सम्पादकीयः हुलाकको नयाँ भूमिका



एक समय थियो, हुलाक कार्यालय भन्नासाथ चिठीपत्र आदानप्रदान गर्ने सरकारी संयन्त्रको रूपमा मात्र बुझिन्थ्यो । सूचना–प्रविधिको तीव्र विकाससँगै परम्परागत चिठीपत्रको प्रयोग घट्दै गएपछि हुलाक सेवाको सान्दर्भिकतामाथि नै प्रश्न उठ्न थालेका थिए । तर पछिल्लो समय देशभरका हुलाक कार्यालयहरूले राहदानीलगायत विभिन्न सरकारी कागजात तथा सेवा–वस्तु नागरिकका घरदैलोमै पु¥याउने कार्य सुरु गरेसँगै हुलाक सेवा पुनः नयाँ भूमिकामा स्थापित हुने संकेत देखिएको छ । यो परिवर्तन केवल सेवाको विस्तार मात्र नभएर नागरिकलाई सहज, छरितो र प्रभावकारी सेवा प्रदान गर्ने राज्यको प्रयास पनि हो । नेपालमा सरकारी सेवा प्राप्त गर्न नागरिकले लामो दूरी तय गर्नुपर्ने, कार्यालय धाउनुपर्ने तथा अनावश्यक समय र खर्च बेहोर्नुपर्ने समस्या पुरानै हो । विशेषगरी राहदानीजस्ता संवेदनशील कागजात प्राप्त गर्न जिल्ला सदरमुकाम वा राजधानीसम्म पुग्नुपर्ने बाध्यता धेरै नागरिकका लागि कठिनाइको विषय बन्दै आएको थियो । अब हुलाकमार्फत राहदानी घरमै पुग्ने व्यवस्था सुरु भएपछि नागरिकले समय, श्रम र आर्थिक खर्च बचत गर्न सक्ने भएका छन् । यो सेवा विशेष गरी दुर्गम क्षेत्रका बासिन्दा तथा व्यस्त पेशागत जीवन बिताइरहेका नागरिकका लागि अत्यन्त उपयोगी बन्न सक्छ ।

विश्वका धेरै मुलुकहरूमा हुलाक सेवा केवल पत्र वितरणमा सीमित छैन । बैंकिङ, बीमा, सरकारी कागजात वितरण, विद्युतीय कारोबार तथा अन्य सार्वजनिक सेवाको माध्यमका रूपमा हुलाक संस्थालाई प्रयोग गरिन्छ । नेपालमा पनि हुलाक सेवालाई आधुनिक आवश्यकताअनुसार रूपान्तरण गर्ने प्रयास सकारात्मक छ । यसले सरकारी संरचनालाई थप नागरिकमैत्री बनाउने मात्र होइन, लामो समयदेखि कमजोर बन्दै गएको हुलाक सेवाको पुनर्जीवनमा समेत योगदान पु¥याउने अपेक्षा गर्न सकिन्छ । यद्यपि सेवा सुरु गर्नु मात्र पर्याप्त हुँदैन, यसको प्रभावकारी कार्यान्वयन अझ महत्वपूर्ण पक्ष हो । राहदानीजस्ता महत्वपूर्ण कागजातको सुरक्षित ढुवानी, समयमै वितरण र गोपनीयताको सुनिश्चितता अनिवार्य सर्त हुन् । कुनै पनि त्रुटि वा लापरबाहीले नागरिकको विश्वासमा आँच पु¥याउन सक्छ । त्यसैले हुलाक प्रशासनले कर्मचारीको क्षमता अभिवृद्धि, प्रविधिको प्रयोग, अनुगमन प्रणाली तथा जवाफदेहितालाई सुदृढ बनाउन आवश्यक छ । सेवाको विश्वसनीयता नै यसको सफलताको आधार बन्नेछ । अर्कोतर्फ, यो अवसरलाई हुलाक सेवालाई थप आधुनिकीकरण गर्ने दिशामा पनि प्रयोग गर्नुपर्छ । राहदानी वितरणसँगै राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र, शैक्षिक प्रमाणपत्र तथा अन्य सरकारी कागजातहरूको वितरणमा पनि हुलाक सेवाको उपयोग गर्न सकिन्छ ।

यसले सरकारी कार्यालयहरूमा हुने भिड कम गर्ने, सेवाग्राहीको झन्झट घटाउने र प्रशासनिक कार्यलाई थप व्यवस्थित बनाउनेछ । डिजिटल प्रविधिसँग हुलाक सेवालाई जोड्न सकियो भने यसको प्रभावकारिता अझ बढ्न सक्छ । नेपालमा सुशासन र सेवा प्रवाह सुधारको बहस लामो समयदेखि हुँदै आएको छ । नागरिकले राज्यको अनुभूति गर्ने मुख्य आधार भनेकै सार्वजनिक सेवा हो । जब राज्यका सेवा नागरिकको घरदैलोमा पुग्छन्, तब नागरिक र राज्यबीचको सम्बन्ध अझ विश्वासिलो र बलियो बन्छ । त्यसैले हुलाकमार्फत घरमै सेवा पु¥याउने अवधारणालाई सामान्य कार्यक्रमका रूपमा नभई सार्वजनिक सेवा सुधारको महत्वपूर्ण अभियानका रूपमा लिन आवश्यक छ । समग्रमा, राहदानीलगायतका सेवा–वस्तु घरमै पु¥याउने हुलाक कार्यालयहरूको नयाँ पहल स्वागतयोग्य छ । यसले नागरिकलाई सुविधा दिनुका साथै हुलाक संस्थाको उपयोगिता र अस्तित्वलाई पनि नयाँ ऊर्जा प्रदान गरेको छ । अब आवश्यक कुरा भनेको सेवाको गुणस्तर, सुरक्षा र विश्वसनीयता कायम राख्दै यसको दायरा विस्तार गर्नु हो । यदि यो अभियान सफलतापूर्वक अगाडि बढ्न सक्यो भने हुलाक सेवा पुनः एकपटक नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिने प्रभावकारी सार्वजनिक संस्थाका रूपमा स्थापित हुन सक्छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ ३१ गते आइतबार