सम्पादकीयः समयअनुसार एआईको प्रयोग



विश्व तीव्र रूपमा डिजिटल युगतर्फ अघि बढिरहेको छ । विज्ञान र प्रविधिको विकाससँगै कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टिलिजेन्स–एआई)ले विश्वव्यापी रूपमा नयाँ परिवर्तन ल्याइरहेको छ । स्वास्थ्य, शिक्षा, व्यापार, कृषि, प्रशासनदेखि सञ्चार क्षेत्रसम्म एआईको प्रभाव तीव्र गतिमा विस्तार भइरहेको छ । यस्तो अवस्थामा सञ्चार क्षेत्र पनि यसबाट अलग रहन सक्दैन । सूचना उत्पादन, समाचार सम्पादन, तथ्य परीक्षण, सामग्री निर्माण तथा दर्शक–श्रोता विश्लेषणजस्ता कार्यमा एआईको प्रयोग बढ्दै गएको छ । त्यसैले सञ्चारकर्मीलाई एआईसम्बन्धी तालिम दिनु आजको आवश्यकता मात्र नभई भविष्यका लागि अपरिहार्य विषय बनेको छ । सञ्चार क्षेत्र समाजको ऐना हो । समाजमा घटिरहेका घटनाहरूलाई सत्य, निष्पक्ष र विश्वसनीय रूपमा जनतासामु प्रस्तुत गर्ने जिम्मेवारी सञ्चारकर्मीको हुन्छ । तर प्रविधिको तीव्र विकाससँगै समाचार उत्पादन र वितरण प्रणालीमा पनि व्यापक परिवर्तन आएको छ । आज विश्वका ठूला सञ्चार संस्थाहरूले समाचार संकलन, डाटा विश्लेषण, भाषा अनुवाद, भिडिओ सम्पादन तथा सामग्री सिफारिस प्रणालीमा एआईको प्रयोग गरिरहेका छन् । एआईले कामलाई छिटो, प्रभावकारी र सहज बनाएको छ । तर यसको प्रयोग सही ढंगले गर्न आवश्यक ज्ञान र सीप पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।

नेपालजस्ता विकासोन्मुख देशमा धेरै सञ्चारकर्मी अझै पनि एआईका आधारभूत पक्षबारे पर्याप्त जानकारीबाट वञ्चित छन् । कतिपयले एआईलाई केवल सामग्री लेख्ने वा तस्बिर बनाउने साधनका रूपमा मात्र बुझिरहेका छन् । तर एआईको उपयोगिता यतिमा सीमित छैन । यसले ठूलो मात्रामा सूचना विश्लेषण गर्न, गलत सूचना पहिचान गर्न, समाचारको विश्वसनीयता परीक्षण गर्न तथा दर्शकको रुचिअनुसार सामग्री तयार गर्न पनि सहयोग पु¥याउँछ । त्यसैले सञ्चारकर्मीलाई एआईको सही प्रयोग, सीमा, अवसर र चुनौतीबारे तालिम आवश्यक छ । हाल विश्वभर झूटा समाचार (फेक न्युज), भ्रामक सामग्री (मिसइन्फर्मेसन) र दुष्प्रचार (डिसइन्फर्मेसन) ठूलो चुनौती बनेको छ । एआईको प्रयोगबाट नक्कली तस्बिर, आवाज तथा भिडिओ अर्थात् ‘डीपफेक’ सामग्रीहरू सजिलै निर्माण हुन थालेका छन् । यदि सञ्चारकर्मीले यस्ता विषय पहिचान गर्ने क्षमता विकास गर्न सकेनन् भने गलत सूचना समाजमा फैलिने जोखिम बढ्न सक्छ । त्यसैले एआई तालिमले सञ्चारकर्मीलाई तथ्य परीक्षण, स्रोत प्रमाणीकरण तथा डिजिटल सुरक्षासम्बन्धी ज्ञान प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्छ । त्यति मात्र होइन, एआईका कारण सञ्चार क्षेत्रमा रोजगारी गुम्ने डर पनि कतिपयमा देखिन्छ ।

तर एआईले मानिसलाई विस्थापित गर्नेभन्दा पनि कामलाई सहयोग गर्ने माध्यमका रूपमा बुझ्न आवश्यक छ । एआईले नियमित र दोहोरिने कार्यहरू सहज बनाइदिन्छ भने सिर्जनात्मक सोच, अनुसन्धान र मानवीय संवेदनशीलता अझै पनि मानिसकै बलियो पक्ष हुन् । सञ्चारकर्मीले एआईलाई प्रतिस्पर्धी नभई सहयोगी साधनका रूपमा उपयोग गर्न सिक्नुपर्छ । यसका लागि व्यवस्थित तालिम आवश्यक छ । सरकार, सञ्चार संस्था, पत्रकार महासंघ, शैक्षिक संस्था तथा सम्बन्धित निकायहरूले संयुक्त रूपमा एआईसम्बन्धी तालिम कार्यक्रम सञ्चालन गर्न आवश्यक देखिन्छ । तालिम केवल सैद्धान्तिक मात्र नभई व्यावहारिक र प्रयोगमुखी हुनुपर्छ । समाचार लेखनमा एआईको प्रयोग, तथ्य परीक्षण, डाटा पत्रकारिता, डिजिटल नैतिकता, साइबर सुरक्षा तथा सामग्री निर्माणका आधुनिक विधिहरू समेटेर तालिम सञ्चालन गर्न सके सञ्चार क्षेत्र थप सशक्त बन्न सक्छ । समय परिवर्तनशील छ र सञ्चार क्षेत्र त्यसबाट अलग रहन सक्दैन । प्रविधिसँगै आफूलाई अद्यावधिक गर्न नसक्ने व्यक्ति वा संस्था पछि पर्न सक्छ । त्यसैले सञ्चारकर्मीलाई एआईसम्बन्धी तालिम प्रदान गर्नु आजको आवश्यकता मात्र नभई गुणस्तरीय, विश्वसनीय र आधुनिक सञ्चार व्यवस्थाको आधार पनि हो । यदि आज यसतर्फ आवश्यक ध्यान दिन सकियो भने भविष्यमा नेपाली सञ्चार क्षेत्र अझ प्रभावकारी, प्रतिस्पर्धी र विश्वस्तरीय बन्न सक्नेछ ।

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ ४ गते सोमबार