कोहलपुर (बाँके) ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बाँकेका तीनमध्ये दुई क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले जित्यो । बाँके १ मा सुरेशकुमार चौधरी र बाँके ३ मा खगेन्द्र सुनारले सानदार जित हासिल गरे । रास्वपाका चौधरी ३२ हजार ७९२ मतसहित निर्वाचित भएका छन् । बाँके ३ मा सुनारले २९ हजार ५५१ मत प्राप्त गरेका हुन् ।
आफ्ना प्रतिद्वन्द्वीलाई फराकिलो मतान्तरले हराएका चौधरी र सुनार अहिले मतदाताहरुलाई भेटिरहेका छन् । विजयी भएपछि उनीहरुले मतदातालाई धन्यवाद दिन ‘मतदातालाई धन्यवाद अभियान’मा व्यस्त छन् । बाँके ३ बाट निर्वाचित सुनार निर्वाचन अधिकृतको कार्यालय पुगेर प्रमाणपत्र बुझेलगत्तै जेनजी सहिदको घरमा पुगेर आशीर्वाद लिएका थिए ।
केही दिनयता उनी बाँके ३ अन्तर्गतका पालिकाहरुमा पुगेर मतदाताहरुलाई धन्यवाद व्यक्त गरिरहेका छन् । सुनारले अहिलेसम्म खजुरा र जानकी गाउँपालिकाका विभिन्न गाउँमा पुगिसकेका छन् । खजुरा र जानकी गाउँपालिका सकाएर बैजनाथ गाउँपालिकामा मतदाताहरुलाई धन्यवाद दिने उनले बताएका छन् ।
निर्वाचनलगत्तै सुनार गाउँगाउँमा पुगेर मतदातालाई धन्यवाद दिँदै आगामी दिनमा जनताको अपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरिरहेका छन् । उनले भने ‘बाँके ३ लाई समृद्ध र विकसित बनाउनु छ । तपाईँहरूले ममाथि गरेको विश्वास ढल्न दिने छैन । म सधैँ तपाईँहरूसँगै, तपाईँहरूको सुख–दुःखमा साथ दिनेछु ।’
बाँके ३ का मतदाताहरुले गरेको विश्वास र मतको विश्वास कायम गर्ने र मतदाताहरुको शिर झुक्ने काम नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।यस्तै बाँके १ का सुरेशकुमार चौधरीले पनि मतदाताहरुलाई भेटेरै धन्यवाद व्यक्त गरिरहेका छन् । उनी पार्टीका नेता कार्यकर्तासहित केही दिनयता निर्वाचन क्षेत्रका विभिन्न क्षेत्रमा पुगिरहेका छन् ।
रास्वपा कोहलपुरका सभापति राजेन्द्र श्रेष्ठका अनुसार प्रतिनिधिसभा सदस्य चौधरीसहित विभिन्न स्थानमा पुगिसकेका छन् । उनले भने, ‘हामी घरदैलो गरिरहेका छौँ । मतदाताहरुलाई धन्यवाद व्यक्त गरिरहेका छौँ । केही दिन यो अभियान चल्छ । हामी निर्वाचन क्षेत्रका सम्पूर्णमा क्षेत्रमा पुग्छौँ ।’








प्रतिक्रिया दिनुहोस्