प्रशासनले उनलाई राजाकै विरुद्धमा बोल्यो भनेर राजकाज मुद्दा लाएर थुनिहाल्यो । फत्तेहसिंहका समर्थकहरूले उनलाई थुनेर राखिएको जिल्ला प्रहरी कार्यालयको घेराउ गरिहाले । उनले अदालतमा ‘मैले श्री ५ महाराजाधिराजको विरुद्धमा बोलेको हैन । मौसूफबाट हामीलाई बक्सेको अधिकार प्रयोग गरेर प्रशासनको कार्यशैलीको आलोचना मात्र गरेको हुँ’ । त्यसपछि उनी थुनाबाट छुटेका थिए ।
विपी अस्तु । नेपालगन्ज ।
२०३३ सालमा फतेहसिंह थारू गाउँफर्क राष्ट्रिय अभियान समितिको केन्द्रीय सदस्य थिए । त्यहीबेला राष्ट्रिय पञ्चायत सदस्यको निर्वाचन हुने भयो । फत्तेहसिंह गाउँफर्कबाट राजीनामा दिएर राष्ट्रिय पञ्चायत सदस्यको चुनाव लड्ने ध्येय बोकेर बाँके फर्किए । त्यतिखेर पञ्चायतका निकायमा चुनाव लड्न गाउँफर्क अभियानको केन्द्रीय समितिको अनुमोदन लिनु पर्ने व्यवस्था थियो । फतेहसिंहले अनुमोदन पाएनन् ।
त्यसपछि गाउँफर्क राष्ट्रिय अभियान केन्द्रीय समितिका पर्यवेक्षक भएर आएका नरसिंहभक्त तुलाचन र गाउँफर्क राष्ट्रिय अभियान बाँके जिल्ला समितिका अध्यक्ष शेखर शर्मासँग आफूलाई उम्मेदवार हुन रोकिएको भन्दै थारूले चर्काे विरोध गरे । अन्ततः सबैलाई समेट्ने गरी सहमति भएपछि फतेहसिंहले जिल्ला पञ्चायतको सभापति पदमा उठ्ने अनुमोदन पाएर उनी तेस्रो पटक बाँके जिल्ला पञ्चायतको सभापति चुनिए ।
तर, थारूले गरेको विरोधको विषयलाई गाउँफर्क राष्ट्रिय अभियान समितिको केन्द्रीय समितिले पञ्चायतको अनुशासन भंग गरेको रूपमा लियो र उनलाई निलम्बनको कारबाही गर्ने निर्णय ग¥यो । काठमाडौँ पुगेर उनले आफूमाथि अन्याय भएको कारण जनाउँदै पत्रकार सम्मेलन गरेर विरोध जनाए । त्यसको केही समयपछि उनको निलम्बन फुकुवा गरियो ।
लेखक खगेन्द्र गिरी कोपिला भन्छन्, ‘पञ्चायतकालमा भएको यस प्रकारको आन्तरिक विद्रोहले उनी विद्रोही पञ्चमा गनिन थाले,’ कोपिला थप्छन्, ‘फतेहसिंह पहिलेदेखि नै स्वाभिमानी थिए । स्पष्टवादी थिए । चाकडी गर्ने स्वभाव थिएन । राजा र पञ्चायती व्यवस्थाप्रति भने हृदयदेखि नै आस्था थियो । दरबारलाई घेरेर बसेका भारादार र प्रशासकहरूसित भने उनको कहिल्यै कुरो मिलेन । त्यही भएर धेरैले उनलाई पञ्चायतविरोधी भनेर केन्द्रमा रिर्पोटिङ गर्थे ।’
कोपिलाले थारूले देखाएको विद्रोही चरित्रको अर्काे उदाहरण तत्कालीन अञ्चलाधीशको विरोध गरेको प्रसँगबाट दिन्छन् । २०४४ सालमा भेरी अञ्चलाधीश थिए नवराज गुरुङ । बाँके जिल्लाका त्यतिखेरका निर्वाचित राष्ट्रिय पञ्चायत सदस्य थिए फेतहसिंह थारू । प्रशासक र जनप्रतिनिधिको टकराव चर्किँदै गयो । एक दिन फतेहसिंहले आफ्नो चिरपरिचित विद्रोही शैलीमा भाषण गरे, ‘यस्तो तानाशाही ढङ्गले अबको युगमा चल्दैन । कसैले इदिअमिन हुन नखोजे हुन्छ ।’ अनि त के थियो र ?
प्रशासनले उनलाई राजाकै विरुद्धमा बोल्यो भनेर राजकाज मुद्दा लाएर थुनिहाल्यो । फतेहसिंहका समर्थकहरूले उनलाई थुनेर राखिएको जिल्ला प्रहरी कार्यालयको घेराउ गरिहाले । उनले अदालतमा ‘मैले श्री ५ महाराजाधिराजको विरुद्धमा बोलेको हैन । मौसूफबाट हामीलाई बक्सेको अधिकार प्रयोग गरेर प्रशासनको कार्यशैलीको आलोचना मात्र गरेको हुँ’ । त्यसपछि उनी थुनाबाट छुटेका थिए ।
यसरी आफूआबद्ध राजनीतिक संगठनभित्रै पनि गलत र अन्यायको विरोध गर्ने स्वाभवका थारू आफ्ना सन्दर्भमा भन्छन्, ‘मलाई न कसैको दास हुनु छ, न लास भएर अकर्मण्यतामा समायोजन हुनु छ ।’ थारूको यो भनाइ मध्यपश्चिम स्रष्टा समाज नेपालगन्जले प्रकाशन गरेको ‘सद्भावको सहर नेपालगन्ज’ पुस्तकमा संग्रहित छ । उक्त पुस्तकमा थारूको विचार समेट्ने क्रममा भएको कुराकानीका क्रममा पुस्तकका कार्यकारी सम्पादक अमृत शर्मासँग उनले आफ्नो हकी र विद्रोही चरित्रको उदाहरण दिँदै भनेका छन्, ‘मैले जनताको पक्षमा बोल्दै गर्दा कुनै पनि डर धम्कीको कल्पनासम्म गरेनँ ।
एकपल्ट राजा वीरेन्द्रको सुर्खेत सवारी हुनुभन्दा केही समय पहिला गाउँमा आगलागी भएको थियो । राजाको सुर्खेत सवारीका बेला म पनि पुगेँ र समस्या राखेँ । गृहमन्त्री खड्कबहादुर सिंहले पीडित परिवारलाई घर बनाउनको लागि काठ दिइसकेको निवेदन गर्नुभो राजाको अगाडि । मैले हात उठाएर भनेँ, ‘सरकार वहाँले घर बनाउनलाई होइन फेरि जलाउनलाई काठ उपलब्ध गराउनु भा’छ…!’
राजा वीरेन्द्रलगायत उपस्थित सबै हाँसे । मैले थपेँ, ‘घर निर्माण गर्दा कति डिस्टेन्समा निर्माण गर्ने भन्ने मापदण्ड पनि त हुनुप¥यो कि एक घरमा आगो लाग्दा पूरै गाउँ नै स्वाहा नहोस् ।’ राजा वीरेन्द्रले मेरो त्यस कुरालाई अत्यन्तै गम्भीरतापूर्वक लिएर ‘उनको कुरा ठीक हो’ भन्नुभयो ।’ यसरी अन्याय र गलतको विरोधमा निर्धक्क बोल्ने थारूले राजसंस्थाको पक्षधरता भने आफ्नो जीवनकालभर छोडेनन् ।
उनले राजतन्त्रप्रतिको विश्वास र अहिलेको गणतान्त्रिक व्यवस्थाप्रतिको अविश्वासलाई ‘सद्भावको सहर नेपालगन्ज’ पुस्तकमै व्यक्त गर्दै भनेका छन्, ‘आजको व्यवस्थालाई व्यवस्थित गर्ने जिम्मा लिएकाहरूबाट नेपाल समृद्ध हुन्छ जस्तो मलाई त लाग्दैन । परिवर्तन, गतिशीलता र सचेतनाको नारा दिएर ल्याइएको आजको व्यवस्थाको उचाइ चङ्गाको जस्तो छ– लट्टाई त अरूकै हातमा छ नि ! उचाइ त रूखको जस्तो हुनुप¥यो जसको उचाइ आफ्नै जरामा थामिएको होस् ।’
यसरी राजतन्त्रलाई आफ्नै जरामा थामिएको व्यवस्था ठान्ने थारू प्रजातन्त्रको भने पक्षधर भएको उनको विचारसँग असहमत हुनेहरू पनि स्वीकार्छन् । वामपन्थी चिन्तक तथा लेखक नरेन्द्रजंग पिटर उनलाई ‘पञ्चायतभित्रका वामपन्थी’को संज्ञा दिन्छन् । उनको प्रजातान्त्रिक चरित्रको उदाहरणको उनले आफू पञ्चायती भएर पनि काँग्रेसको पर्चाहरू बाँड्न गरेको सहयोग भएको पिटरले बताए ।
उनी भन्छन्, ‘स्वभावैले प्रजातन्त्रवादी रहेका र पञ्चायतभित्र ‘लेफ्ट’ राजनीति गरेका फत्तेसिंह थारू जिल्ला पञ्चायत सभापति हुँदा गाडीबाट बहुदलका पर्चा छरेका थिए । मण्डले राजनीतिविरुद्ध प्रजातन्त्रवादी तरुणहरूको ‘दीपेन्द्र युवा क्लब’को संरक्षक बनेका थिए, जसले तरुणहरूलाई व्यवस्थाको कोपभाजन र अञ्चलाधीशको दबाबबाट मुक्त गराएको थियो । पञ्चायतको चुनावमा उनी सधैँ सरकारी उम्मेदवारको विपक्षमा उभिए ।’ थारू स्वयंले पनि उपरोक्त पुस्तकमै भनेका छन्, ‘म गाउँ पञ्चायतको सभापति भएकै बेला काँग्रेसीहरूको आग्रहमा तरुण पत्रिकाको सहज आगमनको आन्तरिक प्रबन्ध गरिदिएको थिएँ ।’
तर उनी प्रजातन्त्रिक व्यवस्थामा पनि प्रजातन्त्रकै पक्षधरहरूबाट संकीर्णताको सामना गर्नुपरेको गुनासो पनि गर्थे । उनले भनेका थिए, ‘मलाई लाग्थ्यो प्रजातन्त्रवादी हुनु भनेको महान चिन्तन हो । तर आज प्रजातन्त्रवादी भन्नेहरूकै व्यवस्थामा फरक मत खुम्चिनु परेको छ ।’ थारूले फरक मत खुम्चिनु परेको भनेर गरेको गुनासोजस्तै सात पटक मन्त्री भइसकेका व्यक्ति र नेपालमा उच्च शिक्षाको व्यवस्था नहुँदा भातरबाट राजनीति शास्त्रमा एमए र डिप्लोमा इन फरेन अफेयर्सको अध्ययन गरेका थारू आफ्नो अनुभव समाजलाई दिने समयमा समाजको संकीर्ण मानसिकताको सिकार भएको राजनीति शास्त्रका प्रा.डा. जनार्दन आचार्य पनि बताउँछन् ।
जीवनको उत्तरार्धमा थारूको अनुभव र विज्ञताको लाभ खुलेर बाड्न थारूले पनि ईच्छा नदेखाएको र समाजले पनि उनलाई उपयुक्त मूल्य दिन चुकेको आचार्यको भनाइ छ । उनले भने, ‘हाम्रो समाज बौद्धिकता र प्राज्ञिकताको सम्मान गर्ने समाज बन्न सकेन । उहाँलाई सामाजिक छलफलका मञ्चहरूमा सम्मानपूर्वक स्वीकारिएन । त्यसको क्षति उहाँलाई भन्दा बढी समाजलाई नै भयो ।’ लेखक पिटर थारूको जीवनमा २०४६ सालमा घटेको अप्रिय घटनाले पनि उनको सार्वजनिक अभिव्यक्तिको संकुचनमा भूमिका खेलेको हुनसक्ने अनुमान गर्छन् ।
प्रजातन्त्र पुनस्र्थापनापछि २०४६ चैत २४ गते थारू बाँके आएको मौकामा उनलाई मण्डले भनेर आन्दोलनकारीहरूले कालो मोसो दलेर जुत्ताको माला लगाएर नेपालगन्जको बजारमा ठेलामा घुमाएका थिए । उक्त घटनाले उनमा बाँकेको राजनीति र बौद्धिकताप्रति विश्वास हटेको हुनसक्ने पिटरले बताए । त्यसको सिकार आफू पनि भएको उनको भनाइ छ । पिटरले पटक पटक आफूले थारूसँग उनीसँग भेटघाट र संवादका लागि समय माग्दा पनि समय नपाएको बताएका छन् ।
त्यसको कारण थारूले आफूलाई पनि कालोमोसो दल्नेहरूमध्येमै रहेको शंका गरेको हुनुपर्ने उनको बुझाइ छ । थारूलाई परेको भ्रम चिर्न नपाउँदै उनी बिदा भएकोमा पिटर पश्चाताप व्यक्त गर्छन् । थारूको विद्रोही तथा आत्मविश्वासी चरित्रको उदाहरण कालोमोसो प्रकरण पनि भएको लेखक कोपिला बताउँछन् । कालोमोसो लगाइएकै थारूले त्रिभुवन चोकमा मोसोसहित कै अनुहार नपखालिकनै भाषण गर्दै भनेका थिए, ‘म छिटै फूलमाला लगाएर यही ठाउँमा आइपुग्ने छु ।’
नभन्दै त्यसको चार वर्षमै २०५१ सालमा बाँके क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाको चुनाव जितेर फूलमाला पहिरेर त्यही चोकमा भाषण गर्न आइपुगेका थिए थारू । पिटर पनि उक्त घटनाको प्रत्यक्षदर्शीको रूपमा भन्छन्, ‘उनलाई कालोमोसो दलेर बजार घुमाइएको केही समयपछि पुनः नयाँ कपडा लगाएर थारू जहाँ जहाँ कालोमोसोसहित घुमाइएको थियो त्यहीँ त्यहीँ घुमेका थिए ।’ प्रा.डा. आचार्य आफूले बुझेसम्म थारूले कालोमोसो प्रकरणलाई नै लिएर गुनासो बोकिनराखेको बताउँछन् । ‘उहाँ त्यस्ता कुरालाई मनमा लिइराख्ने खालको मान्छे हो जस्तो मलाई लाग्दैन । बरु उहाँले हाम्रो समाजको संकीर्ण चरित्रलाई मूल्य नदिएको भने हुनसक्छ,’ आचार्यले भने।
थारूको अनुभव र उनको जीवनका उतारचढावको अभिव्यक्ति उनीबाटै लिन समाज मात्रै नभई उनकै परिवारका सदस्यहरू वञ्चित हुन पुगेको उनकी छोरी तथा साहित्यकार सिवानीसिंह थारूको अभिव्यक्तिले पनि दिन्छ । बुवाको देहावसानपछि भावुक भिडियो सन्देश जारी गर्दै सिवानीले भनेकी छन्, ‘उहाँ आम जिन्दगी र आम मान्छेको जिन्दगीमा परिवर्तन ल्याउन चाहनुहुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो म थारूको छोरा कसरी यहाँसम्म आइपुगेँ तिमिहरूलाई के थाहा भन्नुहुन्थ्यो । तर हामीले कहिल्यै सोध्दा पनि सोधेनौँ कसरी आइपुग्नुभयो भनेर । हाम्रो आफ्नै गुनासाहरू थिए ।’
थारूको जीवन संक्षिप्तमा
बाँकेको थपुवा गाउँको जमिनदारको घरमा जन्मिएका स्वर्गीय फत्तेहसिंह थारूले नेपालगन्जको मंगलप्रसाद माविमा छ कक्षासम्म पढेका थिए । त्यसपछि गोरखपुरमा गएर माध्यमिक तह उत्तीर्ण गरे । त्यसपछि प्रयागराज गएर आईए पास गरेपछि उनी वीए पढ्न काठमाडौँ पर्किए । त्रिचन्द्र कलेजबाट वीए पास गरेपछि उनी एमए गर्न लखनउ गए । लखनउबाट राजनीतिशास्त्रमा एमए र ‘डिप्लोमा इन फरेन अफेयर्स’को डिग्री उत्तीर्ण गरे । पढाइ सकेर २०२१ सालमा स्वदेश फर्किएका फतेहसिंह राजनीतिमा प्रवेश गरे ।
उनले जीवनको उत्तरार्धसम्म पनि राजसंस्थाप्रतिको निष्ठालाई छोडेनन् । थारू २०३८ सालमा बाँके जिल्लाको १ स्थानका लागि राष्ट्रिय पञ्चायत सदस्यको निर्वाचित भएका थिए भने सोही सिटमा २०४३ साल वैशाखमा भएको निर्वाचनमा पनि निर्वाचित भएका थिए । थारू २०५१ साल कात्तिक २९ गते सम्पन्न प्रतिनिधिसभाको मध्यावधि चुनावमा बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए ।
थारू सूर्यबहादुर थापाले नेतृत्व गरेको मन्त्रीपरिषद्मा २०३८ साल असार २ गतेदेखि २०३९ साल असोज २४ गतेसम्म करिब १६ महिना सञ्चार राज्यमन्त्री रहेका थिए । त्यसपछि लोकेन्द्रबहादुर चन्दले नेतृत्व गरेको मन्त्रीपरिषद्मा उनी २०४० साल असार २९ गतेदेखि २०४२ साल जेठ १ गतेसम्म करिब २२ महिना शिक्षा तथा संस्कृति राज्यमन्त्री रहेका थिए । उनले आवास तथा भौतिक योजनामन्त्रीको रूपमा २०४६ साल चैत १९ गतेदेखि २४ गतेसम्म पाँच दिन मरिचमान श्रेष्ठको मन्त्रीपरिषद्मा पनि काम गरेका थिए ।
२०५२ साल असोज ६ गते शेरबहादुर देउबाको संयुक्त सरकारमा थारू वाणिज्यमन्त्री नियुक्त भएका थिए । करिब १५ महिनापछि २०५३ साल पुस २४ गते कृषिमन्त्री बनाइएका उनी करिब ३ महिनाजति कृषिमन्त्री रहेका थिए । २०५४ साल असोज २७ गते सूर्यबहादुर थापाले नेतृत्व गरेको सरकारमा उद्योगमन्त्री बनाइएका उनी दुई महिनापछि २०५४ साल मंसिर १८ गते रक्षामन्त्री बनाइएका थिए । त्यसको १ महिना नपुग्दै २०५४ साल पुस १५ गते उनले रक्षामन्त्रीको पदबाट राजीनामा दिएका थिए ।
समाजका विभिन्न क्षेत्रका व्यक्ति र व्यक्तित्वहरूबारे अध्ययन गर्दा पिटर बाँकेको राजनीतिक क्षेत्रको शिखर व्यक्तित्वको रूपमा फत्तेसिंह थारू भएको बताउँछन् । बाँकेबाट निर्वाचित भएका जनप्रतिनिधिमध्ये सुशील कोइराला प्रधानमन्त्री भए पनि जनस्तरमा लोकप्रियता र सम्बन्धका हिसाबले थारू नै अग्रपंक्तिमा रहेको उनी बताउँछन् । पिटर भन्छन्, ‘उनी जमिनदारका छोरा हुन् । तर उनले गाउँमा गएर गाउँका जनताकै खाने, बस्ने सुत्ने र जनतासँगै अन्तक्र्रिया गर्ने गर्थे । त्यसैले नै उनलाई प्रजातन्त्रपछि पनि निर्वाचित हुनसक्ने जनमतको जग दियो ।’ थारू तराईको आदिवासी थारू समुदायबाट राज्यको उच्च ओहोदामा पुग्ने निकै कम व्यक्तिमध्येमा पर्दछन् ।









प्रतिक्रिया दिनुहोस्