विसं २०५६ देखि यस खेलमा लागेका चन्द ब्याडमिन्टन ‘कार्ट’मा नपुगी आफ्नो दैनिकी सुरुवात नै नहुने गरेको बताउँछन् । ‘ब्याडमिन्टन एकप्रकारले लतजस्तै भइसक्यो, खेल्न नआएको दिन त बेचैन भइन्छ,’ चन्दले भने, ‘यहाँ मेरो उमेर समूहको खेलाडी कोही पनि छैनन् ।’
महेन्द्रनगर ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ७३ वर्षीय ग्रिस चन्द हरेक दिन बिहान महेन्द्रनगरस्थित कभर्डहलमा भेटिन्छन् । उमेरले ज्येष्ठ नागरिक भए पनि उनको ब्याडमिन्टन खेलप्रतिको जाँगर, मेहनत र मोह भने लोभलाग्दो छ । विसं २०५६ देखि यस खेलमा लागेका चन्द ब्याडमिन्टन ‘कार्ट’मा नपुगी आफ्नो दैनिकी सुरुवात नै नहुने गरेको बताउँछन् ।
‘ब्याडमिन्टन एकप्रकारले लतजस्तै भइसक्यो, खेल्न नआएको दिन त बेचैन भइन्छ,’ चन्दले भने, ‘यहाँ मेरो उमेर समूहको खेलाडी कोही पनि छैनन् ।’ उनले हरेक दिन बिहान ४ः०० बजेदेखि योग साधनामा बिताउने गरेको र त्यसपछि ब्याडमिन्टन खेल्न कभर्डहलमा आउने गरेको सुनाए । व्यायाम, योगसाधना र स्वस्थ्य खानपिन स्वस्थ जीवनका लागि महत्त्वपूर्ण भएकाले आफू पहिलेदेखि नै यसमा सचते रहेको चन्दको भनाइ छ ।
भन्सार अधिकृतबाट २०७० सालमा सेवानिवृत्त भएका उनको अधिकांश समय खेल र योगसाधनामा बित्ने गरेको छ । ‘जागिरमा हुँदा धनगढी, नेपालगन्ज, भैरहवा र वीरगञ्जसम्म पनि ब्याडमिन्टन खेलेँ । नेपालगन्ज र वीरगञ्जमा जिल्लास्तरीय खेलमा तेस्रो स्थान हासिल गरेको सर्टिफिकेट अहिले पनि सुरक्षित राखेको छु,’ चन्दले भने । आँखामा केही समस्या भएकाले टाढाको कर्क देख्न समस्या भए पनि अझै धेरै वर्षसम्म खेल्न सक्ने हिम्मत रहेको उनको भनाइ छ ।
‘नियमित व्यायाम र खानपिनमा ध्यान दिइरहेको छु । शरीरले साथ दिएसम्म ब्याडमिन्टन खेलिरहने सोच छ,’ चन्दले भने । उनले सुदूरपश्चिममा आफ्नो उमेर समूहको ब्याडमिन्टन खेलाडी पाउन गाह्रो रहेको दाबी गरे । भीमदत्त नगरपालिका–६ का ६९ वर्षीय प्रेमसिंह भाट पनि दशकाँैदेखि यहाँ ब्याडमिन्टन खेलमा नियमित सहभागी भइरहेका छन् । पछिल्लो समय युवा पुस्तामा यस खेलप्रति केही आकर्षण बढे पनि पाको पुस्ताका खेलाडी भने घट्दै गएको उनले बताए ।
विसं २०६४ यता कभर्डहलमा नियमित खेल्ने गरेको बताउँदै भाटले भेट्रानतर्फ राष्ट्रियस्तरमा उपाधि जितिसकेको जानकारी दिए । ‘अब हाम्रो उमेरले राष्ट्रका लागिभन्दा पनि आफ्नो स्वास्थ्यका लागि खेल्ने हो । पछिल्ला दिनमा ब्याडमिन्टन खेल गाउँ÷गाउँमा विस्तार हँुदै गएको देख्दा खुसी लाग्छ ।’









प्रतिक्रिया दिनुहोस्