आइएमईको २६औँ वार्षिकोत्सव सम्पन्न



काठमाडौँ।

नेपाली रेमिटेन्स कम्पनी ‘आइएमई’ले स्थापनाको २६औँ वार्षिकोत्सव शुक्रबार काठमाडौँमा सम्पन्न गरेको छ । वार्षिकोत्सवको अवसरमा आइएमई लिमिटेडका संस्थापक तथा अध्यक्ष हेमराज ढकालले वित्तीय समावेशिता र आर्थिक रूपान्तरणलाई मूल मन्त्र बनाउँदै आगामी दिनमा डिजिटल इनोभेसनमार्फत अझ परिष्कृत, सुरक्षित र छिटोछरितो एकीकृत वित्तीय सेवा प्रदान गर्न दृढ संकल्पित रहेको बताए ।

उनले वैदेशिक रोजगारीमा रहँदा भोगेका अनुभवबाट जन्मिएको सानो परिकल्पना आज रेमिटेन्स सेवा मात्र नभई समग्र वित्तीय तथा डिजिटल भुक्तानी प्रणालीको एक भरपर्दो र अभिन्न अंग बन्न सफल भएको समेत स्मरण गरे । साथै, आइएमईले देशका दुर्गमदेखि सहरी क्षेत्रसम्म वित्तीय पहुँच विस्तार गर्दै आर्थिक समावेशिताको प्रवद्र्धन तथा सामाजिक–आर्थिक रूपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको पनि अध्यक्ष ढकालले बताए ।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङको विकाससँगै सेवा प्रवाहको स्वरूप परिवर्तन भइरहेको सन्दर्भमा ‘आर्थिक रूपान्तरणसँग प्रविधिको विकास’लाई मूल उद्देश्य बनाउँदै नवीनतम प्रविधि आत्मसात् गरी रेमिटेन्स तथा अन्य वित्तीय सेवाहरूलाई अझ परिष्कृत, सुरक्षित र छिटोछरितो बनाउने प्रतिबद्धता समेत अध्यक्ष ढकालले व्यक्त गरे ।

त्यसैगरी, आइएमईका संस्थापक तथा ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले २६ वर्षको यात्रामा ‘रेमिट भनेकै आइएमई’ र ‘आइएमई भनेकै रेमिट’ भन्ने पहिचान स्थापित हुनु गर्वको विषय भएको बताउँदै यससँगै जिम्मेवारी पनि बढेको उल्लेख गरे । उनले रेमिटेन्सलाई औपचारिक प्रणालीमार्फत भित्र्याउने, विदेशी मुद्रा सञ्चिति सुदृढ बनाउन योगदान गर्ने तथा प्राप्त विप्रेषणलाई उत्पादनशील क्षेत्रमा प्रवाह गरी राष्ट्रिय अर्थतन्त्रलाई गतिशील बनाउन सरकारसँग निरन्तर सहकार्य रहने प्रतिबद्धता व्यक्त गरे ।

त्यसैगरी, आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले सहकार्य, प्राविधिक उत्कृष्टता, व्यावसायिक नैतिकता तथा साझा मूल्य–मान्यतालाई मुख्य कार्यदिशा बनाई आइएमईले सेवा प्रवाह गरिरहेको बताए । उनले प्रविधिको विकासलाई आत्मसात् गर्दै विविधीकृत सेवामार्फत आम नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष रूपमा जोडिँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

  • No tags available
प्रकाशित मिति : २०८३ असार १ गते सोमबार