सुर्खेत ।
कर्णाली प्रदेशमा सत्ता साझेदार दल नेकपाभित्र मन्त्री छनोटको विषयलाई लिएर विवाद चर्किएको छ । जसले गर्दा सोमबार बिहानका लागि तय गरिएको मन्त्रीहरूको शपथ कार्यक्रम अन्तिम समयमा आएर स्थगित भएको हो । मुख्यमन्त्री मंगलबहादुर शाहीले सोमबार बिहान ११ बजे मन्त्रीहरूको शपथ गराउने तयारी गरेका थिए । त्यसका लागि उनले प्रदेश प्रमुखको कार्यालयसँग समयसमेत मागेका थिए । प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीको आग्रहअनुसार बिहान ११ बजेको समय निर्धारण गरेको थियो ।
तर निर्धारित समय नजिकिँदासम्म पनि मुख्यमन्त्री कार्यालयबाट मन्त्रीहरूको नामावली औपचारिक रूपमा प्रदेश प्रमुखको कार्यालयमा पुग्न सकेन । मन्त्री छनोटमै सत्ता साझेदार नेकपाभित्र सहमति जुट्न नसकेपछि शपथ कार्यक्रम नै स्थगित भएको हो । स्रोतका अनुसार मुख्यमन्त्री शाही स्वयं प्रदेश प्रमुख यज्ञराज जोशीलाई भेट्न प्रदेश प्रमुखको कार्यालय पुगेका थिए । उनले नेकपाभित्र मन्त्री छनोटको विषयमा कुरा नमिलेको भन्दै तत्कालका लागि शपथ कार्यक्रम स्थगित गर्न आग्रह गरेका थिए ।
मुख्यमन्त्रीले आगामी ११ गतेसम्म मन्त्री छनोटको विषय टुंगो लाग्न सक्ने प्रदेश प्रमुखको कार्यालयलाई जानकारी दिएका छन् । नेकपाभित्रको विवादको मुख्य कारण साविक समाजवादी धारलाई प्रतिनिधित्व गर्ने सांसदलाई मन्त्री बनाउने वा नबनाउने भन्ने विषय हो । नेकपाबाट मन्त्रीका रूपमा विन्दमान विष्ट, जुम्कित लामा र मिलन खड्काको नाम चर्चामा थियो । तर साविक समाजवादी धारले उक्त नामप्रति असहमति जनाउँदै आफ्ना तर्फबाट कल्याणी खड्कालाई मन्त्री बनाउनुपर्ने अडान राखेपछि विवाद बल्झिएको हो ।
साविक समाजवादी पक्षले कल्याणी खड्कालाई जसरी पनि मन्त्री बनाउनुपर्ने अडान लिएपछि मुख्यमन्त्री शाहीलाई तीन मन्त्रालयमा मन्त्री चयन गर्न कठिन भएको छ । साविक समाजवादी पक्षसँग समानुपातिकतर्फ एक जना मात्रै सदस्य रहे पनि सत्ता साझेदारीको समीकरणमा आफ्नो प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने उसको माग छ । पार्टी एकीकरणपछि बनेको नेकपाभित्र पूर्वघटकका आधारमा शक्ति सन्तुलन मिलाउनुपर्ने दबाब बढेपछि मन्त्री छनोट थप पेचिलो बनेको हो ।
त्यसमाथि नेकपाका अन्य सदस्यहरूले पनि मन्त्री बन्नका लागि दाबी गरिरहेका छन् । सीमित मन्त्रालय र आकांक्षीको सङ्ख्या बढी भएपछि मुख्यमन्त्री शाहीमाथि सबै पक्षलाई मिलाएर नाम टुंगो लगाउने दबाब बढेको छ । सत्ता साझेदार दल नेकपा र नेकपा एमालेबीच भएको सहमतिअनुसार कर्णाली प्रदेश सरकारमा नेकपाको भागमा तीन मन्त्रालय परेका छन् । सहमतिअनुसार नेकपाले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पाएको छ ।
एमालेले भने आफ्नो भागमा परेका तीनवटै मन्त्रालयमा यसअघि नै मन्त्री पठाइसकेको छ । अब नेकपाले आफ्नो भागमा परेका तीन मन्त्रालयमा मन्त्री पठाउने तयारी गरेको हो । नेकपा स्रोतले यी तीनै मन्त्रालयमा सोमबार नै मन्त्री नियुक्त गर्ने तयारी भएको दाबी गरेको थियो । सोहीअनुसार प्रदेश प्रमुखको कार्यालयमा बिहान ११ बजे शपथका लागि समयसमेत मागिएको थियो । तर मन्त्रीहरूको अन्तिम नाममा पार्टीभित्र सहमति नजुटेपछि पूर्वनिर्धारित कार्यक्रम रोकिएको हो ।
प्रदेश प्रमुखको कार्यालयका हिरालाल चौधरीका अनुसार प्रदेश प्रमुखको कार्यालय शपथ कार्यक्रमका लागि तयारी अवस्थामा रहे पनि कसलाई मन्त्री नियुक्त गर्ने भन्ने औपचारिक जानकारी प्राप्त भएको थिएन । यसले पनि अन्तिम समयमा मन्त्री छनोटमै समस्या देखिएको पुष्टि हुन्छ । नेकपा प्रदेश संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले पनि सोमबार नै नेकपाबाट मन्त्री नियुक्त हुने तयारी रहेको पुष्टि गरेका थिए । तर उनले मन्त्री बन्ने व्यक्तिहरूको नाम भने सार्वजनिक गरेनन् ।
कर्णालीमा सत्ता समीकरणअनुसार नेकपाले पाएको तीन मन्त्रालयका लागि पार्टीभित्रै धेरै सदस्य आकांक्षी छन् । तीन जनाको नाम टुंगो लगाउनुपर्ने अवस्थामा पूर्वसमाजवादी धार, पूर्वमाओवादी धार तथा अन्य समूहबीच सन्तुलन मिलाउनुपर्ने अवस्था मुख्यमन्त्री शाहीसामु देखिएको हो । विशेषगरी साविक समाजवादी धारले आफ्नो प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने अडान लिएपछि यसअघि चर्चामा आएका नाममाथि सहमति जुट्न नसकेको स्रोतको भनाइ छ । यही कारण मन्त्री छनोटको विषय व्यक्तिको छनोटमा सीमित नभई नेकपाभित्रको आन्तरिक शक्ति सन्तुलनसँग जोडिएको छ ।
प्रचण्ड–माधवको भर
मुख्यमन्त्री शाही नेकपा एमालेको समर्थनमा साउन १२ गते मुख्यमन्त्री बनेका थिए । दुई साझेदार दलबीच मन्त्रालयको भागबन्डा मिलेपछि भदौ ३ गते एमालेबाट ३ जना मन्त्री नियुक्त गरिए । तर मुख्यमन्त्रीकै दल नेकपाले मन्त्री छान्न सकेन । नेकपाभित्र कुरा नमिल्नुको प्रमुख कारण–साबिकका दुई धारबिच मन्त्री बन्न चलेको रस्साकसी हो । १३ सिट रहेको नेकपाभित्र साबिक समाजवादीबाट समानुपातिक सदस्य कल्याणी खड्का छिन् ।
उनी जसरी पनि आफू मन्त्री बन्नुपर्छ भन्ने लाइनमा छिन् । अर्कातर्फ नेकपा साबिक माओवादीभित्रैबाट मन्त्री बनाउन चाहन्छ । तर साबिक माओवादीभित्रै अधिकांश सदस्य मन्त्रीका आकांक्षी छन् । यही बीचमा कुरा नमिलेपछि आकांक्षी सात जनाको नाम हेडक्वाटरमा टिपाइएको नेकपा प्रदेश इन्चार्ज चन्द्रबहादुर शाहीले बताए । उनका अनुसार ३ वटा मन्त्रीको छनोट अब केन्द्रबाट प्रचण्ड–माधवले नै लगाएर पठाउनेछन् ।
सरकार गठनका क्रममा भागबन्डा मिलिसके पनि मन्त्री छनोटमा देखिएको विवादले सत्ता साझेदारीभित्रको असन्तुष्टि सतहमा ल्याएको छ । मन्त्रालयको सङ्ख्या सीमित हुँदा एक पक्षलाई समेट्दा अर्को पक्ष असन्तुष्ट हुने अवस्था देखिएपछि नेतृत्वमाथि दबाब बढेको हो । अब नेकपाभित्र सहमति जुटेपछि मात्रै मन्त्रीहरूको नाम प्रदेश प्रमुखको कार्यालयमा पठाइनेछ ।
त्यसपछि प्रदेश प्रमुखको कार्यालयले नयाँ समय निर्धारण गर्नेछ । यसरी कर्णालीमा मन्त्रालयको भागबन्डा टुंगिए पनि मन्त्रीको भागबन्डा नमिल्दा सरकार विस्तारको प्रक्रिया नै रोकिएको छ । अब मुख्यमन्त्री शाहीका लागि तीन मन्त्रीको नाम टुंगो लगाउनु मात्रै नभई नेकपाभित्रका विभिन्न धारलाई सन्तुलनमा राख्दै असन्तुष्टि व्यवस्थापन गर्नु मुख्य चुनौती बनेको छ ।








प्रतिक्रिया दिनुहोस्