काजकिरिया र शव ओसारपसार खर्च कर्णाली सरकारले व्यहोर्ने



नन्दराम जैशी । सुर्खेत ।

कर्णाली प्रदेश सरकारले बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्मा परी मृत्यु भएका नागरिकको काजकिरिया र शव ओसारपसार खर्च व्यहोर्ने भएको छ । कर्णाली प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले विपद्पीडित नागरिकको उद्धार, राहत र पुनस्र्थापनाका लागि तत्कालदेखि दीर्घकालीन योजना कार्यान्वयन गर्ने निर्णय गरेको हो । मृतकका परिवारलाई काजकिरिया तथा शव ओसारपसार खर्च उपलब्ध गराउने बैठकले निर्णय गरेको छ ।

मुख्यमन्त्रीको उपस्थितिमा बसेको बैठकले प्रदेशका प्रत्येक जिल्लाको विपद् कोषमा तत्काल १५ लाख रूपैयाँँ उपलब्ध गराउने निर्णयसमेत गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका प्रवक्ता सुरेन्द्र शाहीका अनुसार बाढी तथा पहिरोमा मृत्यु भएकाको काजकिरिया र शव ओसारपसारको सम्पूर्ण खर्च प्रदेश सरकारले व्यहोर्ने भएको हो । उपचारपछि घर फर्कनुपर्ने घाइतेलाई आवश्यक यातायात खर्चसमेत उपलब्ध गराइने उनले बताए । बैठकले रसुवाको भोटेकोशी बाढी तथा जाजरकोटलगायत जिल्लामा गएको पहिरोबाट प्रभावित नागरिकको राहत र पुनस्र्थापनामा सहयोग गर्ने निर्णय गरेको छ ।

भोटेकोशी बाढीमा ज्यान गुमाएकाप्रति दुःख व्यक्त गर्दै बेपत्ताको खोजी तथा घाइतेको उपचारका लागि आवश्यक समन्वय गर्ने निर्णय पनि भएको छ । प्राकृतिक विपदमा परी ज्यान गुमाएका कर्णालीका नागरिकका परिवारलाई राष्ट्रिय बीमा कम्पनीमार्फत दुई लाख रूपैयाँँ बीमा रकम उपलब्ध गराउने व्यवस्था रहेकाले आवश्यक कागजात पेस गर्न प्रदेश सरकारले आग्रह गरेको छ । प्रदेश सरकारले रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रको राहत तथा क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्ने प्रक्रिया पनि अघि बढाउने भएको छ ।

त्यस्तै जाजरकोटको भेरी नगरपालिका–२, रिसाङमा साउन ३० गते गएको पहिरोबाट पूर्ण क्षति भएका घर तथा भौतिक संरचनाको पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय गरिएको छ । पुनर्निर्माणका लागि शहरी विकास मन्त्रालयले आवश्यक प्रक्रिया अघि बढाउनेछ । बैठकले जाजरकोटको आपत्कालीन गोदामबाट पठाइएका राहत सामग्रीलाई स्वीकृति दिँदै गोदाममा आवश्यक सामग्रीको मौज्दात कायम राख्ने व्यवस्था मिलाउने निर्णय पनि गरेको छ । दीर्घकालीन विपद् व्यवस्थापनका लागि ‘प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्र सञ्चालन कार्यविधि’ एक महिनाभित्र तयार गरिने भएको छ ।

आगामी विपद्का बेला तत्काल उद्धारका लागि सुरक्षा निकायसँग समन्वय गरी आवश्यक उद्धार सामग्रीको व्यवस्थापन गरिने प्रदेश सरकारले जनाएको छ । प्रदेशको भौगोलिक जोखिम र हिमनदीको अवस्थाबारे इसिमोडसँग सहकार्य गरी अध्ययन गर्ने तथा उच्च हिमाली क्षेत्रमा मौसम तथा जलवायु मापन केन्द्र स्थापना गर्ने प्रक्रिया पनि अघि बढाइने तयारी छ । त्यस्तै नदी नियन्त्रणलाई तटबन्ध निर्माणमा मात्र सीमित नराखी पानीका मुहान संरक्षणमा जोड दिने र प्रदेश सरकारको लगानीमा निर्माण हुने ठूला सरकारी भवन तथा पुलको अनिवार्य बीमा गर्ने निर्णयसमेत भएको प्रवक्ता शाहीले जानकारी दिए ।

भोटेकोशी नदीमा आएको बाढीका कारण कर्णालीका एक जनाको मृत्यु भएको छ भने बुधबार बिहानसम्म १९४ जना अझै सम्पर्कविहीन छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार बाढीमा परी २७० जना सम्पर्कविहीन भएकामा ७५ जना सम्पर्कमा आएका हुन् । प्रदेश प्रहरी प्रमुख डीआईजी जयराज सापकोटाले हराइरहेका मध्ये धेरै रोजगारीका लागि त्यहाँ गएको बताए । उनका अनुसार धेरै जना विभिन्न हाइड्रोपावरमा काम गर्न गएकाहरू छन् भने केही सरकारी जागिरे रहेको पाइएको छ । तर खोजीका विभिन्न प्रयास जारी छन् ।

उनका अनुसार सबैभन्दा बढी जुम्लाका ८१ जना सम्पर्कविहीन छन् । त्यस्तै सल्यानका ५५, सुर्खेतका १६, मुगुका ११, रुकुम पश्चिमका नौ र कालीकोटका ६ जना सम्पर्कविहीन छन् । हुम्लाका सात, दैलेखका पाँच, जाजरकोटका तीन र डोल्पाका दुुई जना सम्पर्कमा आउन नसकेको उल्लेख छ । सम्पर्कविहीन भएकामा १५९ पुरुष, २८ महिला र सात जना बालबालिका भएको कार्यालयको तथ्यांक छ । कार्यालयका अनुसार भोटेकोशी बाढीमा परी सल्यानका एक जनाको मृत्यु भएको पृष्टि भएको हो ।

बाढीपीडितलाई विद्यार्थीको सहयोग

सल्यानको शारदा नगरपालिका ३ मा रहेको एमएम एकेडेमी प्रालिका विद्यार्थीले बाढीपीडितका लागि एक लाख २८ हजार ८०५ रूपैयाँँ आर्थिक सहयोग गरेका छन् । विद्यालयले संस्थागत सहयोगसँगै कार्यरत शिक्षक कर्मचारी, अध्ययनरत विद्यार्थी तथा साहुटोल बजार क्षेत्रबाट रकम संकलन गरेको हो । विद्यार्थीकै अगुुवाइमा एमएम एकेडेमी प्रालिबाट ३३ हजार ८२० रूपैयाँँ, शिक्षक कर्मचारीबाट ३८ हजार पाँच रूपैयाँँ, विद्यार्थीबाट २९ हजार १५ रूपैयाँँ र साहुटोल बजार क्षेत्रबाट २७ हजार ९६५ रूपैयाँँ संकलन भएको थियो ।

विद्यालयका सञ्चालक महेश देवकोटाले बाढीपीडितलाई सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यालय परिवार तथा स्थानीय बजार क्षेत्रको सहयोगमा रकम संकलन गरिएको बताए । विपद्को समयमा पीडितको दुःखमा साथ दिनु सामाजिक दायित्व भएकाले आफूहरूले सकेको सहयोग गरेको उनको भनाइ छ । संकलित एक लाख २८ हजार ८०५ रूपैयाँँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ ।

गुठीचौरको १२ लाख ६७ हजार सहयोग

जुम्लाको गुठीचौर गाउँपालिकाले भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतका लागि १२ लाख ६७ हजार आर्थिक सहयोग उपलब्ध गराएको छ । गाउँपालिकाको विपद् व्यवस्थापन समितिको मंगलबारको बैठकले प्रधानमन्त्री राहत कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले नागरिकको उद्धार, राहत तथा पुनः स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने बताए ।

गाउँपालिकाले विपद्को यस कठिन घडीमा बाढीपीडितका लागि राहत तथा पुनः स्थापनाका काममा ऐक्यबद्धता जनाउँदै सबैलाई सहयोगको अपिलसमेत गरेको उनले बताए । गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट रकम संकलन गर्ने गाउँपालिकाका कार्यवाहक अध्यक्ष शान्तिकुमारी मल्लले जानकारी दिइन् । भोटेकोशीको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुका साथै बाढीपीडितको उद्धार, राहत तथा पुनः स्थापनाका लागि सहयोग गर्ने प्रतिबद्धता गाउँपालिकाले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ भदौ १८ गते बिहीबार