चालू आर्थिक वर्ष २०८२–०८३ आर्थिक सर्वेक्षण रिपोर्टअनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा वैदेशिक रोजगार म्यादी जीवन बीमासहित नेपालको कूल जनसङ्ख्याको ४९.९ प्रतिशत हिस्सामा जीवन बीमाको पहुँच पुगेको छ । गत असार मसान्तसम्म यस्तो पहुँच ४८.३ प्रतिशतमात्र रहेको थियो ।
काठमाडौँ।
देशभर बीमा कम्पनीहरूको शाखा विस्तारसँगै बीमा व्यवसाय र यसको पहुँचमा सुधार देखिएको छ । चालू आर्थिक वर्ष २०८२–०८३ आर्थिक सर्वेक्षण रिपोर्टअनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा वैदेशिक रोजगार म्यादी जीवन बीमासहित नेपालको कूल जनसङ्ख्याको ४९.९ प्रतिशत हिस्सामा जीवन बीमाको पहुँच पुगेको छ । गत असार मसान्तसम्म यस्तो पहुँच ४८.३ प्रतिशतमात्र रहेको थियो ।
यो अवधिमा बीमा कम्पनीहरूको शाखा सङ्ख्या झन्डै ३ हजार पुगेको छ । २०८२ फागुनसम्म जीवन बीमाका १ हजार ७ सय ७४, निर्जीवन बीमाका १ हजार १६ र लघुबीमाका २ सय ९ गरी कूल शाखा सङ्ख्या २ हजार ९ सय ९९ पुगेको छ । गत वर्षको सोही अवधिमा यो सङ्ख्या २ हजार ९ सय ९२ रहेको थियो । त्यसैगरी कूल बीमा शुल्क संकलनमा १६.१ प्रतिशतको वृद्धि भएको छ ।
चालू आर्थिक वर्षको फागुनसम्ममा १ खर्ब ६० अर्ब २१ करोड ७० लाख रूपैयाँँ बीमा शुल्क संकलन भएको छ । यसमध्ये जीवन बीमा शुल्क १ खर्ब २७ अर्ब ६९ करोड ८० लाख रूपैयाँँ र निर्जीवन बीमा शुल्क ३२ अर्ब ५२ करोड ८० लाख रूपैयाँँ रहेको छ । हाल जीवन बीमातर्फ १ करोड ६२ लाख ५९ हजार ८ सय ३२ र निर्जीवन बीमातर्फ २१ लाख ६८ हजार ४५ वटा बीमालेख सक्रिय रहेका छन् ।
चालू आर्थिक वर्षको फागुनसम्ममा जीवन र निर्जीवन दुवै क्षेत्रबाट गरी कूल ४४ अर्ब १५ करोड रूपैयाँँ बराबरको दाबी भुक्तानी भएको छ । जीवन बीमातर्फ १ लाख २५ हजार ८ सय ३० वटा बीमा दाबीबापत २६ अर्ब ४४ करोड रूपैयाँँ भुक्तानी भएको छ भने निर्जीवन बीमातर्फ ९४ हजार २ सय १५ वटा बीमा दाबीबापत १७ अर्ब ३१ करोड भुक्तानी भएको छ ।
हाल नेपालमा कूल ३७ वटा बीमा कम्पनीहरू सञ्चालनमा रहेका छन् । स्वामित्व संरचनाका आधारमा नेपाली लगानी भएका कम्पनीहरूको हिस्सा सबैभन्दा बढी रहेको छ । फागुनसम्म जीवन र लघु जीवन बीमातर्फ मात्रै १२ हजार ४ सय ३० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । यस्तै गत वर्षको फागुनसम्मको तथ्यांकअनुसार करिब ४ लाख १२ हजार ४ सय ५२ जना अभिकर्ताहरू अप्रत्यक्ष रोजगारीमा आबद्ध छन् ।
बीमा कम्पनीहरूले गर्ने कूल लगानीमा पनि वृद्धि भएको छ । २०८२ पुस मसान्तसम्मको तथ्यांकअनुसार बीमकहरूले कूल ९ खर्ब ६ अर्ब २ करोड रूपैयाँँ लगानी गरेका छन् । जसमध्ये जीवन बीमा कम्पनीहरूको लगानी ८ खर्ब २५ अर्ब ५९ करोड र निर्जीवन बीमा कम्पनीहरूको लगानी ८० अर्ब ४२ करोड रूपैयाँँ रहेको छ ।









प्रतिक्रिया दिनुहोस्