सांसदमा निर्वाचित ‘सिटिजन लिडर्स’लाई सम्मान



काठमाडौँ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिनिधिसभा निर्वाचन–२०८२ मा निर्वाचित भएका आफ्ना ‘सिटिजन लिडर्स’लाई सम्मान गरेको छ । कम्पनीले सांसदमा निर्वाचित सिटिजन लिडर्सलाई बधाई तथा शुभकामनासहित सम्मान गरेको हो । कम्पनीको थापाथलीस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो ।

कार्यक्रममा सिटिजन लाइफसँग आबद्ध रही प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद भक्तपुर क्षेत्र नं. १ बाट प्रत्यक्ष निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका रुकेश रञ्जित र समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीकी प्रमिला कुलुजुलाई सम्मान गरिएको हो । कार्यक्रममा करिब ६० जना अभिकर्ता, शाखा कर्मचारी तथा कम्पनीका उच्च व्यवस्थापन टोलीको उपस्थिति थियो ।

सहभागीहरूले सांसदहरूलाई खादा, पुष्पगुच्छा तथा सम्मानपत्र प्रदान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमलाई सम्बोधन सांसद प्रमिला कुलुजुले सिटिजन लाइफसँगको आफ्नो यात्राले व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा सशक्त टिम निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको बताइन् ।

उनले यही अनुभव र सिकाइले आफूलाई आजको उपलब्धिसम्म पुग्न मार्गदर्शन गरेको उल्लेख गर्दै कम्पनी परिवारप्रति आभार व्यक्त गरिन् ।
त्यसैगरी सांसद रुकेश रञ्जितले सिटिजन लाइफ परिवारप्रति धन्यवाद व्यक्त गर्दै बीमा क्षेत्रमा देखिएका वर्तमान चुनौती, कर प्रणालीलगायतका विषयलाई संसद्मा प्राथमिकताका साथ उठाउने प्रतिबद्धता व्यक्त गरे ।

उनले बीमा क्षेत्रको सुदृढीकरण तथा जनविश्वास अभिवृद्धिका लागि आवश्यक पहल गर्ने धारणा राखे । साथै सिटिजनमा रहेका विज्ञसँग निरन्तर सहकार्य गर्दै जनताको आवाज संसद्मा उठाउने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा कम्पनीका प्रमुख बजार व्यवस्थापन अधिकृत भूषण रिमालले आफ्ना अभिकर्ता नीति निर्माता तहसम्म पुग्न सफल भएकोमा गर्व व्यक्त गर्दै यसले कम्पनीको सशक्त मानव संसाधन तथा नेतृत्व विकासको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको बताए ।

त्यसैगरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले नवनिर्वाचित सांसदहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै उनीहरूको योगदानले समग्र बीमा क्षेत्रको विकास तथा सकारात्मक नीतिगत सुधारमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । ‘हामीले अभिकर्तालाई सुरुदेखि नै ‘सिटिजन लिडर्स’ भनेर सम्बोधन गर्दै आएका थियौँ, आज उहाँहरू माननीय बन्नुहुँदा ‘लिडर’ शब्दले वास्तविक अर्थमा न्याय पाएको महसुस भएको छ,’ उनले भने ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताको क्षमता अभिवृद्धि, नेतृत्व विकास तथा सामाजिक योगदानलाई सधैँ प्राथमिकतामा राख्दै आएको छ । कम्पनीले यस्ता उपलब्धिले समग्र बीमा क्षेत्रको विकास र विस्तारमा सहयोग पुग्नुका साथै भावी पुस्तालाई यस क्षेत्रमा रहेका असीमित सम्भावना पहिचान गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख ११ गते शुक्रबार