विष्णु डिसी । नेपालगन्ज ।
लाखौँ रूपैयाँ खर्च गरेर जडान गरिएका नेपालगन्ज उपमहानगरपालिकाभित्रका अधिकांश ट्राफिक लाइट करिब एक वर्षदेखि सञ्चालनविहीन अवस्थामा छन् । जेनजी आन्दोलनका क्रममा तोडफोड गरिएका ट्राफिक संकेत प्रणाली लामो समयदेखि मर्मत हुन नसक्दा ती प्रयोगविहीन बनेका हुन् । यसको प्रत्यक्ष असर दैनिक ट्राफिक व्यवस्थापनमा परेको छ भने दुर्घटनाको जोखिमसमेत बढ्दै गएको छ ।
दैनिक हजारौँ सवारीसाधन आवतजावत गर्ने राँझा चोक, पुष्पलाल चोक, गणेशमान चोकलगायतका व्यस्त क्षेत्रमा ट्राफिक लाइट बन्द भएपछि पैदलयात्रीलाई सडक पार गर्न कठिन भएको छ । विशेषगरी बिहान र साँझको व्यस्त समयमा लामो जाम लाग्ने, चालकहरूबीच बाटो मिचामिच हुने तथा सवारी व्यवस्थापन अव्यवस्थित बन्ने समस्या बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक कनकबहादुर शाहीका अनुसार जेनजी आन्दोलनका क्रममा नेपालगन्जका अधिकांश ट्राफिक लाइटमा क्षति पुगेपछि ती अझै सञ्चालनमा आउन सकेका छैनन् ।
धम्बोझी चोकबाहेक नेपालगन्जका सबै ट्राफिक लाइट बिग्रिएको उनी बताउँछन् । ‘ट्राफिक लाइट बिग्रिएकाले ट्राफिक व्यवस्थापनमा समस्या भइरहेको छ,’ उनले भने, ‘आन्दोलनका क्रममा भएको क्षतिसँगै जनशक्ति अभावका कारण पनि ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । त्यसका लागि भएका जनशक्तिलाई उपयोग गरेर व्यवस्थापन गर्न सक्दो प्रयास गरिहेका छौँ ।’ बिग्रिएका ट्राफिक लाइट मर्मत तथा पुनः सञ्चालनका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको उनी बताउँछन् ।
केही वर्षअघि नेपालगन्जका मुख्य चोकहरूमा आधुनिक ट्राफिक व्यवस्थापन प्रणालीका रूपमा जडान गरिएका ट्राफिक लाइटले सवारी आवागमनलाई व्यवस्थित बनाउनुका साथै दुर्घटना न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेलेका थिए । तर आन्दोलनपछि भएको तोडफोड र त्यसको मर्मतमा भएको ढिलाइले राज्यको लाखौँ रूपैयाँको लगानी उपयोगविहीन बनेको छ ।
यता, नेपालगन्जको पुष्पलाल चोकको अवस्था पनि चिन्ताजनक बन्दै गएको छ । चोक अहिले मिनी बसपार्कजस्तै देखिन थालेको छ । सार्वजनिक सवारीसाधनले चोकमै यात्रु चढाउने–ओराल्ने, यात्रु तानातान गर्ने तथा ई–रिक्साहरूले जथाभावी पार्किङ गर्ने प्रवृत्ति बढेको छ । यसले सर्वसाधारणलाई आवतजावतमा सास्ती हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढाएको गौसरी महताराले बताइन् ।
उनका अनुसार व्यस्त चोकमै हुने अव्यवस्थित पार्किङ, सार्वजनिक सवारीसाधनको मनपरी रोकावट तथा ई–रिक्साको अनियन्त्रित सञ्चालनका कारण ट्राफिक व्यवस्थापन थप जटिल बन्दै गएको छ । सम्बन्धित निकायले ट्राफिक लाइट मर्मतसँगै चोकहरूको व्यवस्थापनमा पनि प्रभावकारी कदम चाल्नुपर्ने स्थानीयको माग छ ।









प्रतिक्रिया दिनुहोस्