१० वर्षे सशस्त्र द्वन्द्वको बेला पनि असुरक्षाको कारणले नरोकिएको नेपालगन्जमा दसैँको बेला मञ्चन हुने रामलीला यसवर्ष असुरक्षाकै कारण देखाउँदै आयोजकले रामलीला मञ्चन स्थगित गर्नुपरेको बताएको छ । रामलीला मञ्चन नभएपनि अन्तिम दिन गरिने रावण बधका लागि भने तयारी भइरहेको छ ।
नेपालगन्ज ।
बाँकेको नेपालगन्जमा दसैँको बेला मञ्चन हुने रामलीला १० वर्षे सशस्त्र द्वन्द्वको बेला पनि असुरक्षाको कारणले रोकिएको थिएन । रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडिया भन्छन्, ‘त्यतिखेर हामीले माओवादीका नेताहरूसँग कुरा गथ्र्याैँ । उहाँहरूले तपाईँहरू कार्यक्रम गर्नुस् । हामीबाट कुनै अवरोध हुँदैन । त्यो हाम्रो क्षेत्रको विषय होइन भन्नुहुन्थ्यो । हामी सबै राजनीतिक दलहरूको सहमति लिएर कार्यक्रम गथ्र्याैँ ।’
तर यसवर्ष असुरक्षाकै कारण देखाउँदै आयोजकले रामलीला मञ्चन स्थगित गर्नुपरेको जनाएको छ । नेपालगन्जको एक ऐतिहासिक र साँस्कृतिक क्रियाकलपको महत्वपूर्ण अंगको रूपमा स्थापित भइसकेको रातिको समयमा मञ्चन हुने रामलीला रोकिँदा नगरवासीहरू खुसी छैनन् । यद्धपि उनीहरू अहिलेको परिवेशमा कार्यक्रम स्थगित गर्नु नै उपयुक्त रहेको बताउँछन् । नेपालगन्ज– ११ का सुरेश गुप्ताले भने, ‘अहिले माहोल ठिक छैन । मानिसहरू यस्तो बेला रामलीला हेर्न जालान् जस्तो पनि लाग्दैन । त्यसकारण यसवर्ष कार्यक्रम नगरेकै राम्रो ।’
पछिल्लोपटक कोरोना महामारीका बेला २०७७ र २०७८ सालमा दुईवर्ष रामलीलाको कार्यक्रम स्थगित भएको थियो । तर, सोबेला रावण बधको कार्यक्रम भने सीमित उपस्थितिमा गरिएको कनोडियाले बताए । अहिले असुरक्षाको महसुस हुनुका पछाडि आयोजकहरूमा जेनजी आन्दोलनपछि प्रहरी र प्रशासनको गिर्दाे सक्रियता र अपराधिक तत्वहरूको बढिरहेको मनोबल मुख्य कारणको रूपमा आयोजकले लिएको पाइएको छ । ‘चोरहरूले लेखेरै धम्की दिँदै हिँडेका छन् ।
प्रहरीको उपस्थिति देखिँदैन । रातिको समयमा जति गस्ती हुनुपर्ने हो त्यो भएको देखिँदैन । प्रशासनमा सोध्यो भने निगरानी भइरहेको छ भन्ने जवाफ आउँछ । तर व्यवहारमा छैन । त्यसकारण जोखिम लिएर कार्यक्रम गर्नुभन्दा बरु रावण बध मात्रै गरेर मनाऔँ भन्ने निष्कर्षमा पुगेका हौँ,’ अध्यक्ष कनोडियाले भने । नेपालगन्जमा दसैँको घटस्थापनादेखि सुरु भएर दशमीको दिनसम्म रामायणमा आधारित रामको चरित्रमा आधारित नाटक मञ्चन गर्ने गरिन्छ । उक्त मञ्चन हेर्न सहरवासीहरू रामलीला मैदानमा भेला हुन्छन् ।
मध्यरातसम्म रामलीला मञ्चन हुन्छ । रातिको समयमा रामलीलाको मञ्चन हुने भएकोले सुरक्षाको व्यवस्था त्यहीअनुसारको हुनुपर्ने हुन्छ । तर, जेनजी आन्दोलनपछि बाँकेको प्रशासन र प्रहरीले जिल्ला प्रशासनदेखि अदालत जल्दापनि रोक्न सकेन । त्यसपछि अहिले टोलटोलमा चोरहरूले धम्कीपूर्ण भाषामा पर्चा टाँसेर जसरी पनि चोरेरै छोड्ने चेतावनी दिँदै हिँडेका छन् । यस्तो माहोलमा नगरवासीहरू रातिको समयमा रामलीला हेर्न जान नसक्ने देखिएको कनोडियाले बताए ।
अर्कोतिर रामलीलामा नाटक मञ्चन गर्ने कलाकारहरू सबै भारतबाट आमन्त्रित गरिन्छन् । ती कलाकारहरूले नाटकका लागि चाहिने सबै सामग्रीहरू पनि आफैँ बोकेर ल्याउँछन् । उनीहरू आफैँले मञ्च सजावटदेखि सबै जिम्मेवारीहरू पूरा गर्छन् । उनीहरूले बोकेर ल्याउने सामान नै पाँच लाख बढी मूल्यको हुने कनोडियाको भनाइ छ । ‘यस्तो बेला कोही अपराधीले त्यही सामानलाई निशाना बनायो भने हामीले न भरपाइ गर्न सक्छौँ, न समाजमा सन्देश राम्रो जान्छ । त्यसकारण यो बाहिरबाट हेर्दाजस्तो सजिलो विषय छैन । धेरै कुराहरू मिलाएर कार्यक्रम गर्नुपर्ने हुन्छ,’ उनले भने ।
रामलीला मञ्चन गर्न नसक्नुको अर्काे कारण आयोजनाका लागि तयारी पनि नपुग्नु रहेको देखिन्छ । त्यसमा पनि जेनजी आन्दोलनले नै प्रभाव पारेको देखिन्छ । कार्यक्रमको तयारी गर्न पनि दुई हप्ताभन्दा बढी समय चाहिने कनोडियाले बताए । उनले भने, ‘हामी तयारी गरिरहेकै थियौँ त्यहीबीचमा यस्तो समस्या आयो । अहिले जुन परिस्थिति छ यस्तो परिस्थिति त मेरो सम्झनामा कहिल्यै थियो जस्तो मलाई लाग्दैन । के हुने हो भने अन्यौलकै बीच तयारी पनि स्थगित भयो ।’
रामलीला मञ्चनको पूरा कार्यक्रम नभएपनि अन्तिम दिन गरिने रावण बधका लागि भने तयारी भइरहेको कनोडियाले बताएका छन् । ‘सबै कार्यक्रम हुन नसकेपनि रावण बधको कार्यक्रम भने हामी गर्छौँ, त्यसको तयारी भइरहेको छ ।’ कनोडियाले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी भने सुरक्षाकै कारणले मेलापर्व रोक्नुपर्ने अवस्था नरहेको बताउँछन् ।
‘हामीले कार्यक्रम नगर्न भन्न पनि भन्दैनौँ । भनेको पनि छैनौँ । कार्यक्रम गर्नलाई अहिले समस्या छ जस्तो लाग्दैन,’ सहायक प्रजिअ अधिकारीले मिसन टुडेसँग भने, ‘बरु यस्ता कार्यक्रम गर्दा धेरै स्वयंसेवक खटाउने, राति हुने कार्यक्रमलाई सकेसम्म छोट्याउने गर्न भने सुझाव दिन सकिन्छ।’









प्रतिक्रिया दिनुहोस्