खगेन्द्र गिरि ‘कोपिला’
बिरसिलो बगरमा
खै केको रसले हो ?
मेरो टहल गर्दागर्दै
टकटक बगरका बज्र झैं कडा
दर्शनढुङ्गामा बज्रने घनले
गिट्टीको सट्टा
फुटालेका तिम्रा औंलामा
खै कता थिए ? निलो रगत जमेका फोका
कति सहनशील थियो
तिम्रो छाती
किन सुनाइनौ आमा ?
आँसुका कुनै भाका
मातृ स्वभाव र ममताको पराकाष्ठालाई नमन गरिएका माथि उल्लेखित आस्थामय शब्दले कवितासङ्ग्रह ‘धरहराको बकपत्र’ को शिलान्यास गरेका रहेछन् । ‘शीर्षकले कथा चिनिन्छ’ भनेजस्तै भयो यो कविता पढेपछि । यिनै पङ्क्ति पढेर मात्र पनि गर्न सकिने रहेछ ‘धरहराको बकपत्र’ को रहस्यको आँकलन । ‘यी कविता पढिदिनु होला !’ यति भन्नु भएको थियो कवि डा. पुष्कर रिजालले । अरुअरुले जस्तो ‘पढेर केही लेख्नु पनि होला है !’ भनेर न उहाँले कहिल्यै भन्नु भयो । न कहिल्यै ‘पढ्नु भो त ?’ भनेर स्मरण गराउनु भयो । ‘खै त केही लेख्नु नै भएन ?’ भनेर गुनासो पनि कहिल्यै गर्नु भएन उहाँले । ‘यस्ता संकोची र लजालु कवि पनि रहेछन् नेपालमा ?’ भन्ने लागिरह्यो मलाई । हुन कुनै कविताको पुस्तक हात परेपछि मलाई ‘ढिलोचाँडो यी कविता त पढीहाल्नु पर्छ’ जस्तो लागिहाल्छ । ‘धरहराको बकपत्र’ पनि मेरो हात परेपछि मलाई त्यस्तै लागेको हो । तर ढुक्कले पढिहाल्ने औसर भने जुरेको थिएन । कथा र उपन्यास पढेजस्तो जुनुसुकै मनस्थितिमा पनि कविता पढिने कुरा हैन । कविता पढ्नको लागि पहिले मन तयार पार्नु पर्छ । त्यसपछि मनस्थितिलाई जगाउनु पर्छ । अनि आफूलाई मनकै मानसिकतासित निर्बन्ध छाडिदिनु पर्छ । त्यसपछि मात्र कविता पढेको स्वाद आउँछ । यति गर्ने समय र जाँगर अचेलका मान्छेलाई सदैव उपलब्ध हुँदैैन । विक्रम संवत् २०८२ मा प्रकाशित यो पुस्तक मेरो हातमा परेपछि मैले पनि २०८४ मा पढ्नु पर्ला भनेर यस सङ्ग्रहलाई पछिल्लो प्राथमिकतामा राखेजस्तै हुन पुगेको थियो । असोज ९ र १० गतेको घनघोर वर्षाको बन्दी समयले यो सङ्ग्रह पढ्ने अवसर जुराइदियो । जब पढेँ, कविताका एकएक शब्दले तान्दै लगे । एकएक पङ्क्तिले बाँध्दै लगे । कविताको चमत्कारले म मूच्र्छनामा पुगेजस्तो भएँ । मैले थाहै पाइनँ कसरी मेरो मन यी कवितामा बाँधिदै गयो । कविता पढिसकेपछि किन ढिलो पढेछु भन्ने एकप्रकारको पछुतोले लखेट्न थाल्यो । जुन कविता पढ्न थाल्यो उसैले छुट्ट्रै आनन्दको अनुभूति गराइरह्यो ।
पोतेपछि पारि क्षितिजमा
अलिअलि उज्यालो
उज्यालो कै गीत
गाउँदै छन् काला कौवाहरु पनि
कर्कश स्वरलाई मसिन्नाएर
लय छोप्दै जुरेलीसंग
मिठो उषास्तोत्र
रमाउँदै छे उषा नाचेर
चाहारेर हरिया वनका डाली डाली
चराका तानमा पाएर
नौमती र पिरतीको बाजा
आफ्नो आस्था र स्वभाव अनुरुप कविले कवितासङ्ग्रहका पृष्ठपृष्ठभरी खुसी, प्रेम र उल्लास खोजेका रहेछन् । आफ्नो सकारात्मक चिन्तनले हरेक कवितालाई सृङ्गार गरेका रहेछन् । कवि सबैतिर उज्यालो पोख्न चाहन्छन् । सर्वत्र उज्यालै पोतिएको देख्छन् । सर्वत्र प्रेमको रङ छरिएको कल्पना गर्छन् । सबैलाई प्रेमिल दृष्टिले नियाल्छन् । अँध्यारोमा पनि उज्यालोको बिम्ब पहिल्याउँछन् । नाम पुष्कर रिजाल र उपनाम पुष्प भएकोले हुन सक्छ, संसारलाई फुलजस्तो बनाउन खोजेका रहेछन् कविले । कविताको माध्यमले ।
घरी दौडिएर
घरी थामिएर
जतनले सम्हालिएर
चिप्लिएर रिपाहामा
सेकिएर पारिला पाखामा
घरी लड्नु छ, घरी उठ्नु छ
तर्किएर तिखा चुच्चे ढुङ्गासँग
कविको दृष्टि प्रगतिशील छ । मन सुधारवादी छ । स्वभाव प्रेमिल देखिन्छ । उद्धेश्य मानवतावादी छ । मान्छेलाई चाहिने र समाजले खोज्ने चरित्रका आयामहरु कविमा प्रचुर छन् । कविलाई परिश्रम मन पर्छ । संघर्ष गर्न रुचाउँछन् कवि । पसिनाको गन्ध मन पर्छ कविलाई । लडेर उठ्नु र उठेर दुगुर्नुसंग उनी जीवनको सार्थकतालाई जोड्छन् । जीवन भन्नु नै कर्मको पर्याय हो भन्ने मौन तर्क गरिरहन्छन् उनका हरेक कविताले । ढुङ्गालाई चुनौतिको बिम्व बनाएर मानिसमा कर्मको सन्देश प्रवाह गरिरहन्छन् कवि ।
मेरा यी कोमल पैतालाहरु
मेरा यी नरम कर्मबाहुहरु
कतिपल्ट कडा चट्टानमा परे
श्रम गर्दा कति चोटहरु खपे
यी नाङ्गा पिठ्युमा
कति दाउराका भारी चढे
यी कोमल तालुमा
कति महलका जग अडे
तिमीलाई के थाहा
पसिना कसरी निस्किन्छ भनेर
महललाई के थाहा
पसिनाको मोल कति हुन्छ भनेर
आजको विद्रुप राजनीतिले आहत नहुने को होला र ? कवि पुष्कर रिजालको भावुक हृदय पनि आजको राजनीतिका अमिल्दा र अस्वाभाविक दृश्यले आहत भएको छ । राजनीति जनअपेक्षा अनुरुप किन हुन सकेन भनेर उनी चिन्ता गरिरहन्छन् । कविलाई सपना प्रिय त लाग्छ तर राजनीतिक आकाङ्क्षामा सपनाको जड्यौरी भिरेको भने उनी रुचाउन्नन् । राजनीतिले जनभरोसामा सबैभन्दा बढी क्षति पु¥याएको दृश्य कविको निम्ति अप्रिय छ । राजनीतिमा लागेका व्यक्तिहरु विदूषक बनेको दृश्य उनका लागि अति पीडादायी भएको छ ।
पहिले उहाँ आउनुभयो
हरियो चस्मा लगाएर
हरियोको महात्म्य गाउनुभयोे
गाउन लगाउनुभयो हरियाली गीत
हामी रमायौँ, ताली बजायौँ
उहाँले जित्नु भयो र जानु भयो
उहाँ दोस्रो पटक आउनुभयो
रातो चस्मा लगाएर
रगत र पुर्खाको इतिहास सम्झाउनु भयो
वर्गको खाडल देखाउनुभयो
सम्याउने हिंगा दर्शन चलाउनुभयो
हामी रमायौँ
हामीलाई खाल्डैमा छाडेर
उहाँले सम्म जमिनमैं महल बनाउनुभयो
राजनीतिले ल्याएको यस्तै बिडम्बनापूर्ण अवस्थामाथि चोटिलो व्यङ्ग गरेका छन् यस सङ्ग्रहभित्रका कविताले । बिग्रेका कुराप्रति असहमति र बिगार्नेहरुप्रति आक्रोश छ कविमा । तर विरोध, असहमति र आलोचना गरेर मात्रै कुनै समस्याको निरुपण हुन सक्दैन भन्ने चेत पनि कविलाई छ । त्यही भएर उनी सबैलाई राम्रो बाटो हिड्ने सल्लाह दिन्छन् । नबिग्रिने सुझाव दिन्छन् । सभ्य र शालीन शब्दले भन्नु पर्ने कुरा समुचित ढङ्गले भनेका छन् कविले । अँध्यारोमा अलमलिएका बटुवालाई जुनकिरीको उज्यालोले पनि बाटो पहिल्याउन सघाउ पु¥याउन सक्छ । आजका अलमलमा परेका र बाटो बिराएका मानिसलाई गोरेटो देखाउन सक्छन् यी कविताले पनि ।
फुलाएर पसरभरि सिर्जनाका फूलहरु
सजाएर डालीभरि लटरम्म फलहरु
मन्द चल्ने समीरमा
नाच्न पाए पुग्यो पातलाई
हेलाहोचोको भीडबाट पर
बरु अक्करे भीरमै सही
बाँच्न पाए पुग्यो हरियो युग
जगाएर हरियो आशा !
‘पुष्कर रिजालका कवितामा अतीतको धमिलो स्मृतिको बलियो फेद छ । वर्तमानका ताजा अनुभूतिले नयाँ हाँगा हालेका छन् । अनि भविष्यदर्शी प्रकल्पनाका पातहरुले खुल्ला आकाशको दृश्यपटमा स्पष्ट मार्गचित्र प्रस्तुत गरेका छन्’ प्रसिद्ध समालोचक डा. नेत्र एटमले ‘धरहराको बकपत्र’ को पुछारमा यस्तो लेखिसकेपछि थप प्रशंसा र थप टिप्पणीको आवश्यकता नै पर्दैन । कविता पढ्दै गर्दा यसमा असहमति राख्ने ठाउँ नै भेटिन्न । सहमतिमा टाउको हल्लाउन बाध्य मात्र होइन अग्रसर नै हुन पुग्छन् पाठक । म पनि यस्तै अनुभूति व्यहोर्न पुगेँ ।
चारो टिप्न उडे एक हुल परेवा
किन हो !
बाजसँगै शान्तिको प्रार्थना गरेर पो फर्के
एउटा उल्लु रातभरी अलाप्यो
के के शिकार ग¥यो
उज्यालोमा आँखा तिर्मिराएर हो कि
बिहानै टोड्का छि¥यो
दिनभरि ध्यानमग्न भयो
यस सङ्ग्रहका कविताको भाव र विषयबस्तुको सम्प्रेषण अर्थपूर्ण र परिपाक भए पनि कवितासङ्ग्रहको प्राबिधिक पक्ष भने दोषरहित छैन । मुद्राराक्षसको पाटो फितलो छ । हतारमा काम भ्याएको लक्षण ठाउँठाउँमा झल्किन्छ । भाषा र व्याकरणमा पनि खोट लाउने ठाउँ प्रशस्त भेटिन्छन् । यसमा स्वयम् कवि पोख्त भएर पनि यो सङ्ग्रहमा यो पाटो नै सबैभन्दा धेरै हेलचेक््र¥याइँ गरिएजस्तो देखिन्छ । यद्यपि यी पक्षले कविताको वैचारिक र कलात्मक पक्षमा अतिक्रमण गरिहाल्न भने सकेका छैनन् । खजमजिएका ठाउँमा पाठकले आफै आशयको उठान गर्न नसक्ने हैनन् । ‘कमलको फूल आफ्नो लागि निर्धारित ऋतुमा हिलो मै पनि फुलिहाल्छ’ भन्ने दृष्टान्तमा खरो उत्रिएका छन् यस सङ्ग्रहका कविता । विविध भावभूमिका ८८ वटा कविताले यस कृतिको ओज गहकिलो बनाएको प्रतीत हुन्छ ।
कसरी भनौँ
एकबाट एक घटाउँदा
शुन्य हुन्छ भनी !
यहाँ जिन्दगीको हिसाब
गर्नै बाँकी छ
जहाँ एकबाट एक घटे
अर्को एक हुन्छ !
यी कविता पढुञ्जेल एकप्रकारको ध्वन्यात्मक प्रवाहले बाँधिरहन्छ पाठकलाई । कविताका शब्द र वाक्यहरुले कुनै अलौकिक सत्यलाई उजागर गरेको जस्तो भान परिरहन्छ । हरेक कविता पढिसकेपछि सो कविताको शीर्षकले भन्न खोजेको कुराको सार्थक निरुपण भएको अनुभूत गर्न पुग्छ पाठकको । यही चमत्कारिक अभिव्यत्ति नै यी कविताको शक्ति हो । ‘धरहराको बकपत्र’ कुनै अधिवक्ताले न्यायालयमा उभिएर सुनाउने बकपत्रजस्तो नभएर काव्यको आकाशमा धरहराजस्तै अग्लिन पुगेको छ । यो सङ्ग्रह कविको आस्था, मान्यता, मौलिकता, देशप्रेम र दायित्वको परिकल्पनाको अभिलेख नै रहेछ । धरहरा भन्नु अग्लाईको प्रतीक हो । अग्लिनुको बिम्ब हो । विजय र सफलताको द्योतक हो । श्रेष्ठताको व्यञ्जना हो । कविले ‘धरहरा’ लाई सफलता, सम्बृद्धि, सकारात्मक चिन्तन, प्रेमको उत्कर्ष र विकासको बिम्ब बनाएका छन् । यस्तैयस्तै चाहनाको बकपत्र हो यो कवितासङ्ग्रह पनि । यस अर्थले निकै सार्थक र सन्देशप्रद छ कवितासङ्ग्रहको शीर्षक पनि ।
अहा ! म यो हिमालको निधारमा बरालिएँ
कताकता म हेर ती पहाडमा पसारिएँ
सुवास रे म फूलको, म जिन्दगी तरङ्ग हुँ
म मन्दमन्द सिर्सिरे बतासको उमङ्ग हुँ









प्रतिक्रिया दिनुहोस्