नी हर्बटले उनलाई एकहुल नर्सहरू लिएर टर्कीको स्कुटारीमा जानु भनी आमन्त्रण गरे । उनले यो आमन्त्रण सहर्ष स्वीकार गरिन् । २१ अक्टोबर १८५४ मा उनी ३८ जना नर्सहरू लिएर इङ्गल्यान्डबाट हिँडेर सोह्र दिनपछि टर्कीको स्कुटारी पुगिन् । उनले त्यहाँको नर्कजस्तो अस्पताललाई सुधारिन् । त्यहाँ दिसापिसाबको दुर्गन्ध थियो । भवन जीर्ण र भत्केको थियो । त्यहाँ अव्यवस्था र पानीको अभाव थियो । बत्ती थिएन । टेबुल, कुर्सी, कुचो, तौलिया, काटा, चम्चा केहि पनि थिएन । औषधि र मल्हमपट्टि थिएन । अदम्य उत्साह अनि दृढ संकल्पका धनी नाइटिङ्गेल आफैँले त्यहाँ पानीको प्रबन्ध गरिन् । कपडा धुने कोठा बनाइन् । रोगीको लागि आफैँ खाना बनाउन थालिन् । उनले आफूसित तीस हजार पाउन्ड र अस्पतालका धेरै सामाग्री लिएर टर्की आएकी थिइन् ।

वार्डहरूमा गएर उनी घन्टौँ खट्थिन्, घाइतेहरूलाई आफैँ हेर्थिन्, उनीहरूको पीरमर्का बुझ्थिन् । राति पनि उनी हातमा बत्ती लिएर हिँड्थिन् । सबैले उनलाई ‘लेडी विथ द ल्याम्प’ भन्थे । डाक्टरले समेत बाँच्ने आशा छैन् भनेका बिरामीको स्याहारसुसार गरेर तंग्र्याउने काम गरिन् उनले । नयाँ जीवन पाएका रोगीले उनको मुक्तकण्ठले प्रशंसा गर्थे । बेलायतकी रानी भिक्टोरियाले समेत उनको कामको सरहाना गरिन् ।
बिस्तारै क्रिमियाको युद्ध थामिएपछि अस्पतालको बिरामीहरू सञ्चो भएर घर हिँडेपछि उनी पनि बेलायत फर्किन् । त्यहाँ मानिसहरूले उनलाई राष्ट्रिय नायिका घोषित गरे र भव्य रूपमा स्वागत गरे । जीवनभरी अरुकै सेवा गर्दागर्दै उनलाई बिहे गर्ने फुर्सद भएन । उनी आजीवन अविवाहित रहिन । उनी विश्व प्रसिद्ध नायिका भइन् तर प्रसिद्धिका निम्ति उनले काम गरेकी थिइनन् । सन् १९०१ मा उनको आँखाको दृष्टि गुम्यो। त्यसको पाँच वर्षपछि उनको स्मरणशक्ति हरायो, उनलाई दमले आक्रमण ग¥यो ।

१९०६ मा उनलाई महारानी भिक्टोरियाले दर्शनभेट दिइन् । यो दिन उनको निम्ति अति खुसीको दिन थियोे । असी वर्षको उमेरमा उनले दृष्टि गुमाइन् । १९०७ मा उनलाई देशको सर्वोच्च उपाधी ‘अर्डर अफ मेरिट’ प्रदान गरियो । तीन वर्षपछि उनी थला परिन् । केहि दिनसम्म दिपशिखा धिपधिप गर्दै बलिरह्यो । अन्तमा १३ अगस्ट १९१० मा झ्याप्प निभ्यो । अर्थात् उनी यस धर्तीबाट सदाका लागि बिदा भइन् । प्रत्येक वर्ष १२ मईलाई अन्तर्राष्ट्रिय नर्सिङ दिवसको रूपमा विश्वव्यापी रूपमा मनाउने चलन छ । जुन दिन उनको जन्म भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ असोज २८ गते मंगलबार