खजुरा क्यान्सर अस्पतालमा गुनासो सुन्न प्रभावकारी संयन्त्र



नेपालगन्ज ।

बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा सेवाग्राहीको गुनासो सुन्नका लागि प्रभावकारी संयन्त्र निर्माण गरिएको छ । अस्पतालमा सेवाग्राहीका गुनासो सुन्ने अधिकारी तोक्दै उनीहरुका गुनासाको संवोधनका लागि अलग्गै गुनासो सुनुवाइ समिति नै बनाइएको छ । अस्पतालका कार्यकारी निर्देशक डा. निरज भट्टराईका अनुसार सेवाग्राहीका गुनासोहरु सुनेर प्रभावकारी रुपले महसुस हुने सम्बोधन गर्नका लागि यस्तो व्यवस्था गरिएको हो ।

उनका अनुसार अस्पतालको गुनासो सुन्ने अधिकारीका रुपमा डा. रुपेश रोशनलाई तोकिएको छ । सूचना अधिकारीमा भने पहिलेदेखि नै डा. प्रविण गुप्ता रहेका छन् । वरिष्ठ नर्सिङ प्रशासकको संयोजक आशा पन्थको संयोकत्वमा रहेको गुनासो सुनुवाइ समितिमा फार्मेसी इन्चार्ज, ल्याब इन्चार्ज, चिकित्सक तथा मेडिकल अफिसरका प्रतिनिधिसमेत सम्मिलित रहेका डा. भट्टराईले बताए ।

अब अस्पतालमा सेवाग्राहीले डा. रोशनलाई सिधै फोन गरेर आफ्नो गुनासो दर्ज गराउन सक्ने र ती गुनासोउपर पहिलो समाधानको पहल स्वयं गुनासो सुन्ने अधिकारीले गर्ने निर्देशन गरिएको छ । गुनासो सुन्ने अधिकारीले समाधान गर्न नसकेको गुनासाहरु गुनासो सुनुवाई समितिबाट समाधान गर्ने र त्यहाँबाट पनि समाधान नभएका गुनासाहरु कार्यकारी निर्देशकले समाधान गर्नेगरी संयन्त्र बनाइएको डा. भट्टराईले जानकारी दिए । डा. भट्टराईले सुशासन नियमावली २०६५ मा भएको गुनासो सुन्ने अधिकारीको व्यवस्था अस्पतालमा पहिलोपटक कार्यान्वयन गरिएको बताए ।

  • No tags available
प्रकाशित मिति : २०८३ साउन ११ गते सोमबार