काँग्रेसको १५औँ महाधिवेशनः पदाधिकारीका लागि चुनावी प्रतिस्पर्धा



काठमाडौँ ।

नेपाली काँग्रेसको १५औँ महाधिवेशन नेतृत्व चयनको निर्णायक चरणमा प्रवेश गरेको छ । संशोधित विधानअनुसार विस्तार गरिएको केन्द्रीय कार्यसमितिमा स्थान बनाउन नेताहरूबीच प्रतिस्पर्धा तीव्र बनेको छ । योसँगै महाधिवेशन अब नीति, विधान र दस्ताबेजको बहसबाट निर्वाचनको मैदानमा केन्द्रित भएको छ । उम्मेदवारहरूको दोस्रो नामावली प्रकाशन भइसकेपछि काँग्रेस महाधिवेशनको निर्वाचन प्रक्रिया अन्तिम चरणमा पुगेको हो । निर्वाचन कार्यतालिकाअनुसार असोज २१ गते बिहान ९ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ भने बिहान १० बजे अन्तिम नामावली प्रकाशन हुनेछ । त्यसपछि दिनभर उम्मेदवारहरूले प्रचारप्रसार गर्न पाउनेछन् ।

असोज २२ गते बिहान ७ः३० बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका छ । यो निर्वाचन पदाधिकारी चयनको नियमित प्रक्रिया मात्र नभई काँग्रेसको आगामी संगठनात्मक संरचना र नेतृत्वको पुस्तागत स्वरूपसमेत निर्धारण गर्ने अवसरका रूपमा हेरिएको छ । संशोधित विधानले केन्द्रीय कार्यसमितिको आकार २९७ सदस्यीय पु¥याएपछि पदाधिकारीदेखि विभिन्न क्लस्टरका केन्द्रीय सदस्यसम्म प्रतिस्पर्धाको दायरा थप फराकिलो भएको हो । यस महाधिवेशनबाट काँग्रेसको नयाँ केन्द्रीय कार्यसमितिमा सभापतिसहित वरिष्ठ उपसभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्रीको संरचना पनि फेरिएको छ ।

संशोधित विधानअनुसार एक सभापति, एक वरिष्ठ उपसभापति, चार उपसभापति, तीन महामन्त्री र १५ सहमहामन्त्री रहने व्यवस्था गरिएको छ । चार उपसभापतिमध्ये एक महिला अनिवार्य गरिएको छ भने तीन महामन्त्रीमध्ये एक जना महिला हुने व्यवस्था छ । यससँगै काँग्रेसभित्र यसअघि सीमित रहेका पदाधिकारीका प्रतिस्पर्धाका क्षेत्र विस्तार भएका छन् । विशेषगरी वरिष्ठ उपसभापति, थप उपसभापति, महामन्त्री र सहमहामन्त्रीका पदले नेताहरूलाई फरक–फरक समूह, भूगोल, पुस्ता र राजनीतिक आधारबाट प्रतिस्पर्धा गर्ने ठाउँ दिएको छ । सहमहामन्त्रीतर्फ पनि खुला तथा विभिन्न समावेशी क्लस्टरका लागि छुट्टाछुट्टै व्यवस्था गरिएको छ ।

यसले पदाधिकारी निर्वाचनलाई व्यक्तिगत लोकप्रियताको प्रतिस्पर्धाभन्दा पनि समूहगत प्रतिनिधित्व, संगठनात्मक आधार र राजनीतिक समीकरणसँग जोडेको छ । तर, काँग्रेसको केन्द्रीय कार्यसमितिको आकार यसअघि १६७ सदस्यीय मात्रै थियो । गत पुसमा सम्पन्न विशेष महाधिवेशनले त्यसलाई २३२ सदस्यीय बनाएको थियो । अहिले १५औँ महाधिवेशनले संशोधित विधान पारित गर्दै सङ्ख्या २९७ पु¥याएको हो । नयाँ संरचनामा खुलातर्फ ४५ केन्द्रीय सदस्य तथा महिला खुलातर्फ १५ सदस्य रहनेछन् ।

प्रत्येक प्रदेशबाट एक महिलासहित चार जना निर्वाचित हुने व्यवस्था गरिएको छ । दलित, आदिवासी जनजाति, खसआर्य, मधेसी, थारू, जनसम्पर्क समिति, पिछडिएको क्षेत्र, श्रमिक तथा पेशागत विज्ञलगायत विभिन्न समूहका लागि पनि प्रतिनिधित्व सुनिश्चित गरिएको छ । सातै प्रदेशबाट ३५ वर्षमुनिका २१ जना युवा केन्द्रीय समितिमा आउने व्यवस्था पनि नयाँ संरचनाको महत्वपूर्ण पक्ष हो । यसले काँग्रेसको केन्द्रीय नेतृत्वमा युवाको औपचारिक प्रवेशलाई संस्थागत गरेको छ ।

सभापति पदमा गगनसँग भिड्दै श्यामकृष्ण र किशोरसिंह 

नेपाली काँग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि तीन जनाले उम्मेदवारी दिएका छन् । उक्त पदमा काँग्रेस पार्टी सभापति गगन थापा, किशोरसिंह राठौर र श्यामकृष्ण खड्गीले उम्मेदवारी दिएका हुुन् । थापालाई काठमाडौँको बालाजुस्थित सिद्धार्थ वनस्थली इन्स्टिच्युटमा गणित विषय पढाएका शिक्षक भएका कारण उनी र खड्गीबिचको प्रतिस्पर्धालाई रोचकका रूपमा हेरिएको छ । पूर्वविद्यार्थी थापासँग एउटै पदमा प्रतिस्पर्धा गर्नुलाई खड्गीले लोकतान्त्रिक अभ्यासको स्वाभाविक प्रक्रिया बताएका छन् ।

आफूलाई उम्मेदवारी दिन कुनै संकोच नभएको उनले बताए । काँग्रेसभित्रको गुटगत विभाजन र आन्तरिक असमझदारी अन्त्य गर्दै पार्टीलाई एकताबद्ध बनाउने उद्देश्यले आफूले उम्मेदवारी दिएको खड्गीको भनाइ छ । उनले भने, ‘म ७७ वटै जिल्ला र १६५ वटै निर्वाचन क्षेत्रका महाधिवेशन प्रतिनिधिसँग निरन्तर सम्पर्कमा छुु । मेयर, सांसद तथा स्थानीय तहका नेताहरूसँग पनि समन्वय गरेर अघि बढिरहेको छु ।’ साथै गगन थापासँग व्यक्तिगत तिक्तता नरहेको भन्दै थापाको राजनीतिक क्षमताको प्रशंसा पनि गरे ।

निर्वाचनमा हार–जित स्वाभाविक भएको भन्दै आफू पराजित भए पनि थापालाई सहयोग गर्ने खड्गीले बताए । खड्गीको राजनीतिक यात्रा २०४३ सालमा अमृत साइन्स क्याम्पसबाट सुरु भएको हो । नेविसंघका नेता होमराज दाहालबाट सदस्यता लिएपछि उनी सक्रिय राजनीतिमा लागेका थिए । २०४६ सालको जनआन्दोलनमा पनि उनी सक्रिय सहभागी भएका थिए । २०५३ सालको नवौँ महाधिवेशनमा काठमाडौँ क्षेत्र नम्बर ४ का क्षेत्रीय सचिव बनेका खड्गी २०५७ सालमा काँग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए ।

१२औँ महाधिवेशनमा काठमाडौँ जिल्ला कार्यसमितिको सहसचिव बनेका उनी १३औँ र १४औँ महाधिवेशनमा काठमाडौँ क्षेत्र नम्बर ६ का क्षेत्रीय सभापति भएका थिए । हालै सम्पन्न क्षेत्रीय अधिवेशनमा उनी काठमाडौँ क्षेत्र नम्बर ६ बाट सर्वाधिक मतसहित महाधिवेशन प्रतिनिधि निर्वाचित भएको बताउँछन् । ३५–३६ वर्ष शिक्षण पेसामा रहेका खड्गी विकास निर्माण र सामाजिक कार्यमा समेत सक्रिय रहँदै आएका छन् ।

उपसभापति र महामन्त्रीमा आकांक्षीको लर्को

काँग्रेसको नयाँ नेतृत्व चयन प्रक्रिया अन्तर्गत उपसभापति र महामन्त्री पदमा आकांक्षीको सङ्ख्या बढेको छ । एउटै पदका लागि दुई जनाभन्दा बढी उम्मेदवार देखिएपछि यी पदमा प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ । नयाँ नेतृत्व चयनका लागि राष्ट्रिय सभागृहमा भइरहेको निर्वाचन प्रक्रियाअन्तर्गत उपसभापति पदमा १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । शेखर कोइराला पक्ष छाडेर महाधिवेशन उद्घाटनकै दिन संस्थापन पक्षमा खुलेका धनराज गुरुङले पनि उपसभापतिमा उम्मेदवारी दिएका छन् । संशोधित विधानअनुसार काँग्रेसमा उपसभापतिको सङ्ख्या बढाइएको छ ।

एक वरिष्ठ उपसभापति र एक महिला उपसभापतिसहित उपसभापति पदमा निर्वाचन हुने व्यवस्था गरिएको छ । तर, आकांक्षीको सङ्ख्या भने पदको तुलनामा निकै बढी देखिएको छ । जसमा उपसभापतिका आकांक्षीहरूम विनोदकुमार चौधरी, फरमुल्लाह मंसुर, पुष्पा भुसाल, सुरेन्द्रराज पाण्डे, जीवन परियार, प्राडा. चन्द्रमोहन यादव, इ. मधु आचार्य, गोविन्द भट्टराई, मिनेन्द्र रिजाल, दीपक गिरी, चन्द्र भण्डारी, धनराज गुरुङ, देवराज चालिसे, सीता गुरुङ र रञ्जीत कर्ण रहेका छन् ।

यस्तै, महामन्त्री पदमा पनि आकांक्षीको सङ्ख्या उल्लेख्य देखिएको छ । निर्वाचन समितिका अनुसार नौ जनाले महामन्त्री पदमा मनोनयन दर्ता गराएका छन् । संशोधित विधानअनुसार महामन्त्रीमा एक महिलासहित तीन जना निर्वाचित हुनेछन् । तीन पदका लागि नौ जनाले उम्मेदवारी दिएपछि महामन्त्री पदमा पनि प्रतिस्पर्धा बहुकोणीय बन्ने देखिएको छ । जसमा महामन्त्रीका आकांक्षीहरू डा. डिला संग्रौला (पन्त), शंकर तिवारी, डा. सुनीलकुमार शर्मा, नैनसिंह महर, प्रदीप पौडेल, महालक्ष्मी उपाध्याय (डिना), अमरसिंह पुन, रिता खनाल र गुरुराज घिमिरे रहेका छन् । उपसभापति र महामन्त्री दुवै पदमा आकांक्षीको सङ्ख्या बढेसँगै काँग्रेसको नयाँ नेतृत्व चयनमा आन्तरिक प्रतिस्पर्धा थप रोचक बनेको छ । मनोनयन दर्ताको अन्तिम समयसम्म उम्मेदवारको सङ्ख्या अझै बढ्न सक्ने कांग्रेस नेताहरूले बताएका छन् ।

पुस्तान्तरणमा जोड 

महाधिवेशनस्थलमा प्रतिनिधिहरूबीच देखिएको अर्को प्रमुख विषय पुस्तान्तरणको पनि हो । पूर्वसांसद तथा महिला नेतृ कान्तिका सेजुुवालले काँग्रेसको भावी नेतृत्वमा अनुभव र युवाको ऊर्जाबीच समन्वय आवश्यक रहेको बताएकी छन् । उनका अनुसार दशकौँदेखि पार्टीमा योगदान गरेका अनुभवी नेता, कार्यकर्ता, बुद्धिजीवी तथा समर्थकको अनुभवलाई संरचनागत रूपमा सुरक्षित गर्दै नयाँ पुस्ताका अपेक्षा र आकांक्षासँग जोड्नुपर्ने आवश्यकता छ ।

ललितपुर महानगरपालिकाका मेयर तथा महाधिवेशन प्रतिनिधि चिरीबाबु महर्जनले काँग्रेसले अब नेताकेन्द्रित प्रभावभन्दा नीति र कार्यसम्पादनमा जोड दिनुपर्ने धारणा राखे । हिजोका दिनमा नेताहरूको प्रभाव बढी र नीति फितलो भएको भन्दै अब कामयावी र प्रभावकारी नीति आवश्यक रहेको उनको तर्क छ । महाधिवेशन प्रतिनिधि सम्झना खत्रीले ३५ वर्षमुनिका युवालाई नेतृत्व संरचनामा प्राथमिकता दिइनुले पार्टीभित्र नयाँ उत्साह सिर्जना गरेको बताइन् । यसले श्रमिक, महिला तथा जेनजी पुस्ताको सहभागिताले महाधिवेशनको सामाजिक आधार पनि फराकिलो बनाएको उनको बुझाइ छ ।

यस्तै, महाधिवेशनमा प्रस्तुत राजनीतिक दस्ताबेजले पनि पुस्ताबीचको सम्बन्धलाई संस्थागत गर्ने प्रस्तावसमेत अघि सारेको छ । सभापति गगनकुमार थापाले नयाँ पुस्ताको आवाज सुन्न युथ काउन्सिल र अनुभवी पुस्ताको ज्ञान तथा अनुभव ग्रहण गर्न विसडम काउन्सिल गठन गर्ने प्रस्ताव अघि सारेका छन् । प्रस्तावअनुसार युथ काउन्सिलमा १८ वर्षभन्दा माथि र २१ वर्षभन्दा कम उमेरका युवालाई समेट्ने अवधारणा छ ।

अर्कोतर्फ विसडम काउन्सिलमार्फत पाको पुस्ताको अनुभव र ज्ञानलाई पार्टीको निर्णय प्रक्रियासँग जोड्ने प्रस्ताव गरिएको छ । यी दुवै संरचनाले पार्टी सभापतिसँग प्रत्यक्ष संवाद र परामर्श गर्ने तथा उनीहरूका सुझावलाई विधानसम्मत निर्णय प्रक्रियासँग जोड्ने अवधारणा अघि सारिएको छ । यसले काँग्रेसभित्र पुस्तान्तरणलाई पद हस्तान्तरणको विषय मात्रै नबनाई अनुभव र नयाँ पुस्ताको आकांक्षाबीच संवाद कायम गर्ने प्रयासका रूपमा प्रस्तुत गरेको छ ।

काँग्रेसले समावेशिताको बहसलाई केन्द्रीय समितिको सदस्यतामा मात्र सीमित नराखी पदाधिकारी संरचनासम्म पु¥याउने प्रस्ताव गरेको छ । राजनीतिक प्रस्तावमा पार्टीका हरेक तहमा कम्तीमा एक तिहाइ पदाधिकारी महिला रहने दिशामा संरचनागत सुधार अघि बढाउने उल्लेख छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ असोज २१ गते बुधबार