तेस्रो त्रैमासमा अर्थतन्त्र ३.५१ प्रतिशतले विस्तार



काठमाडौँ।

नेपालको अर्थतन्त्र चालू आर्थिक वर्ष २०८२–०८३ को तेस्रो त्रैमासमा ३.५१ प्रतिशतले विस्तार हुने प्रारम्भिक अनुमान गरिएको छ । आधारभूत मूल्यमा तयार गरिएको मौसमी प्रभाव समायोजन नगरिएको त्रैमासिक कूल गार्हस्थ उत्पादन (जिडिपी) तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यस्तो वृद्धि भएको हो ।

यो वृद्धिमा विद्युत् उत्पादन तथा वितरण, बैंक तथा वित्तीय संस्थाबाट निक्षेप संकलन र कर्जा प्रवाह, निर्जीवन बीमा प्रिमियम संकलन तथा व्यापार सेवाजस्ता गतिविधिमा आएको सुधारले मुख्य योगदान दिएको छ । अर्थतन्त्रका १८ औद्योगिक वर्गीकरणमध्ये सार्वजनिक प्रशासन तथा रक्षा तथा औद्योगिक उत्पादनबाहेक अन्य सबै क्षेत्रमा सकारात्मक वृद्धि हुने अनुमान गरिएको छ ।

यद्यपि निर्माण सामग्रीको आयातमा आएको कमी, धान उत्पादनमा गिरावट तथा केही वस्तुको घरेलु उत्पादन घटेकाले समग्र आर्थिक वृद्धिदर अपेक्षाकृत मध्यम रहेको तथ्यांकले देखाएको छ । मौसमी प्रभाव समायोजन नगरिएको तथ्यांकअनुसार १८ औद्योगिक वर्गीकरणमध्ये १६ वटामा सकारात्मक वृद्धि देखिएको छ । यस अवधिमा सबैभन्दा उच्च वृद्धि विद्युत् तथा ग्याससम्बन्धी क्षेत्रमा २४.८८ प्रतिशत रहेको छ ।

त्यसपछि वित्तीय तथा बीमासम्बन्धी गतिविधिमा १०.२७ प्रतिशत, यातायात तथा भण्डारणमा ७.८३ प्रतिशत तथा थोक तथा खुद्रा व्यापारमा ५.२५ प्रतिशत वृद्धि भएको अनुमान गरिएको छ । अर्थतन्त्रमा सबैभन्दा ठूलो योगदान रहेको कृषि क्षेत्रको वृद्धिदर १.५८ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ । धान उत्पादन घटे पनि पशुपन्छी, तरकारी, फलफूल तथा वनपैदावारको उत्पादनमा आएको सामान्य वृद्धिले कृषि क्षेत्रको कूल मूल्य अभिवृद्धिलाई सकारात्मक बनाएको तथ्यांकमा उल्लेख छ ।

अर्थतन्त्रको दोस्रो ठूलो हिस्सा ओगटेको थोक तथा खुद्रा व्यापार क्षेत्र ५.२५ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ । व्यापारजन्य वस्तुको स्वदेशी उत्पादन र आयात बढेकाले यस क्षेत्रमा सुधार देखिएको हो । यता सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रमा १.५९ प्रतिशत तथा औद्योगिक उत्पादन क्षेत्रमा ०.५४ प्रतिशतले संकुचन हुने प्रारम्भिक अनुमान गरिएको छ । यी दुई क्षेत्रबाहेक अन्य अधिकांश औद्योगिक गतिविधिमा भने सामान्यदेखि सकारात्मक वृद्धि देखिएको छ । मौसमी प्रभाव समायोजन गरिएको तथ्यांकअनुसार भने चालू आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा तेस्रो त्रैमासमा अर्थतन्त्र ०.५८ प्रतिशतले विस्तार भएको प्रारम्भिक अनुमान गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ असार २३ गते मंगलबार