नन्दराम जैशी । सुर्खेत ।
कर्णाली प्रदेशको पहिचान तथा सुर्खेतको प्रमुख पर्यटकीय गन्तव्य र प्राकृतिक सम्पदाको प्रतीकका रूपमा परिचित बुलबुले ताल यतिबेला अस्तित्वकै संकटसँग जुधिरहेको छ । वर्षौँदेखि निरन्तर बग्ने प्राकृतिक मुहान एकाएक सुक्नथालेपछि तालको पर्यावरणीय प्रणालीमा गम्भीर असर देखिएको हो । यसले एउटा पर्यटकीय स्थलको सौन्दर्य मात्रै नभइ विकासका नाममा प्रकृतिमाथि गरिएको हस्तक्षेपको परिणामबारे बहस हुन थालेको छ ।
स्थानीयवासी, वातावरण संरक्षणमा सक्रिय व्यक्तिहरू र सरोकारवालाले ताल सुकेको पछाडि प्राकृतिक कारणभन्दा पनि वर्षौँदेखि हुँदै आएको अव्यवस्थित निर्माण, कङ्क्रिट संरचनाको विस्तार, सिमसार क्षेत्रको अतिक्रमण र भूमिगत जलप्रवाहमा परेको असरलाई मुख्य कारणका रूपमा औँल्याएका छन् । बुलबुले तालको प्राकृतिक स्वरूप संरक्षण गर्नुपर्ने ठाउँमा पछिल्ला केही वर्षयता यसलाई आधुनिक पर्यटकीय केन्द्र बनाउने नाममा ठूला संरचनाहरू निर्माण गरिएका थिए ।
तालको प्राकृतिक किनारलाई पक्की पर्खालले घेर्ने, सिमसार क्षेत्र सम्याएर नयाँ संरचना थप्ने, मोटरबोट सञ्चालन गर्ने तथा थप कृत्रिम ताल निर्माण गर्ने कामले प्राकृतिक जलचक्रमा प्रत्यक्ष असर पारेको स्थानीयवासी लक्ष्मी गौतम बताउँछन् । वीरेन्द्रनगरका स्थानीय चन्द्रबहादुर थापाका अनुसार विकासका नाममा डोजर चलाइयो, प्राकृतिक जमिन पुरियो र कङ्क्रिटले ढाकियो । त्यसको परिणाम अहिले बुलबुलेका मूलधारा नै सुकेर देखिन थालेको उनले बताए ।
‘बुलबुले एउटा ताल मात्रै होइन, वीरेन्द्रनगर उपत्यकाको भूमिगत जलप्रणालीसँग जोडिएको संवेदनशील सिमसार क्षेत्र हो,’ उनले भने, ‘त्यसैले यसको प्राकृतिक संरचनामा हस्तक्षेप गर्दा अहिले देखिएको जस्तो समस्या आउनु अस्वाभाविक होइन । झन् क्षति बढ्ने सम्भावना छ ।’
गुरुयोजनाबाट सुरु भयो परिवर्तन
बुलबुलेको स्वरूप परिवर्तन गर्ने योजना २०७४ सालमा सुर्खेत उपत्यका नगर विकास समितिले ल्याएको २० वर्षे गुरुयोजनासँगै अघि बढेको देखिन्छ । झण्डै ३१ करोड ६३ लाख रूपैयाँँ लागत अनुमान गरिएको योजनामा पार्किङ, चक्रपथ, पक्की सडक, विश्रामस्थल, रेस्टुरेन्ट, स्विमिङ पुल, सोलार बत्ती लगायतका आधुनिक संरचना निर्माण गर्ने लक्ष्य राखिएको थियो । यसै अवधिमा प्राकृतिक ताललाई विस्तार गरी पक्की पर्खालले घेरियो ।
सिमसार क्षेत्रमा भारी उपकरण प्रयोग गरियो । त्यसपछि मोटरबोट सञ्चालन सुरु गरियो । अहिले फेरि कर्णाली प्रदेश सरकारको करिब दुई करोड ५० लाख रूपैयाँँ लागतमा थप कृत्रिम ताल निर्माणको काम भइरहेको छ । प्राकृतिक सिमसार क्षेत्रलाई क्रमशः कृत्रिम संरचनाले प्रतिस्थापन गर्दै लैजाँदा भूमिगत जलस्रोतमा प्रत्यक्ष असर पुगेको हुन सक्ने वातावरणीय क्षेत्रका जानकारहरूको बुझाइ छ । बुलबुलेको प्राकृतिक मुहान सुकेको विषय सार्वजनिक चासोको विषय बनेपछि वीरेन्द्रनगर नगरपालिकाले प्राविधिक अध्ययन गर्ने जनाएको छ ।
नगरप्रमुख मोहनमाया ढकालले भूगर्भविद्सहितको टोलीमार्फत विस्तृत अध्ययन गरिने बताउँदै वास्तविक कारण वैज्ञानिक अनुसन्धानपछि मात्रै पुष्टि गर्न सकिने बताइन् । उनका अनुसार पछिल्ला वर्षहरूमा बुलबुले आसपास बस्ती विस्तार, भूमिगत पानीको प्रयोग तथा अन्य मानवीय गतिविधिले पनि जलस्रोतमा प्रभाव पारेको हुन सक्छ ।
बुलबुले उद्यान कार्यालयका प्रमुख शिखर चपाईंले भने बाहिर प्रचार गरिएजस्तो ताल समाप्त नभएको दाबी गरेका छन् ।
उनका अनुसार अहिले बुलबुलेको मुख्य धारा मात्र सुकेको हो । जमिनमुनिका पुराना संरचनामा क्षति पुग्दा पानी अन्यत्र चुहिएको हुन सक्ने अनुमान गरिएको छ । ती संरचनाको मर्मत गरेपछि पुनः पानी फर्कने उनले विश्वास व्यक्त गरे । वातावरणविद्हरूका अनुसार बुलबुले जस्ता सिमसारले भूमिगत पानी पुनःभरण गर्ने, जैविक विविधता संरक्षण गर्ने, स्थानीय तापक्रम सन्तुलनमा राख्ने तथा प्राकृतिक जलप्रवाह कायम राख्ने महत्वपूर्ण भूमिका खेल्छन् ।
यस्तो क्षेत्रमा अत्यधिक कङ्क्रिट प्रयोग, प्राकृतिक माटो हटाउने, भूमिगत पानीको मार्ग अवरुद्ध गर्ने तथा कृत्रिम संरचना थप्ने कार्यले दीर्घकालीन वातावरणीय क्षति निम्त्याउन सक्छ । बुलबुलेमा देखिएको समस्या त्यसैको प्रारम्भिक संकेत हुन सक्ने चिन्ता वातावरणविद्हरूले व्यक्त गर्दै आएका छन् । यदी वैज्ञानिक अध्ययनमार्फत वास्तविक कारण पहिचान गरी प्राकृतिक जलप्रवाह पुनस्र्थापना गर्न आवश्यक कदम चालिएन भने बुलबुलेको संकट अझ गहिरिने जोखिम रहेको विज्ञहरूको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्