रोयल इनफिल्डको ‘गोवन क्लासिक ३५०’ सार्वजनिक



काठमाडौँ।

रोयल इनफिल्डले नेपालमा ‘२०२६ एडिसन गोवन क्लासिक ३५०’ सार्वजनिक गरेको छ । बोबर–प्रेरित डिजाइनमा आएको यो मोटरसाइकल स्वतन्त्र र मुक्त जीवनशैलीलाई प्रतिनिधित्व गर्ने शैलीसँगै राइडर–केन्द्रित नयाँ सुविधासहित बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।

नयाँ मोडलमा ३४९ सिसी एयर–अइल कूल्ड सिंगल–सिलिन्डर इन्जिन जडान गरिएको छ, जसले ६,१०० आरपिएममा २०.२ बीएचपी शक्ति र ४,००० आरपिएममा २७ एनएम टर्क उत्पादन गर्छ । कम्पनीका अनुसार यो इन्जिनलाई बोबर शैलीअनुरूप स्मूथ र आरामदायी राइडिङ अनुभव दिन विशेष रूपमा ट्युन गरिएको छ ।

यसको ५–स्पिड गियरबक्सले सहरको भीडभाडदेखि खुला राजमार्गसम्म सहज गियर परिवर्तन र आरामदायी यात्राको अनुभव सुनिश्चित गर्छ ।
मोटरसाइकलमा नयाँ असिस्ट–एन्ड–स्लिपर क्लच, अपग्रेड गरिएको युएसबी टाइप–सी चार्जिङ पोर्ट तथा डाउनशिफ्टमा राम्रो नियन्त्रण दिने प्रणाली समावेश गरिएको छ । यसले राइडरलाई थप सहज, सुरक्षित र आरामदायी अनुभव दिने कम्पनीको दाबी छ ।

डिजाइनतर्फ यसले आफ्नो पहिचान बनेको सिंगल–सिट बोबर शैली कायम राखेको छ । फ्लोटिङ राइडर सिट, ह्वाइटवाल एज–टाइप एल्युमिनियम ट्युबलेस स्पोक ह्विल, चोपर–स्टाइल फेन्डर, स्ल्यास–कट एग्जस्ट र मिड–एप ह्यान्डलबारले यसलाई आकर्षक कस्टम संस्कृतिको झल्को दिने प्रिमियम रूप प्रदान गरेका छन् ।

लन्चका अवसरमा अल्फा अटोमोटिभ प्रालिका निर्देशक मेघराज पौडेलले नेपालका राइडरहरू माझ यो मोडलले विशेष आकर्षण पाउने विश्वास व्यक्त गरे । उनका अनुसार गोवन क्लासिक ३५० ले स्वतन्त्र जीवनशैली रुचाउने राइडरहरूका लागि ब्रान्डको लाइनअपमा फरक पहिचान बनाउने छ ।

यो मोडल नेपालभरका आधिकारिक रोयल इनफिल्डका प्रदर्शनी कक्षहरूमा उपलब्ध हुनेछ । श्याक ब्ल्याक र पर्पल हेजको मूल्य ५ लाख ९८ हजार रूपैयाँ र ट्रिप टिल र रेव रेडको ६ लाख २ हजार रूपैयाँ तोकिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख ४ गते शुक्रबार