जुम्ला ।
लगातारको वर्षापछि आएको बाढीपहिरोले जुम्लाको तातोपानी गाउँपालिका–६ मा चार हेक्टरभन्दा बढी खेतीयोग्य जमिनमा लगाइएको बालीमा क्षति पुगेको छ । मार्सीधान, मकै, कोदो, फापर, सिमी तथा स्याउ खेतीमा ठूलो क्षति पु¥याएका हो । बाढीले खेत बगरमा परिणत गरेपछि झण्डै डेढ सय किसान प्रत्यक्ष प्रभावित भएका छन्, भने यस वर्षको खाद्यान्न उत्पादनमा समेत उल्लेख्य गिरावट आउने चिन्ता बढेको छ ।
बुधबार परेको भारी वर्षापछि आएको बाढीले तातोपानी गाउँपालिका–६ अन्तर्गत रावतबाडा, खंकबाडा र धौलापानी क्षेत्रका खेतीयोग्य फाँटमा ठूलो क्षति पु¥याएको हो । विशेषगरी पिपल ज्युलो र धौलापानी ज्युलो क्षेत्रमा रहेको मार्सीधान उत्पादन हुने उर्वर फाँटमा बाढीले ठूलो परिमाणमा बालुवा, ढुंगा र गेग्रान थुपारेपछि अधिकांश खेत बगरमा परिणत भएका छन् । स्थानीय किसानले केही दिनअघि मात्रै धान रोपेर गोडमेलको तयारी गरिरहेका बेला आएको बाढीले रोपिएको धान पुरिनुका साथै सिँचाइ संरचना पनि क्षतिग्रस्त बनाएको छ ।
यससँगै स्याउ बगैँचा, मकै, कोदो, फापर र सिमी लगाइएका खेत समेत बगाएपछि किसान थप चिन्तित बनेका छन् । कृषिमा निर्भर स्थानीयका अनुसार यस वर्ष उत्पादनमा उल्लेख्य कमी आउने निश्चित देखिएको छ । स्थानीयवासीले २०७९ सालमा आएको भीषण बाढीपहिरोको झल्को दिने गरी यसपटकको बाढी आएको बताएका छन् । त्यसबेलाजस्तै यस वर्ष पनि कृषि क्षेत्रमा ठूलो क्षति पुगेको भन्दै उनीहरूले दीर्घकालीन जोखिम न्यूनीकरणका उपाय अपनाउन माग गरेका छन् ।
बाढीबाट कृषि क्षेत्रमा व्यापक क्षति पुगेपछि तातोपानी गाउँपालिकाले राहत, उद्धार तथा पुनःस्थापनाका कामलाई प्राथमिकतामा राख्दै तत्काल पहल थालेको छ । गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईं प्रभावित क्षेत्रमा बिहीबार बिहानै पुगेर स्थलगत अवलोकन गरेका थिए । त्यसलगत्तै बसेको कार्यपालिका बैठकले क्षतिग्रस्त सिँचाइ कुलो मर्मतका लागि तत्काल दुई लाख रुपैयाँ विनियोजन गर्ने निर्णय गरेको छ।
गाउँपालिका अध्यक्ष चौलागाईंले विपद्का बेला स्थानीय सरकारले तत्काल काम गर्नुपर्ने जिम्मेवारी पूरा गर्न आफूहरू सक्रिय रहेको बताए । उनले जनताले विपद्का बेला सरकार आफ्नो साथमा रहेको अनुभूति गर्न सकून् भन्ने उद्देश्यले राहत तथा पुनःस्थापनाका कामलाई तीव्र बनाइएको उल्लेख गरे । उनका अनुसार सिँचाइ कुलो मर्मतका लागि आवश्यक बजेट छुट्याइसकिएको छ भने भविष्यमा यस्ता समस्या दोहोरिन नदिन ढल निकास व्यवस्थापनमा पनि गाउँपालिकाले लगानी गर्ने तयारी गरेको छ ।
वडाबाट आवश्यक पहल र स्थानीयको सहकार्य भए ढल निकास निर्माणका लागि समेत पालिकाले बजेट व्यवस्थापन गर्ने सहमति भएको उनले जानकारी दिए । अध्यक्ष चौलागाईंले बाढीबाट भएको क्षतिको यथार्थ विवरण संकलन गर्न कृषि विकास शाखाको टोलीलाई स्थलगत अध्ययन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिइएको पनि बताए । प्रतिवेदन प्राप्त भएपछि किसानलाई राहत उपलब्ध गराउने विषयमा आवश्यक निर्णय गरिने उनको भनाइ छ ।
सिँचाइ प्रणाली पुनः सञ्चालन गर्न शुक्रबारदेखि नै दुवैतर्फबाट मर्मत कार्य सुरु गरिएको गाउँपालिकाले जनाएको छ । रोपिसकिएको धानलाई समयमै सिँचाइ उपलब्ध गराउन नसके थप क्षति हुने भएकाले कुलो मर्मतलाई पहिलो प्राथमिकतामा राखिएको जनाइएको छ । तातोपानी गाउँपालिका–६ का वडाध्यक्ष विशाल खड्काले बाढीपहिरोका कारण चार हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको रैथाने बाली नष्ट भएको र झण्डै १५० भन्दा बढी किसान प्रत्यक्ष प्रभावित भएको बताए ।
आफू बिहानै प्रभावित क्षेत्रमा पुगेर किसानसँग भेटघाट गरेको र उनीहरूको अवस्था बुझेर गाउँपालिकासँग तत्काल समन्वय गरिएको उनले जानकारी दिए । उनका अनुसार भविष्यमा पनि यस्ता बाढी दोहोरिने जोखिम रहेकाले दीर्घकालीन रूपमा ढल निकास व्यवस्थापन आवश्यक छ । स्थानीयले आवश्यक जग्गा उपलब्ध गराए गाउँपालिकाले ढल निकास निर्माणमा समेत लगानी गर्ने तयारी गरेको उनले बताए ।
कृषि विकास शाखाले क्षतिको विस्तृत तथ्यांक संकलन गरिरहेको छ । प्रारम्भिक विवरणअनुसार सबैभन्दा बढी असर मार्सीधान उत्पादन हुने फाँटमा परेको छ । साथै स्याउ बगैँचा, मकै, कोदो, फापर र सिमी खेतीसमेत प्रभावित भएकाले यस वर्षको कृषि उत्पादनमा उल्लेख्य कमी आउने अनुमान गरिएको छ ।
उता रावतबाडा र धौलापानीका किसानले तत्काल राहत, सिँचाइ संरचनाको पुनःनिर्माण तथा भविष्यमा बाढीबाट हुने क्षति न्यूनीकरणका लागि दीर्घकालीन योजना कार्यान्वयन गर्न गाउँपालिकासमक्ष माग गरेका छन् । उनीहरूले खेतीयोग्य जमिन जोगाउन तटबन्ध, ढल निकास र सिँचाइ संरचनाको स्थायी व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन् ।









प्रतिक्रिया दिनुहोस्