त्रिभुवन माविद्धारा एसइई उत्तीर्ण विद्यार्थीलाई सम्मान



कोहलपुर ।

बाँकेको कोहलपुर– १० स्थित रहेको त्रिभुवन माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा एसइईमा उत्तीर्ण भएका विद्यार्थीहरूलाई सम्मान गरेको छ । शुक्रबार विद्यालयले एक औपचारिक कार्यक्रमकाबीच विद्यार्थीहरूलाई सम्मान गरेको हो ।

विद्यालयको उत्कृष्ट शैक्षिक नतिजाले कोहलपुर नगरपालिकाको शैक्षिक गौरव बढाएको नगरप्रमुख पूर्णप्रसाद आचार्यले बताए । उनले विद्यार्थीहरूलाई भविष्यमा अझ मेहनत, अनुशासन र सकारात्मक सोचका साथ अगाडि बढ्न सुझाव दिए । एसइईमा उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थीहरूलाई खादा र अभिर लगाएर नगरप्रमुख आचार्यले सम्मान गरेका थिए ।

विद्यालयको शैक्षिक उपलब्धिको प्रशंसा गर्दै आगामी दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्न सबै पक्षबीच सहकार्य आवश्यक रहेको कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले बताए । उनले विद्यालयले आगामी दिनहरूमा थप उत्कृष्ट नतिजा ल्याउने गरेर पठनपाठन अघि बढाउन सुझाव दिए ।

विद्यालयबाट एसइईमा ४.० जिपिए हासिल गर्ने छात्रा आशिका थापालाई विद्यालय परिवारका तर्फबाट विशेष सम्मान गरिएको निमित्त प्रधानध्यापक लक्ष्मी कुमारी हमालले बताइन् । आशिकालाईविद्यालयको तर्फबाट सम्मानपत्र, खादा तथा मायाको चिनो प्रदान गरिएको जानकारी दिइन् । सम्मान ग्रहण गर्दै छात्रा थापाले आफ्नो सफलताको श्रेय शिक्षक, अभिभावक तथा विद्यालयको निरन्तर सहयोग र मार्गदर्शनलाई दिइन् ।

विद्यालयले शैक्षिक सस्त्र २०८२ मा सफल सम्पूर्ण विद्यार्थीहरूलाई सामूहिक रूपमा बधाई तथा शुभकामना प्रदान गरेको थियो । कार्यक्रमको समापन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रतन बहादुर बुढाले विद्यालयले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि निरन्तर प्रयास गरिरहेको उल्लेख गरे ।

उनले शिक्षक, अभिभावक र विद्यार्थीको सामूहिक मेहनतकै कारण उत्कृष्ट नतिजा सम्भव भएको बताए । आगामी दिनमा विद्यालयलाई अझ उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा विकास गरिने प्रतिबद्धता समेत व्यक्त गरे ।

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ २ गते शनिबार