यातायात कार्यालय कोहलपुरः ‘डिभाइस’ नेपालगन्ज यातायातमा लगेपछि सेवा ठप्प



कोहलपुर (बाँके) ।

यातायात व्यवस्था कार्यालय कोहलपुरबाट प्रदान हुँदै आएको सवारी चालक अनुमतिपत्र नवीकरण सेवा तीन दिनदेखि बन्द छ । उक्त सेवा प्रवाहका लागि आवश्यक डिभाइस नेपालगन्ज लगिएपछि कोहलपुरको सेवा बन्द भएको हो । कोहलपुरमा सवारी चालक अनुमतिपत्र नवीकरण सेवा अनिश्चितकालीनरूपमा बन्द भएपछि सेवाग्राही मर्कामा परेका छन् । उक्त सेवाका लागि फेरिपनि नेपालगन्ज धाउनुपर्ने बाध्यता आइपुगेको छ ।

यसअघि कात्तिक २३ गते सूचना जारी गर्दै यातायात व्यवस्था कार्यालय नेपालगन्जले कोहलपुरमा सवारी चालक अनुमतिपत्र नवीकरण सेवा अवरुद्ध भएको सूचना जारी गरेको थियो । सूचनामा भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा सवारी चालक अनुमतिपत्रको डिभाइसमा क्षति पुगी डिभाइस खरिद प्रक्रियामा रहेको हुँदा जडान नभएसम्मका लागि यस कार्यालयको शाखा कोहलपुरबाट प्रवाह हुँदै आएको सवारी चालक अनुमतिपत्र नवीकरण नहुने उल्लेख गरिएको थियो ।

तर कार्यालयले जारी गरेको उक्त सूचना झुटो ठहर भएको छ । भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा कोहलपुरस्थित कार्यालयमा ठूलो क्षति भएको थिएन । आन्दोलनकारीले कार्यालयमा आगो लगाउन खोजेपनि सामान्य क्षति मात्रै भएको थियो । आन्दोलनकै कारण केही समय कार्यालयको सेवा प्रभावित भयो । दसैँ तिहार बिदा सकिएपछि कार्यालय सञ्चालन भई कात्तिक २२ गतेसम्म पनि कार्यालयले सवारी चालक अनुमतिपत्र नवीकरण सेवा दिइरहेको थियो ।

तर २३ गते एक्कासि नेपालगन्जस्थित कार्यालयले सूचना जारी गर्दै जेनजी आन्दोलनमा डिभाइसमा क्षति पुगेको भन्दै झुटो सूचना जारी ग¥यो ।अझ सूचनामा डिभाइस खरिद प्रक्रियामा रहेको दाबी गरिएको छ । यातायात व्यवस्था कार्यालय कोहलपुरको विश्वस्त स्रोत भन्छ, ‘जेनजी आन्दोलनको क्रममा कोहलपुरस्थित कार्यालयमा ठूलो क्षति भएकै थिएन । डिभाइसमा समेत कुनै समस्या थिएन ।’ डिभाइस खरिद प्रक्रियाका विषयमा मिसन टुडे दैनिकसँग कुराकानी गर्दै यातायात व्यवस्था कार्यालय नेपालगन्जले समेत कोहलपुरस्थित कार्यालयमा रहेको डिभाइसमा कुनैपनि क्षति नपुगेको स्वीकार गरेको छ ।

बरु जेनजी आन्दोलनको क्रममा नेपालगन्जस्थित कार्यालयमा भने ठूलो क्षति पुगेको थियो । आन्दोलनकारीहरूले नेपालगन्जस्थित कार्यालय तोडफोड गर्नुका साथै आगजनी गरेका थिए । कार्यालयमा ठूलो क्षति पुगेकै कारण अहिले आंशिक सेवामात्रै सञ्चालन भइरहेको छ । मिसन टुडे दैनिकसँग कुराकानी गर्दै यातायात व्यवस्था कार्यालय नेपालगन्जका निमित्त प्रमुख कालीदास बस्यालले सुरुमा डिभाइस खरिद प्रक्रियामै रहेको दाबी गरे । उनकाअनुसार कोहलपुरमा आन्दोलनका क्रममा डिभाइसमा क्षति पुगेको थियो ।

आन्दोलनमा कोहलपुरको कार्यालयमा कुनैपनि क्षति पुगेको थिएन । २२ गतेसम्म कार्यालयले सेवा दिइरहेको थियो । एक्कासि कसरी जलेछ ? भन्ने प्रश्नमा निमित्त प्रमुख बस्यालले भने, ‘कोहलपुर हाम्रो शाखा हो । त्यहाँबाट सेवा सञ्चालन भइरहेको थियो । कोहलपुरमा भन्दा नेपालगन्जमा सेवाग्राही बढी हुन्छन् । त्यसैले डिभाइस यहाँ ल्याएर काम चलाइएको हो ।’ उनले कोहलपुर कार्यालयको लागि आवश्यक डिभाइस खरिद भइसकेको समेत दाबी गरे । कार्यालयले डिभाइस खरिद गरिसकेको र आवश्यक प्रक्रिया पूरा गरेर कोहलपुरबाट सेवा प्रवाह गर्ने उनले बताए।
यता, सेवा बन्द भएपछि यस क्षेत्रअन्तर्गत पर्ने तीन स्थानीय तहका सेवाग्राही प्रभावित भएका छन् ।

यातायात व्यवस्था कार्यालय कोहलपुरमा कोहलपुर नगरपालिकासहित बैजनाथ र राप्ती सोनारी गाउँपालिकाका सेवाग्राहीहरूले सेवा लिइरहेका थिए । कोहलपुरस्थित कार्यालयले ब्लुबुक, सवारी चालक अनुमति नवीकरण र पटके सेवा प्रदान गर्दै आएको छ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा उक्त कार्यालयमा सामान्य क्षति भएको थियो । गत वर्षको माघ महिनामा कोहलपुरबाट सेवा सञ्चालन भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक २७ गते बिहीबार