‘ईभीको एसेम्बलिङ गर्नसक्ने क्षमता विकास गरिसक्यौँ’



पछिल्लो समय दुई पाङ्ग्रेदेखि सार्वजनिक यातायातमा प्रयोग हुने साना गाडीहरूसम्म इलेक्ट्रिक गाडीहरू प्रयोग भइरहेको देख्न सकिन्छ । यसै सन्दर्भमा ईभीको बजारको अवस्था, सरकारको नीति र यातायातमा ईभीको भविष्यका बारेमा पश्चिम नेपालको एक अग्रणी ईभी बिक्रेता कम्पनी पानस ईभी ट्रेडिङ कम्पनी प्रालिका सञ्चालक ज्ञानेन्द्र खनालसँग मिसन संवाददाता वीरेन्द्र जैसीले गरेको कुराकानीको सम्पादित अंश ।

                                                                      ज्ञानेन्द्र खनाल ,सञ्चालक पानस ईभी ट्रेडिङ कम्पनी प्रालि

यस क्षेत्रमा हाल ईभीको बजार कस्तो छ ?

अहिले जताततै ईभी गाडीहरूकै प्रयोग भइरहेको छ । व्यक्तिगत होस् वा सार्वजनिक सवारीसाधनमा ईभी गाडीहरू रोज्ने मानिसहरूको सङ्ख्या बढ्दो छ । यसो हुनु नेपालका लागि निकै फाइदाजनक हो । किनभने यसले नेपालकै उत्पादन बिजुलीलाई खपत गर्छ । तेलबाट सञ्चालन हुने गाडीहरूमा बाहिरबाट आयात हुने तेलको खपत हुन्छ । तेलको मूल्य निरन्तर बढिरहेको छ । त्यसले गर्दाखेरी ईभीलाई सरकारले पनि प्राथमिकता दिएको छ । नेपालको सर्वसाधारणले पनि यसलाई प्राथमिकतामा राखेका छन् । किनभने यसमा खर्च कम हुन्छ । अहिले डिजल गाडीहरूको भाडा कति बढिसक्यो, तर ईभी गाडीको भाडा बढेको छैन । यसका साथै एडभान्स सेन्सर र जिपिएस जडान भएको हुने हुँदा यात्रा सुरक्षित हुन्छ । लगभग ८० प्रतिशत ईभी गाडीहरू नै खरिद भइरहको अवस्था छ ।

अहिले वास्तवमा भन्नुपर्दा कुनै कुनै बेला त गाडीहरूको सर्टेज नै हुन्छ ?

इलेक्ट्रिक चार्जिङ स्टेशनहरू पनि हरठाउँमा बनाइएका छन् । सर्भिस सेन्टरको पनि त्यहीअनुसार विकास भएको छ । नेपालगन्जमा मात्रै १८ भन्दा बढी चार्जिङ स्टेशनहरू छन् । अझै खुल्दै पनि छन् । नेपालको हरसहर र हरहाइवेमा चार्जिङ स्टेशनहरू पुगिसकेको अवस्था छ ।

यहाँहरूसँग पनि सबैखाले ईभी गाडीहरू उपलब्ध छन् ?

हो । हामीसँग इलेक्ट्रिक स्कुटी, इलेक्ट्रिक टेम्पो, इलेक्ट्रिक कार, इलेक्ट्रिक भ्यानहरू हामीसँग उपलब्ध छन् । किङलङको १६ सिटे भ्यान जो अहिले हामीसँग आएको छ यो नेपालकै लागि भनेर कम्पनीले उत्पादन गरेको हो । यसको ग्राउण्ड क्लियरेन्स राम्रो छ । यसअघि पनि हामीसँग राम्रो गाडीहरू उपलब्ध छन् ।

त्यसो भए सवारीसाधनमा इन्जिन गाडीहरू किन्नुपर्ने बाध्यता हटिसकेको हो ?

त्यो बाध्यता ट्रक तथा बसको हकमा अझै पनि छ । त्यो पनि आउँदा दिनमा हट्छ जस्तो लाग्छ । तर २५ सिटसम्मको यात्रुवाहक सवारीसाधन आइसकेको छ । मिनिट्रकहरू पनि आइसकेका छन् । कारहरू त ८० प्रतिशत बजार ईभीको भइसकेको अवस्था छ । मोटरसाइल र स्कुटीमा पनि अहिले बढ्दो रूपमा ईभीको माग छ ।

सरकारले दुईपाङ्ग्रे इन्जिनयुक्त सवारीसाधनलाई पनि इलेक्ट्रिक बनाउने लक्ष्य लिएको छ । यो सम्भव छ?

सरकारले सोचेको कुरा सकारात्मक नै छ । गर्ने भने पनि प्राविधिक उपायहरू त आउँछ आउँछ नै । इन्जिन कस्तो खालको मोडेलमा परिवर्तन गर्ने भन्ने कुरा चाहीँ छलफलकै विषय होला । हामीले पनि भोलि सरकारले त्यस्तो खालको नीति कार्यान्वयन गर्न थाल्यो भने कसरी गर्न सकिन्छ होला भनेर छलफल सुरु गरेका छौँ । हामीसँग रहेको मेकानिक्स र प्राविधिकहरूको टिमले यसबारेमा छलफल सुरु गरिसकेको छ । हामीले यसको सम्भावनाबारे छलफल पनि गरिरहेका छौँ भने एउटा टेम्पोमा परीक्षण पनि गरिसकेका छौँ । जुन सफल भएको छ । किनकी सरकारले लिएको नीतिमा पछि परियो भने परेको प¥यै हुन्छ । नयाँ सवारीसाधनमा इलेक्ट्रिक प्रोत्साहन गर्ने र पुराना इन्जिन भएका गाडीहरूलाई इलेक्ट्रिक नै बनाउँदा उपयुक्त हुन्छ भन्ने मलाइ लाग्छ । यसको लागि कच्चा पदार्थ र पार्ट्सहरू बाहिरबाटै ल्याउनुपर्ने हुन्छ । इन्जिनियरिङ वर्कशपहरू त्यहीअनुसारको चाहिन्छ । यसको लागि चाहिने पार्ट्सहरूबा विषयमा हामी परनिर्भर नै रहेकोले चीनजस्ता देशसँग पनि सरकारले समन्वयको काम गर्नुपर्ने देख्छु ।

अटोमोबाइल्स व्यवसायीको अहिलेको मुख्य समस्या र चुनौती के हो ?

समस्या त सधैँ रहिरहन्छ । तर अहिले बैंकको तरलता र बैंक ब्याजदरमा समस्या छैन । केही समयअघि त्यो समस्या थियो । कतिखेर ब्याजदर बढ्छ भन्ने चिन्ता हुन्थ्यो भने अहिले त्यो छैन । जहाँसम्म अब सरकारले लिने नीतिले यसलाई अझै व्यवस्थित गर्छ भन्ने आशा छ ।

सरकारको अहिलेसम्म सार्वजनिक नीति ईभीका लागि कति सकारात्मक छ ?

सरकारको अहिलेसम्मको सार्वजनिक नीति सकारात्मक छ । चार्जिङ स्टेशनमा र गाडीको बिक्रीमा पनि अनुदानको व्यवस्था निकै सकारात्मक छ । चार्जिङ स्टेशन बनाउन चाहिने टान्सफर्मर सरकारले लगभग निःशुल्क नै दिइरहेको छ । यो त एक किसिमले सरकारको लगानी नै हो । यसले ईभीको लागि अझै राम्रो गर्दै जान्छ भन्ने लाग्छ ।

यहाँहरूको पानस ईभीको व्यापार र सेवाको अवस्था कति फैलिएको छ ?

हामी अहिले बिक्री केन्द्र, सर्भिस सेन्टर र चार्जिङ स्टेशन सबै क्षेत्रमा फैलिएका छौँ । नेपालगन्ज, कोहलपुर र दाङमा हाम्रो बिक्री केन्द्रहरू छन्। यहाँबाट हामी साविकको राप्ती र भेरी अञ्चलमा ईभीको व्यपार गरिरहेका छौँ । यसैगरी प्युठानदेसख अछामसम्म हाम्रो ३३ वटा चार्जिङ स्टेशनहरू छन् । चारपाँच ठाउँमा हाम्रो सर्भिस सेन्टरहरू छन् । बीचमा हामीले केही अप्ठ्यारो भोगे पनि अहिले पुनः हामी ठिक ठाउँमा आइपुगेका छौँ । अहिले हामीले इलेक्ट्रिक मै फोकस गरिरहेका छौँ ।

सर्भिस सेन्टरको कुरा गर्दा, यहाँहरूले ईभीको मेकानिक्ससम्बन्धी प्राविधिक तालिम पनि सञ्चालन गर्नुभएको थियो । त्यसको प्रभावकारिता कस्तो रह्यो ?

एकदमै राम्रो रह्यो । हामीले नेपालगन्ज उद्योग वाणिज्य संघसँग सहकार्य गरी उक्त तालिम सञ्चालन गरेका थियौँ । उक्त कार्यक्रम स्वीस सरकारको स्वच्छ वातावरणसम्बन्धी कार्यक्रमअन्तर्गत भएको थियो । पुरानो इन्जिन गाडीहरूको मर्मत गर्दै आएका टेक्निसियनहरू पनि अब इलेक्ट्रिक गाडी मर्मत गर्न सक्ने भएका छन् । आफैँ स्वरोजगार पनि भएका छन् । कतिपयलाई हामीले नै काम दिएका छौँ । यसले कुनैबेला रहेका टेक्निसियनहरूको अभाव रहेकोमा अहिले केही पूर्ति गरेको छ ।

त्यसो भए ईभीसँगै रोजगारीको नयाँ क्षेत्र पनि खुला भएको रहेछ हैन ?

हो । यसमा इन्जिन गाडी मर्मत गर्न जानेका टेक्निसियनले पनि तालिम लिनुपर्ने हुन्छ । यी गाडीहरूको मर्मत सफ्टवेयर र हार्डवेयर दुई पाटोमा हुने हुँदा त्यही अनुसारको जनशक्ति तयार गर्नुपर्ने हुन्छ । त्यसका लागि तालिम तथा न्यूनतम लेखपढको पनि आवश्यकता पर्छ । तर लेखपढ नगरेको कामै छैन भन्ने होइन । सफ्टवेयरमा नभए पनि हार्डवेयरमा काम गर्न सक्छन् । अब यतातर्फ पनि माग बढ्छ ।

यसलाई प्राविधिक शिक्षामा समावेश गरिएको कत्तिको पाउनुभएको छ ?

केही विद्यालयहरूले सुरु गरेका छन् । उनीहरूले हामीसँग सहकार्य गरी यस्ता गाडीहरूको मर्मतसम्बन्धी सीपहरू पनि सिकाउन थालेका छन्। बर्दिया र नेपालगन्जका केही विद्यालयहरूले यसको सुरुवात गरेका छन् । स्थानीय तहहरूले पनि यसको तालिमलाई कार्यक्रममा समावेश गर्न थालेका छन् ।

ईभीका पार्टपुर्जाहरूको उपलब्धता कति सहज छ ?

सुरुवातको भन्दा अहिले धेरै सहज भएको छ । पहिले केही अवस्थामा सर्भिसिङको पाटोमा केही चुनौतीहरू रहेकोमा अहिले हामीसँग पर्याप्त जनशक्ति र पूर्वाधार तयार भइसकेको छ । ब्याट्री र मोटरहरू हो मुख्यगरी आवश्यक पर्ने । त्यसका लागि पनि हामी तयारी अवस्थामा हुन्छौँ । असहजता नै रहने अवस्था छैन ।

ईभीको नेपालमै उत्पादन वा एसेम्बलिङको सम्भावना कत्तिको छ ?

उत्पादनका लागि त सरकारकै नीति त्यसतर्फ लक्षित हुनुपर्ला । तर, हामी यही एसेम्बलिङ गर्नसक्ने अवस्थामा चाहीँ पुगिसकेका छौँ । नेपालगन्जमा पनि हामी एसेम्बिलिङ गर्न सक्छौँ ।

त्यसो भए एसेम्बलिङले व्यापारमा कत्तिको फरक पार्छ ?

धेरै फरक पार्छ । यसले एकातिर तयारी ईभीका लागि बाहिर जाने हाम्रो लागतलाई कम गर्न सक्छ भने अर्काेतिर रोजगारीको पनि सिर्जना हुन्छ। यहाँ भएको तालिमप्राप्त जनशक्तिले पनि काम पाउँछ । नयाँ जनशक्ति उत्पादन पनि गर्न सकिन्छ ।

ईभीका ग्राहकलाई सहुलियत र सहजीकरणको सुविधा कस्तो छ ?

अहिले सबैजसो बंैकहरूले ईभीका लागि फाइनान्सिको सुविधा दिन्छन् । सरकारले पनि ईभीको खरिदमा पनि विभिन्न मोडेल र साइजअनुसार अनुदान दिँदै आएको छ । जुन राम्रै रकममा प्राप्त हुन्छ । यो सार्वजनिक यातायातमा प्रयोग हुने ईभीमा प्राप्त हुन्छ । सरकारले अहिले ईभी गाडीको प्रोत्साहन दिइरहेको छ ।

अन्तमा ईभीका ग्राहक र सम्भावित ग्राहकरुलाई केही भन्न चाहनुहुन्छ ?

ईभी खरिद गर्दा मुख्यगरी उत्पादनको सबै विशेषता बुझेर, यसको सर्भिस सुविधा र चार्जिङ सुविधाको बारेमा राम्ररी बुझेर खरिद गर्नुहोस् ।
अब गाडी खरिद गर्दा इन्जिन गाडीभन्दा ईभी नै रोज्दा उत्तम रोजाइ हुन्छ । किनकी यसले दैनिक रूपमा हुने खर्चदेखि सर्भिसिङमा हुने खर्च पनि घटाउँछ । त्यसकारण अब सवारीसाधन खरिदमा ईभी नै रोज्नुहोस् भन्न चाहन्छु ।

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख १६ गते बुधबार