जग्गाधनीको सहमतिबिना लिलाम गरेर पास नदिन पीडितको आग्रह



श्यामलाल पोखरेल । बुटवल ।

बैंक तथा वित्तीय संस्था पीडितहरूले बैंकले मनोमानी ब्याज बढाएर ऋणीको सम्पत्ति लिलाम गरेकाले घर वा जग्गाधनीको सहमतिबिना जग्गा पास नदिन मालपोत कार्यालयलाई आग्रह गरेका छन् । जग्गाधनीको सहमतिबिना चौकिल्ला प्रमाणित नगर्न स्थानीय सरकार र वडा कार्यालयहरूलाई खबरदारी गर्दै आएका बैंक तथा वित्तीय संस्था पीडितहरूले जग्गा वा घरधनीको सहमतिबिना लिलाम गरेर पास गरिदिएमा मालपोत कार्यालयलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

पीडितहरूले दाखा नामसारी खारेज गर्नुपर्ने, ऋणीको ब्ल्याकलिष्ट खारेज गर्नुपर्ने, कोरोना कालदेखिको ब्याज मिनाह गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाका कर्मचारीले ऋणीलाई दिने ज्यादती, तनाव, धम्काउने काम बन्द गर्नुपर्ने र स्थानीय जनप्रतिनिधिहरू धितो लिलाम प्रकृयामा सहभागी हुननहुने लगायतका माग राख्दै बुधबार मालपोत कार्यालय भैरहवामा ब्यानर टाँसेका छन् । बैंक तथा वित्तीय संस्था पीडित समन्वय समिति रुपन्देहीका अध्यक्ष मानबहादुर रसाइलीले सम्झौताभन्दा बाहिर गएर बैंकले मनोमानी ब्याज बढाएर ऋणीको सम्पत्ति लिलाम गरी बैंकले आफ्नो नाममा गराएकाले यस्तो कार्य नरोकिए प्रतिकारमा उत्रने चेतावनी दिए ।

सम्झौताअनुसारको ब्याज तिर्न ऋणीहरू तयार भएको बताउँदै ऋण खाएको भरमै सम्पत्ति लिलाम गर्ने प्रकृया बन्द नभए प्रतिकारका लागि आन्दोलन गरिने समितिका उपाध्यक्ष महेन्द्र शाहीले बताए । ऋण लिँदाको सहमतिअनुसारको ब्याज कायम गरी कोरोनाकालको ब्याज राहतस्वरुप मिनाहा गरी धितो लिलाम प्रकृया बन्द गर्न माग गर्दै बैंक आतंक बन्द गर्नुपर्ने बैंक तथा वित्तीय संस्था पीडित समन्वय समिति रुपन्देहीका सचिव विशाल पौडेलले बताए ।

पीडितहरूले तीनै तहका सरकार, वडा कार्यालय, मालपोत र नापी कार्यालय, नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थालगायतका कार्यालयहरूका भित्तामा मागहरू लेखेको ब्यानर टाँसेका छन् । ऋणीहरूको सम्पत्ति लिलाम नगरी बैंक तथा वित्तीय संस्थाहरूको ऋण तिर्नका लागि भाका दिन र एकल अंकको ब्याजदर कायम गर्न पीडितहरूले माग गर्दै आएका छन् । सम्झौताअनुसारको ब्याज तिर्न ऋणीहरू तयार भएपनि ऋण खाएको भरमै सम्पत्ति लिलाम गर्ने प्रकृया बन्द नभए ठूला उद्योगी व्यवसायीदेखि हजारौँहजार सर्वसाधारण नागरिक सडकमा जाने र बैंकहरू मोटाउने भएकाले यस विषयमा सरकारलाई गम्भीर हुन पीडित अर्जुन खड्काले बताए ।

ऋणीमाथि अनावश्यक टर्चर दिने गरेको भन्दै बैंक तथा वित्तिय संस्था पीडितहरूले रुपन्देहीमा दुई वर्ष अघिदेखि नै बैंकहरूमा तालाबन्दी गर्दै आन्दोलनमा उत्रिएका थिए । बैंकहरूले सम्भौताभन्दा बाहिर गएर ८ प्रतिशत ब्याजमा ऋण लिएको पैसाको १७ देखि १८ प्रतिशत ब्याज गराएर ऋणीहरूका घरजग्गा लिलाम गर्ने सामन्तवादी सोच बोकेका बैंक र बैंकका सञ्चालकहरू नसुध्रिए भौतिक कारबाहीमा उत्रने उनीहरूले चेतावनी दिएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ असोज ३० गते बिहीबार