२०८० सालमा बाँकेका ८ वटा साना किसान कृषि सहकारी संस्था एकीकरण भएर अष्टम साना किसान कृषि सहकारी संस्था लिमिटेड बनेको थियो । पछि थप तीनवटा सहकारी थपिएर एकीकरणमा आएका सहकारीको सङ्ख्या ११ वटा पुगिसकेको छ । यसरी सहकारीहरूबीच एकीकरण भई सफतापूर्वक उत्पादनमूलक क्रियाकलाप गरिरहेको उक्त सहकारी अभियानको वर्तमान समयको एक उदाहरणीय सहकारी हो । अष्टम सहकारीले एकीकरणको तीन वर्षमा प्राप्त गरेको उपलब्धिका विषयमा सहकारीका मुख्य प्रबन्धक हरिशचन्द्र केसीसँग गरिएको कुराकानी ।

हरिशचन्द्र केसी, मुख्य प्रबन्धक अष्टम साना किसान कृषि सहकारी संस्था लिमिटेड
तीन वर्षअघि एकै उद्देश्यमा रहेका सहकारीहरू एकीकरण गर्दा तपाईँहरू के ले निर्देशित हुनुभएको थियो ?
त्यतिबेला हामीले छलफल गरेको विषय के थियो भने सहकारीहरू सङ्ख्यात्मक रूपमौ धेरै हुने, तर गुणात्मक उपलब्धि हासिल नहुने अवस्था आउन सक्छ भन्ने थियो । त्यसको सट्टामा हामीले सहकारीहरूबीच एकीकरण गयौँ भने त्यसले गुणात्मक रुपले सहकारी अभियान अघि बढाउन सकिन्छ, सञ्जाल पनि ठूलो हुन्छ, सङ्ख्या पनि ठूलो हुन्छ र पूँजी पनि ठूलो हुन्छ र त्यो पूँजीलाई उत्पादनमूलक क्षेत्रमा लगाएर उदाहरणीय काम गर्न सकिन्छ भन्ने हामी सबैलाई महसुस भएपछि एकीकरणमा गएका थियौँ ।
एकीकरण कत्तिको चुनौतिपूर्ण थियो ?
हामीले खासगरी बाँके जिल्लाका सबै साना सिकान सहकारीहरू एउटै बनाउने सोच अघि सारेका थियौँ । त्यतिबेला जिल्लामा १५ वटा साना किसान सहकारी संस्थाहरू थिए । त्यसपछि हामीले सम्भव नभएपछि ८ वटा मर्जरमा आयौँ । आठ वटै सहकारीका सञ्चालक, प्रबन्धक र कर्मचारीहरू, सेयर सदस्यहरूलाई मिलाउनु वास्तवमा कठिन कुरा हो । जिल्लाभरी छरिएर रहेका आठ वटा सहकारीहरू एकीकृत गर्न चानचुने कुरो थिएन । तर हामीले सबैलाई अपनत्व हुने गरी उनीहरूलाई भूमिका प्रदान ग¥यौँ । त्यसले गर्दा संगठन पनि ठूलो भयो र उदाहरणीय काम पनि भयो । सहकारीहरू बरु टुक्रिने, कारोबार पनि बिग्रने गरेको समयमा हामी एकीकरणमा गएका थियौँ । हाम्रो उद्देश्य जिल्लाको साना किसान सहकारीको पहुँच नपुगेको ठाउँमा पनि पहुँच विस्तार गर्ने थियो । अहिले बाँकेका सबै स्थानीय तहमा हाम्रो सेवा पुगिसकेको छ । केही वडाहरू बाँकी छन् । त्यहाँ पनि हामी शाखा विस्तारको तयारीमा छौँ ।
तीन वर्ष पुग्दा यहाँहरूको सोचेको परिणाम प्राप्त भइरहेको छ ?
एकदमै । हामीले सुरुमा ८ वटा मर्जर गरेपछि थप तीनवटा पनि मर्जर गरेर एकीकरण भएका सहकारीको सङ्ख्या ११ पुगिसकेको छ । अहिले १४ वटा शाखा कार्यालय र एउटा मुख्य कार्यालय रहेको छ । एउटा डेरि उद्योग, एउटा दाना उद्योग र एउटा राइस मिल पनि स्थापना भइसकेको छ । हामीले जुन उद्देश्यका साथ यो मर्जरको कार्यक्रममा ग¥यौँ । त्यो प्राप्त भएको यसैले पनि पुष्टि गर्छ । एउटै मिलका लागि कम्तीमा ८–१० करोड लगानी चाहिन्छ । त्यो एकीकरण नभएको भए सम्भव थिएन । यसबीचमा हामीलाई सबै क्षेत्रबाट सहयोग प्राप्त भयो । सञ्चार क्षेत्रले पनि हामीलाई सकारात्मक रूपमौ जनतामाझ पु¥यायो । सरकारले पनि हाम्रो कामलाई सघायो । हामीले सबैबाट सहयोग र हौसला पाएपछि यो सफलता पायौँ ।हामीले अहिले सबै १४ वटै शाखाबाट बचत गर्न पाउने, ऋण निकाल्न पाउने सुविधा पनि दिइरहेका छौँ । अन्य कार्यक्रमहरू पनि वार्षिक योजना नै बनाएर गर्छाैँ । ठूलो पूँजी भएपछि हामीले सदस्यहरूलाई उद्यमशिलतामा जोड्न र प्रवद्र्धन गर्न सकेका छौँ । पूँजीको अभाव छैन । एक ठाउँमा नभए अर्काे ठाउँबाट त्यसको व्यवस्था भइरहेको हुन्छ ।शून्यबाट सुरु गरेका शाखाहरूले पनि करोडको कारोबारमा पु¥याइसकेका छौँ । दुई वर्षअघि सुरु भएका नयाँ शाखाहरूले पनि पाँच सात करोडको कारोबार गर्ने भइसकेका छन् । हामीले स्वीकृति पाएसम्म थप शाखा विस्तार गर्ने सोचमा छौँ ।
सहकारीको आर्थिक आकार कस्तो छ ?
अहिले हामीसँग १७ हजार तीन सय सेयर सदस्य छन् । २७ करोड सेयर पूँजी छ । २३ करोडजति हाम्रो जगेडा कोष छ । जुन एकदमै संकटका बेला काम लाग्ने हुँदा संस्था बलियो छ । गत वर्ष लगभग ७ करोड ५४ लाख नाफा भएको हो । सदस्यहरूलाई १२ प्रतिशत लाभांश पनि बाँड्यौँ । अहिले पूरा ब्यालेन्स सिट साढे तीन अर्बको छ । २ सय ४६ करोड ऋण लगानी गरेका छौँ । ४४ करोड हामीले ऋण पनि लिएका छौँ । हाम्रो आन्तरिक स्रोत पनि बलियो छ । कर्मचारी सङ्ख्या पनि अहिले ७१ जना पुगिसकेका छन् । हाम्रा जुझारु र काममा इमानदार कर्मचारीहरू छन्। हाम्रो सञ्चालक समिति र लेखा समितिमा रहने साथीहरू पनि इमानदार हुनुहुन्छ । प्रशासन पनि व्यवस्थित छ ।
सहकारीका सदस्यको आर्थिक विकासलाई यहाँहरूले कसरी सघाउ पु¥याइरहनुभएको छ ?
कृषि उद्यममा रहेका कृषकहरूलाई हामीले सहुलियतमा ऋण सुविधा दिएका छौँ । हामीले बैंकको ब्याजदर १७–१८ हुँदा पनि सदस्यहरूलाई जम्मा ७ प्रतिशतमा कृषि र पशुपालन ऋण दिन्छौँ । सदस्यहरूलाई लामो समयावधिको किस्ता राखेर ऋण लगानी गर्छाैँ । ब्याज बु्झाउने इमानदार सदस्यहरूको आर्थिक उन्नति राम्रो भएको छ । शमशेरगन्जको शाखामा दूध डेरी छ । त्यहाँबाट ३४–३५ लाख त मासिक रूपमौ सदस्यहरूले पैसा बुझिरहनुभएको छ । यो वर्ष पनि हामीले एक करोड २५ लाखको बजेट सेयर सदस्यहरूलाई लक्षित गरेर विभिन्न कार्यक्रमहरू ग¥यौँ । उनीहरूलाई सिँचाइका मोटर, कृषि औजार, घाँस काट्ने मेसिनहरू, भकारो सुधारका कार्यक्रम, वित्तीय साक्षरता र व्यावसायिक सीपका तालिमहरू दिएका छौँ । विद्यालयमा सहकारी जस्ता विभिन्न सहकारीहरू पनि गरेका छौँ । समुदायप्रतिको उत्तरदायित्व वहन गर्नुपर्छ भनेर पनि हामीले विभिन्न कार्यक्रमहरू गरेका छौँ । मकै र धानको बीउमा ५० प्रतिशत अनुदान दिएका छौँ । ७ सय ३५ क्विन्टल मकैको बीउ बाँडेका छौँ । अहिले उत्पादन भइरहेको मकै खरिद पनि हामी आफैँले गर्छाैँ । गत वर्ष पनि हजार बाह्र सय क्विन्टल मकै खरिद गरेर त्यसबाट दाना बनाएर बेचेका थियौँ । धान पनि हाम्रो आफ्नै राइस भएको हुँदा प्रत्येक वर्ष धान खरिदका लागि मिलमै काँटा स्थापना गर्छाैँ । यस वर्ष पनि स्थानीय जातको धानको बीउ पनि अनुदानमा दिने कार्यक्रम छ ।
यस्तो खालको सफलता कसरी प्राप्त हुने रहेछ ? तपाईँहरूको अनुभव के हो ?
सहकारीहरू समस्यामा पर्ने भनेको उद्देश्यमा केन्द्रित नभएर हो । खाली बचत तथा ऋण दिने तर उत्पादनमुखी कार्यक्रममा ध्यान नदिने हो भने जुनसुकै सहकारी पनि समस्यामा पर्छ । सहकारीको काम आफ्ना सेयर सदस्यहरूको आर्थिक विकासमा टेवा पु¥याउने काम गर्ने हो ।
तर यहाँ त आएको मुनाफा र बचतकर्ताको बचतबाट ठूला घर बनाउने, कार्यालयहरू झकिझकाउ बनाउने र अनुत्पादक क्षेत्रमा लगानी गरेर सञ्चालकहरू मेटाउने अवस्था देखियो । त्यही भएरै सहकारीप्रति मानिसहरूको नकारात्मक धारण बनेको हो । हामी सुरुदेखि नै अनुत्पादनक लगानी र विलासिताबाट सहकारीलाई जोगाउँदै आएका छौँ । हामीले समुदायमा पनि सहकारीप्रति सकारात्मक धारणा विकास गर्नका लागि रक्तदान, सरसफाइ अभियान लगायतका कार्यक्रमहरू गर्दै आएका छौँ । हिजो र अस्ति मात्रै रक्तदान कार्यक्रमबाट हामीले २ सय १६ पोइन्ट रगत संकलन भएको छ । बीचमा सदस्यहरूलाई रगत अभाव हुँदा रेडक्रसमा उपलब्ध नहुँदा सदस्यहरूले द्ुःख पाउने अवस्था हुँद हामीले त्यसलाई पनि मध्यनजर राखेर काम गरेका छौँ ।
आगामी उल्लेखनीय योजना केही छन् ?
बचत संकलन र लगानी हाम्रा नियमित कामहरू भए । यसबाहेक हामीले स्वास्थ्य शिविर राख्ने योजना बनाएका छौँ । यस वर्ष ३० बिघाजति जग्गा भाडामा लिएर बीउ उत्पादनको योजनामा छौँ । त्यसका लागि जग्गा बैना पनि गरिसकेका छौँ । नयाँ मूल बीउ उत्पादन गरेर किसानलाई दिने र पछि उत्पादन खरिद गर्ने योजना पनि छ । अब लगत्तै वर्षेबालीबाट सुरु गरेर अनुदानहरूमा सहजीकरण गर्ने र उपलब्ध गराउने योजनामा छौँ ।
राज्यको सहकारीसम्बन्धी नीति र हुनुपर्ने कुरामा केही भन्नु छ ?
सहकारीलाई एउटै घानमा हालेर हुँदैन । राम्रा सहकारीलाई प्रवद्र्धन गर्नुपर्ने आवश्यकता छ भने गल्ती गर्ने सहकारीका सञ्चालकहरूलाई कारबाहीको दायरामा ल्याउनैपर्छ । सहकारीहरू समस्यामा छन् भने मर्जरमा लैजानैपर्छ । हुन त अहिले नयाँ सहकारी दर्ताको काम रोकिएको छ । टुक्रा टुक्रा भएर सहकारी पनि जाग्दैनन्, सदस्यहरूको उत्थान पनि हुँदैन । त्यसकारण सहकारीहरू एकीकरणमा लैजान सरकारले बाध्यकारी नीति बनाएर कार्यान्वयनमा जानुपर्छ भन्ने मेरो बुझाइ छ । सहकारीले अहिले पनि सरकार र निजी क्षेत्रले गर्न नसकेको रोजगारी सिर्जना, वित्तीय कारोबार र उत्पादनमा उल्लेखनीय काम गरेको छ । सरकारले अहिले सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने योजना त बनाएको छ । तर अब फोर्स मर्जरम नगएमा झनै विकराल अवस्था आउने देख्छु ।
अन्तमा, तेस्रो एकीकरण दिवसका अन्दर्भमा के भन्न चाहनुहुन्छ ?
यो हाम्रा लागि एकदमै उत्सवको अवसर हो । हामीले यस अवसरमा स्वास्थ्य शिविर, रक्तदान र सरसफाइ कार्यक्रम लगायतका क्रियाकलाप साप्ताहिक कार्यक्रम बनाएरै सम्पन्न गरेका छौँ । एकीकरण दिवसका अवसरमा सहकारीका कर्मचारी र सहयोग गर्ने सबैलाई सम्मान तथा प्रशंसापत्र दिने, सहकारीको अवस्था र आगामी कार्यक्रमबारे जानकारी गराउँछौँ । उत्कृष्ट शाखा र कर्मचारीलाई प्रोत्साहन गर्छाैँ । राम्रो कारोबार गर्ने शाखालाई मोटरसाइकल प्रदान गर्छाैँ । र साँझ मुख्य कार्यालयमा दीप प्रज्वलन गर्नेछौँ । यस अवसरमा म सहकारीका सबै अभियानकर्मी, योगदानकर्ता, कर्मचारी, सेयर सदस्य, बचतकर्ता, ऋणी र सहयोगी सबै सरकारी गैरसरकारी संस्था तथा व्यक्तिहरूप्रति आभार प्रकट गर्दछौँ ।









प्रतिक्रिया दिनुहोस्